संकटका बेला फोटो बचाउने ?


विष्णु रिजाल ।

काम त जोखिमपूर्ण होला तर कुन बेला के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रख्यात साहित्यकार ध.च. गोतामेले आफ्नो कृति ‘सम्झनाका गल्छेडाहरूमा’ मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएको बेला २०३० असार ३० गते सिंहदरबारमा आगलागी हुँदाको एउटा घटना यसरी उल्लेख गर्नुभएको छ:
‘….परराष्ट्र मन्त्रालयतर्फको कुनाबाट त्यहींका एक उपसचिव प्रकट भए । उनी नांगो खुट्टा थिए र आफ्नो सुरुवालको मोहोता घुँडासम्म ल्याएका थिए । उनका दुबै हातमा राजारानीको फ्रेमजडित ठूलो तस्वीर थियो । उनले असिनपसिन भएर प्रधानमन्त्रीको नजिक आएर भने, ‘हजुर ! मैले आगोसागोको परबाह नगरेर सरकारहरूको दुबै तस्वीर बचाएर ल्याएँ ।’

प्रधानमन्त्रीले दिक्दारीको स्वरमा भन्नुभयो, ‘धन्यवाद विश्वजी ! तपाईंले राम्रो काम गर्नुभयो ।’
(‘विश्वजी’ भन्नाले सम्भवत: विश्व प्रधान हुनुपर्छ, जो पछि परराष्ट्र सचिवका साथै इजिप्ट र अमेरिकाका लागि शाही नेपाली राजदूत हुनुभयो ।)