चिकित्सकसहित बारा र पर्साका थप ४९ जनामा कोरोना संक्रमण
वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार राति आएको रिपोर्टमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिकाका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।
पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् ।