थप २७४ जनामा कोरोना संक्रमण, २२७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा बिहीबार थप दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौं उपत्यकाका ४५ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा संक्रमण देखिएको हो ।
बिहीबार २२७ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १४ हजार दुई सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज ५ का ६८ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । वीरगञ्ज–७ कै ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ त्यस्तै मोरङका ४५ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
नेपालमा हाल पाँच हजार दुई सय २७ जना सक्रिय सङ्क्रमित छन् भने १३ हजार दुई सय एक जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म तीन लाख ४५ हजार एक सय एक जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।