आप्रवासीमाथि अमानवीय व्यवहार
भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न ’लकडाउन’ लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन् । उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए ।
तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन् । बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि निःशुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ । उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन् । ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ ।
सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ । यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन् । कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन् ।
जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी ’लकडाउन’ घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले । हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिए ।
विवरणहरूका अनुसार आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन् । उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले पनि त्यस्तै बताएका छन् ।
प्रतापगढस्थित एकजना स्थानीय पत्रकार अमितेन्द्र श्रीवास्तवले उनको गाउँ बाबुपट्टिमा पाँचजना त्यसरी फर्किएका मानिस स्थानीय स्कुलमा रहेको क्वारन्टीन केन्द्रमा नबसेको जानकारी दिए । गाउँलेहरूले यसबारे प्रहरी तथा कन्ट्रोल कक्षमा फोन गरेर बताउँदा कसैले ध्यान नदिएको भन्दै त्यसपछि पत्रकार भएको प्रभाव प्रयोग गरेर आफूले उच्च प्रशासनिक तथा स्वास्थ्य अधिकारीलाई जानकारी दिएको उनले बताए।