चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो



डा. गोविन्दशरण उपाध्याय ।
चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित पनि छ । वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ । आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् । यो सत्य होइन । असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् । उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रित छ ।

भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् । त्यो प्रभावले गर्दा हिन्दू संस्कृति समेत लांछित भएको छ । धर्म शब्दले “मूसाई“को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू संस्कृतिले बोक्नु परेको छ । उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ ।

केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो “सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे“ भन्ने रहेको छ । केही प्रगतिशील चिन्तनहरूले “चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक“ हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई “बैज्ञानिक चिन्तनको आधारशीला“ भनेर प्रसंशा गरेका छन् । सबैको आआफनो बुझाई हो । तर तथाकथित चार्वाक पक्षधरहरूले “प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे“ भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् ।

कमसल चिन्तन र व्यबहारको आलोचना गर्नु गलत होइन । यदि चार्वाकहरूले अन्धविश्वास, अनैतिक रितिरिवाज र अनुचित व्यवहारको खुलेर आलोचना गरेका छन् भने चित्त दुखाउने कुनै कारण देख्दिन । चार्वाकीय चिन्तन पनि वैदिक सभ्यताको एउटा बलियो अंश हो जसले विपरित चिन्तनहरूलाई प्रतिनिधित्व गर्छ भने वैदिक हिन्दू समाजको प्राकृतिक समानुपातिकता र सहिष्णुतालाई प्रदर्शित गर्छ । मैले आजसम्म वैदिकहरूले भिन्न विचार भएकै कारण कसैको हत्या गरे“ भन्ने इतिहास पढेको छैन ।

सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् । प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् । त्यसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ । जसले शरीरको माया गर्छ ( भौतिकवादबाट निरस्त रहन सक्दैन । आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू “धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो“ भनेर घोषणा गरेकै छन् ।

सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ । यस्तो आलोचना मूलतः चार्वाकका “नैतिक चिन्तन“का कारण भएको हो । समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन “आह्वान“ गरेको हुँदा तिनको आलोचना भएको हो । सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो । समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् ।

मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन । मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ । मलाई “नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् । प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले यस्तो कुनै उल्लेख छैन । पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा “चार्वाक“हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो । मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ ।

अव मुद्दामा फर्कौं । ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन । चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन त्यसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ । वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन । यो तथ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए ।

यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो । प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई यस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो । दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई “मुनि“ शब्दको प्रयोग गरिएको छ  मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो । बौद्ध र जैन साहित्यहरूमा पनि “चार्वाक“का लागि मुनि शब्द नै प्रयोग गरिएको छ । त्यतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत “मुनि“ शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् ।

केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको “तत्वविप्लवसिंह“ भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ । यो ग्रन्थ “दार्शनिक तत्व“हरुको समालोचनामा केन्द्रित भएको पढ्न सकिन्छ । यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ । यसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन । “बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ“ भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ । यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ  । आध्यात्मिक विचारसँग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो । म फेरि दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूका आलोचना भएको छ । भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन ।

चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई “भौतिक रूपमा“ बुझेका थिए । शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो । प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए । यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् । राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ । राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न । राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए ।

प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमाक्र्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अथ्र्याएका छन् । नेपाली वामपन्थीहरूले कार्लमाक्र्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् । यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन्

(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन्

(२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् । यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् । वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो । चर्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ । तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् । पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् ।

आफूलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो । मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् । सनातन संस्कृतिमा यस्ता धेरै उदाहरण छन् । प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् । यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू-जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ ।

सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक भौतिकवादी चिन्तन सृजित गरेका हुन् । यी बीच बैचारिक द्वन्द्व भए पनि आचरणका सवालमा कुनै द्वन्द्व थिएन भन्ने मेरो विश्वास छ । त्यसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो त्यसैले उनीहरूले “मुनि ऋषि“ पद प्राप्त गरेका थिए । उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन । आजको भौतिकवादी चिन्तनसँग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न

थप २,८५६ जनामा कोरोना संक्रमण,३,३३६ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएको

विदेशमा रहेका ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान

विश्वमाा तीन करोड १६ लाख कोरोना संक्रमणमुक्त,१ करोड बढी सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या