संस्कृत भाषामा अन्तरनिहीत ध्वनि विज्ञान



महेश श्रेष्ठ ।

भाषा आयोगले संस्कृत भाषा कक्षा एकबाट अनिवार्य रूपमा पाठ्यक्रमममा समावेश गर्नुपर्ने सिफारिस गरे पश्चात मानिसहरू यसको पक्ष र विपक्षमा बहसमा उत्रिएका छन् । संस्कृत भाषालाई अनिवार्य रूपमा पढाउनुपर्छ भन्ने कुरालाई जाती विशेषले आफ्नो भाषा संस्कृति हालीमूहाली गर्नका निम्ति चालिएको कदम हो भनेर यसको राजनीतिकरण गरेको पनि देखियो । संस्कृत भाषालाई अनिवार्य गरिनुपर्छ वा पर्दैन भन्ने विषयमा यो लेखक आफ्नो राय राख्दैन तर अन्य भाषाभन्दा केही फरक संस्कृत भाषाको उपयोगिताका सन्दर्भमा चाहिं अहिलेको समयमा चर्चा गर्नु उपयुक्त हुन्छ ।

भाषाको महत्व मापन गर्ने अनेक आयाम छन् । व्याकरणको वैज्ञानिकता, भाषाप्रतिको अपनत्व, भाषा जानेका कारण पाउने अवसर, त्यस भाषामा रचिएका साहित्य इत्यादि । आज हामीले बुझेको भाषाको मुख्य महत्वको मुद्दा भनेको सम्बन्धित भाषामा मानव समुदायलाई काम लाग्ने वैज्ञानिक र जीवन उपयोगी अन्य आयामहरू कति मात्रामा संग्रहित छन् भन्ने हो । आधुनिक युगको अधिकांश खोजलाई अंग्रेजी भाषामा लेखिएका कारण अहिलेको अवस्थामा हामीले अंगे्रेजी भाषालाई पढ्नु भनेको ज्ञानको दायर बढाउनु हो । अंग्रेजी भाषाको अध्ययनमा अपनत्व नदेखेर ब्रिटेन र अमेरिकाको बिस्तारवाद मात्रै देखेर विरोध गरियो भने गुमाउने हामीले नै हो ।

भाषा जति पुरानो हो र जति धेरै मानिसले लेख्न बोल्न जानेको हुन्छ त्यो भाषामा योगदान दिनेको संख्या बढ्न गई सम्बन्धित भाषा सम्पन्न हुँदै जान्छ । संसारको सबै भन्दा पुरानो भाषा संस्कृत भाषा हो । यसको अर्थ कुनै एउटा समयमा संस्कृत बोहेक अर्को दोस्रो भाषाको अस्तित्व थिएन । अर्थात् कुनैबेला यस्तो समय थियो संसारका सबैले संस्कृत भाषा बेल्थे । यस अर्थमा संस्कृत भाषाको कुनै विशेष महत्व हुनैपर्छ ।

अहिलेको युगमा विज्ञानको दबदबा छ । समाजिक रूपमा कसरी सवल बन्ने भन्ने व्यवहारिक ज्ञानको दबदबा छ । तर आधुनिक विज्ञानको दबदबा हुनुभन्दा अगाडिको युगमा कसरी चरम आनन्दको जीवन बाँच्नसक्छ भन्ने विषयमा मानव खोजहरू केन्द्रित थिए । अर्थात् आधुनिक विज्ञानको उदयभन्दा अगाडि संसारको केन्द्र अध्यात्म थियो । जसरी अहिलेको समयमा विज्ञान र आधुनिक व्यवहारका कुरा सिक्न अंग्रेजी अपरिहार्य छ । त्यस्तै अध्यात्मलाई आत्मसात गर्ने सन्दर्भमा संस्कृत भाषाको महत्व निक्कै धेरै छ । यहाँ चर्चा गर्न लागिएको प्रसंङ्गमा अध्यात्म र संस्कृत भाषालाई जोड्ने कडी भनेको ध्वनी हो । अध्यात्मको अर्थ मनको रूपान्तरणको विज्ञान हो । तसर्थ मूल विषय प्रवेश गर्न अगाडि ध्वनीले मानिसको मनलाई कसरी प्रभाव पार्छ भन्ने विषय चर्चा गर्नु जरूरी छ ।

मनमा ध्वनिले सजिलै प्रभाव पार्छ

थुप्रै अध्ययनहरूमा नियमित संगीतको धुन बजाएको स्थानमा बोट बिरुवा छिटो बढ्ने, बोटबिरुवामा छिटो र धेरै फुल र फल फल्ने, गाईवस्तुले धेरै दुध दिने, सुत्केरी महिलाको दुध आउने जस्ता प्रभावहरू देखिएका छन् । ध्वनिले मानिसमा पार्ने असरका सम्बन्धमा कुरा गर्दा चर्को र कर्कस ध्वनि वा वैराग्य खालका संगीतले मानिसको शरीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गरेको पाइएको छ । अनि सुमधुर संगीत वा तालबद्ध भएका ध्वनि र प्रकृतिक आवाजहरू, जस्तै चराको चिरबिर, खोला बगेको, रूख हल्लेको आवाजले मानिसमा विभिन्न खालका शरीरिक, मनोवैज्ञानिक, भावनात्मक, मानसिक र व्यवहार लगायतका कुरामा सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनहरूले देखाएका छन् । त्यसैले आज संगीतलाई मानसिक थेरापीका रूपमा प्रयोग गर्ने प्रचलन बढ्दो छ ।

ध्वनिकोबारेमा वैज्ञानिक अध्ययन हुन थालेको एक शताब्दी मात्रै नाघ्यो । तर प्राचीन ऋषिमूनीहरूले ध्वनिले कसरी व्याकुल मनलाई शान्त बनाउँछ भन्ने सन्दर्भमा गहिरो खोज मात्रै गरेका छ्रैनन्, निवार्ण प्राप्तिका सन्दर्भमा समेत ध्वनिको निक्कै उपयोग गरेका छन् । ‘मन्त्र शान्त्र’को नाम दिएर प्राचीन ऋषिमूनीहरूले मनलाई रूपान्तरण गर्न विभिन्न ध्वनिहरूको प्रयोग सम्बन्धी विज्ञान नै विस्तार गरेका थिए । खोजका सन्दर्भमा तिनले के पत्ता लगाए भने सबैभन्दा सहज रूपमा मनलाई केही कुराले रूपान्तरण गर्छ भने त्यो ध्वनि हो । मन्दिरमा घण्टा राख्नु र पूजा गर्दा घण्टी बजाउने प्रचलनले यही कुराको संकेतिक अर्थ दिन्छ । पूजा गर्दा शंख फुक्ने, ढ्याङ्ग्रो ठटाउने त्यसै गरिएको होइन ।

विज्ञानले भन्छ संसारमा ठोस वस्तु भन्ने केही हुँदैन । सबै कुरा सूक्ष्म तरङ्ग हुन् । कुनै निश्चित अवस्थामा एउटा तरङ्गले अर्को तरङ्गलाई प्रभाव पार्न सक्छ । यस्तो प्रभावले एकअर्को तरङ्गलाई कि कमजोर बनाउँछ या झन् बलियो बनाउँछ । समान्य भाषामा रोग लाग्नु, मानसिक समस्या देखिनु लगायतका कुरा भनेको बाहिरी कुराको तरङ्गले प्रभाव पारेर हाम्रो शरीरको तरङ्गलाई कमजोर पार्नु हो । अनि निरोग रहनु र अनन्दित रहनु भनेको हाम्रो शरीर र मनको तरङ्गलाई बाहिरी तरङ्गले प्रभाव पार्न नसक्नु हो । कुनै ध्वनी यस्ता हुन्छन् जसका हस्तक्षेपले हाम्रो शरीर र मानमा अतिक्रमण गरेका बाहिरी तरङ्गबाट शरीर र मनलाई मुक्त बनाउँछ । अझै भनौं शरीर र मनको तरङ्गलाई अझै बलियो बनाउँछ । प्राचीन ऋषिमूनीहरूले संस्कृत भाषामा त्यस्ता धेरै चोटिला ध्वनीहरूको प्रयोग गरेका छन् कि तिनको उच्चारण वा तिनलाई सुन्दा मानिसको शरीर र मनलाई बाहिरी तरङ्गको हस्तक्षेपबाट मुक्त पार्न सकोस् ।

ज्ञानका लागि मात्रै होइन मनको रूपान्तरणका लागि संस्कृत भाषा

प्राचीनकालमा समाजभन्दा मानिसको व्यक्तिगत वृत्तिको विकासमा जोड दिइन्थ्यो । तर समय क्रमसँगै व्यक्तिको वृत्ति विकासभन्दा पनि समाजको विकास गरिनुपर्छ भन्ने अवधारण विकास हुँदै गयो । मानिसको विकास पनि कसरी समाजिक देन दिने कुरामा गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित गरिन थालियो । यसकारण भाषामा पनि व्यक्तिको रूपान्तरणभन्दा पनि समाजिक उपयोगिता खोजियो । क्रमिक रूपमा मानिसले बोल्दा ध्वनीले उसको शरीर र मनमा पार्ने प्रभाव खोज्नुभन्दा पनि आफूले जानेका कुरा अर्को पक्षसम्म पुर्याउने कुरामा जोड दिइयो । ज्ञानलाई संग्रहित गर्ने कुरामा जोड दिइयो । त्यसैले मानिसले बिस्तारै ध्वनीको उपयोगित भूलेर शब्दलाई अर्थ दिने अभ्यास गर्दै गए । यो क्रमसँगै आफूले बोल्ने भाषा कै भरमा मानिसको शरीरिक र मानसिक स्वस्थ्य र चेतनामा निक्कै ठूलो रूपान्तरण आउँछ भन्ने कुरा बिस्तारै मानिसले बिर्सन थाल्यो । आधुनिक भाषाकोझैं ज्ञान सञ्चित गर्ने उपयोगिता त छ नै तर यो भन्दा महत्वको कुरा भनेको संस्कृत भाषा बोल्नाले मानिसको मन र शरीरमा पार्ने सकारात्मक प्रभाव हो । विज्ञानमा हामीभन्दा निक्कै अगाडि विशेष गरि जर्मन लगायतका युरोपका केही राष्ट्रहरूले संस्कृत भाषाको अध्ययनका लागि त्यसै रूची देखाएका होइनन् ।

संस्कृत भाषा विकासको विज्ञान

प्राचीन समयमा ऋषिमुनीहरूका साधना सिद्ध हुँदै गर्दा तिनले आममानिसको क्षमताभन्दा परको कुराहरू अनुभूति गर्न सक्दथे । ध्वनीले उनीहरूको शरीर र मनमा पारेको सकारात्मक प्रभावका आधारमा तिनले केही ध्वनीहरू प्रकृतिबाट नक्कल गरेर उतारे र केही ध्वनी अनुसन्धानबाट आविष्कार गरे । प्रकृतिबाट नक्कल गरेका अनेकन ध्वनी आममानिसको कानले सुन्न नसक्ने थिएनन् । मानिसको सुन्ने क्षमता २० हर्ज देखि २० किलो हर्ज भएको सन्दर्भमा उल्लेख गरिएको सीमा भन्दाका सूक्ष्म र चर्को थुप्रै प्राकृतिक ध्वनीहरू मानिसले सुन्न सक्दैन । उदाहरणका लागि ‘ओम’ सूर्यको ध्वनी हो भनेर नासाले पत्ता लगायो । तर मानिसले यन्त्रको सहाराबिना वातावरणमा गुञ्जायमान यो ध्वनी सुन्न सक्दैन । नासाको यो खोजभन्दा हजारौं वर्ष अगाडिबाट ‘ओम’ ध्वनीको उपयोग थुप्रै मन्त्रहरू उपयोग हुँदै आएकै छ ।

ऋषिमूनीहरूको ध्यान नै त्यसैमा केन्द्रित थिए कि शब्दहरू विकास गर्दा मन र शरीरमा सकारात्मक प्रभाव पार्ने ध्वनीहरूको संयोजन गरेर बनेका शब्दहरूले अझै शक्तिशाली रूपमा फाइदा पुर्याओस् । अनि शब्द र शब्द मिलेर बनेको वाक्यले शब्दभन्दा बढी फाइदा गरोस् । मन्त्र भन्नु आखिर मानिसको शरीर र मनमा निक्कै गहिरोसँग प्रभाव पार्ने ध्वनीहरूको संयोजन मात्रै त हो । यसरी अनेकन कालखण्डमा ऋषिमूनीहरूले कमशः संस्कृत भाषालाई अझै परिस्कृत बनाउँदै लगे ।

संस्कृत ग्रन्थश्रुति परम्परामा हुन्थे

मन्त्रको जापको महत्व बारेमा र मन्त्र दान गुरूद्वारा श्रृति परम्परबाट गरिन्छ भन्ने बोरेमा धेरथोर मानिसलाई थाहा छ । मन्त्रका बारेमा अध्ययन गर्ने बैज्ञानिकहरूले संस्कृत भाषामा लेखिएका मन्त्रहरूको प्रभाव निक्कै धेरै हुने गरेको पत्ता लागेको कुरा भनिरहेका छन् । तर सिङ्गै संस्कृत भाषाले मन्त्रको काम गर्छ भन्ने कुराका बारेमा प्राचीन शास्त्रका अध्यताहरू र संस्कृत भाषाका विद्वानहरू समेत बेखबर छन् ।
विभिन्न ध्वनिको उच्चारण गर्नु र सुन्नुले मानिसका शरीर र मनमा सकारात्मक प्रभाव पार्ने उपयोगिता संस्कृत भाषा हो । त्यही कारणले हजारौं वर्षदेखि प्राचीन शास्त्रहरू नलेखीकन श्रृति परम्पराबाट पुस्तान्तरण गरिंदै आयो । वास्तवमा हाम्रो शास्त्रहरूको महत्व ध्वनिको उपयोग गर्नुमा जति छ, तिनको शाब्दिक अर्थ त्यति गहन छैन । तर समय कालसँगै जब मानिसले संस्कृत भाषाको यस्तो महत्वपूर्ण आयामलाई बिर्सिए तब बिस्तारै शास्त्रहरू लेखिन थाल्यो, त्यहीँबाट शास्त्रको अध्यात्मिक महत्व हराउँदैगयो। बजारबाट किनेर किताब पढ्न थालेपछि शास्त्रमा अर्थ खोजिन थालियो । त्यहीँबाट गुरुको सम्मान कम हुन थाल्यो । गुरुकुल अध्ययन परम्परा ओरालो लाग्नथाल्यो । जब हाम्रा प्राचीन शास्त्रको ब्याख्याहरू गरिन थालियो, त्यहींबाट मानिसमा अध्यात्मिक रूपान्तरण कम, तार्किक क्षमता र विद्वता बढ्न थाल्यो । बिस्तारै समाजको आँखामा ज्ञानी मानिसको महत्व कम र पण्डितको महत्व बढ्दै जान थाल्यो । शास्त्रमा लेखिएका कुराहरू बुँदागत रूपमा कन्ठस्त सुनाउन सक्नेको चौतर्फी यश फैलन थाल्यो ।

हिजो वेद भट्याएर, गीता सुनेर मानिसहरू निवार्ण प्राप्त गर्दथे । अनि आज वेद, गीता जस्ता शास्त्र पढेर मानिसहरू केवल शब्द विलासमा रमाएका छन् । दिनमा, रातमा, बिहान, साँझ हरेक समयमा, हाँस्दा रूँदा, खुशीमा, पीडामा हरेक मनोभावमा, शोकमा, उत्सवमा हरेक अवस्थामा वेदका ऋचा वाचन गर्दा मानिसको जीवनमा वेद यसरी घुलमिल हुन्थ्यो कि वेद उसको आत्मा हो । वेद उसको ईश्वर हो । किन मानिसले शास्त्रलाई पूजा गर्दथे । हो अनेक मानिसहरूले प्राचीन शास्त्र वाचन गरेर निवार्ण प्राप्त गरेका थिए ।

‘बुझ्नेलाई श्रीखण्डी नबुझ्नेलाई खुर्पाको बिँड’ उखानको चरितार्थ गर्दै संस्कृत भाषालाई खुर्पाको बिँड देख्नेहरूको भीड विशाल हुँदै गर्दा संस्कृत भाषाको महत्व बुझेर केही मानिस लगायत केही शक्तिशाली मुलकले संस्थागत रूपमै संस्कृत भाषाको उत्थानमा लागि परेका छन् । गहन व्याकरण भएको, अनेक भाषाको माउ भाषा भएको, अनेक साहित्य भएको, अधिकांश प्राचीन शास्त्रहरू लेखिएका कारणले संस्कृत भाषाको जोगेर्ना गरिनुपर्छ भन्ने मान्यतालाई अलि फराकिलो पारेर संस्कृत भाषामा भएको ध्वनिको उपयोग गर्ने गुणका सन्दर्भमा पनि व्यापक वैज्ञानिक अनुसन्धान गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइतीघरको निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवाइमा प्रदर्शन

काठमाडौं । लोतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा

इपीजीको प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ

प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु