एउटा कुरा के याद गर्नुस् भने रवीन्द्र मिश्रको धरौटी जफत भएको होइन !



नारायण गाउँले ।

र, एउटा कुरा के याद गर्नुस् भने रवीन्द्र मिश्रको धरौटी जफत भएको होइन !
उनले गत संसदीय निर्वाचनमा काठमाडौंको मुटुमा तत्कालीन एमाले र माओवादी दुबैका संयुक्त उम्मेद्वारभन्दा झन्डै दोब्बर बढ़ी मत ल्याएका थिए । उनले दश हजार मत ल्याउँदा नेकपा उम्मेद्वारको मत जम्मा पाँच हजार थियो । जम्मा आठ सय मतले मिश्र कांग्रेसका हेविवेट उम्मेद्वार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

आज त्यही चुनाबबाट पराजित व्यक्ति उपराष्ट्रपति छन्, पराजित व्यक्ति जितेको पार्टीका प्रवक्ता छन् र अर्का पराजित व्यक्ति उपाध्यक्ष हुँदै प्रधानमन्त्री बन्नेसम्मको योजना खुलेआम सुनाउँदै छन् । कांग्रेसमा त मुख्यजसो सबै अनुहार पराजितहरूकै छ ।

साझा पार्टीसँग तीसौँ वर्ष लामो साङ्गठनिक अनुभव छैन । गाउँगाउँका ठेक्कापट्टादेखि सार्वजनिक जग्गा हत्याएर बनेको बलियो सङ्गठन र ब्रान्डिङ् छैन ।

लाउडादेखि धमिजा हुँदै वाइडबड़ीसम्मबाट बर्शौंसम्म पार्टी र मान्छे चलाउन पुग्ने अकूत सम्पत्ति पनि साझा या मिश्रसँग छैन ।

बीसौँ वर्षसम्म कमिसनको दुहुनो गाई बनाएर पालिएको मेलम्ची पनि मिश्रसँग छैन । महाकाली सन्धि होस् या बूढी गण्डकी, पैसाको लोभमा राष्ट्रियता साटेर कमाएको पैसा साझासित छैन । बालुवाटार नै बेचेर कमाएको पैसा पनि मिश्रसँग हुने कुरो भएन । लाखौं नागरिकता बाँडेर कमाएको पैसा पनि उनीसँग नहोला । गोकर्ण फरेस्ट रिसोर्ट कौड़ीको भाउमा कसैलाई दिएर टेबलमुनिबाट आउने अरबौं कमिसन पनि साझासँग छैन । राजदूतदेखि आयुक्तसम्म बेचेर कमाएको पैसा पनि हुने कुरो भएन । हाकाहाकी अवैध चन्दा असुलीदेखि ब्याङ्क लुट्ने काम पनि साझाले गरेको छैन । यो सबै हाम्रो नाङ्गो आँखाले सजिलै देख्न सक्छ तर हामीलाई देख्ने छुट छैन । हामी सबैले देखेका छौं, कुनै उद्यम र आम्दानीबिनै प्रायः सबै नेता हामीभन्दा समृद्ध र बिलासी जीवन जिउँदै आएका छन् । हामी सर्वश्व पार्टीलाई बुझाएको नेताले कसरी अमेरिकामा उपचार गराउन सक्छ भन्ने सोध्न सक्दैनौं तर मिश्रले परोपकारको नाममा सङ्कलन गरेको करोडौं पैसा ख़ोई भन्न भने सजिलो छ । उनले मिहिनेतपूर्वक स्थापना गरेको हेल्प नेपाल नेटवर्क उनले छोड़ेपनि उत्तिकै क्रियाशील छ र मिश्रले उठाउन मद्दत गरेको रकम अक्षयकोषका लागि भएकाले त्यो संस्थासँग अझै पनि सुरक्षित छ ।

विपि कोइराला र कृष्णप्रसाद भट्टराईले रोपेको कांग्रेसको बिउ उम्रेर सत्तासम्म आउन दश वर्षभन्दा बढ़ी लाग्यो । कमरेड पुष्पलालले बनाएको पार्टी सत्तामा आउन तीसौँ वर्ष लाग्यो । कामरेड प्रचण्डले बनाएको पार्टीले सत्तामा आउन कति ठूलो रगतको खोलो बगाउनुपर्यो भन्ने हामीले देखेकै छौं । पाकिस्तानमा इमरान खानले सुधारको राजनीति गर्छु भनेर झन्डै तीस वर्ष सङ्घर्ष गर्नुपर्यो । हुन सक्छ साझालाई पनि तीस वर्ष लागोस्, चालीस वर्ष लागोस् या हुन सक्छ, यो कहिल्यै सफल नहोस् या केही वर्षमा हराएर जाओस् । भारतमा कांग्रेस र कम्युनिस्टको बीचबाट भारतीय जनता पार्टी उदाउन असम्भवजस्तै थियो ।

मिश्र देवता होइनन्, नेपाली राजनीतिका समग्र समस्याका एकमात्र उत्तर पनि होइनन् । उनी सफल हुनेबित्तिकै देश सफल हुने या बनिहाल्छ भन्ने पनि होइन । उनको पार्टी सत्तासम्म पुग्ने गरी ठूलो बनेको दिन त्यहाँभित्र पनि फेरि तिनै अनुहार देखिन सक्छन् जुन आजभोलि मूलधारका पार्टीमा बसेर रस चुसिरहेछन् । तर एउटा अभियान त हुन् नै । अहिले नै जनता उनीबाट कन्भिन्स्ड़ बन्न नसकेको सत्य हो ।

तर, आजै रवीन्द्र मिश्र या साझा पार्टीलाई असफल भएको घोषणा गर्न मिल्दैन । उनको अभियानले देशविदेशका धेरै युवाहरूलाई एक ठाउँ जोडेको छ । परिवर्तनका निम्ति प्रेरित गरेको छ र मूलधारका पार्टीभित्र रहेका युवाहरूलाई अप्रत्यक्ष ऊर्जा थपेको छ । कांग्रेस या नेकपा भएर देशलाई कति नाफाघाटा भएको छ भन्ने फेरि सोच्दै गरौँला तर साझा पार्टी भएर देशलाई कुनै घाटा भएको छैन । आफ्नो व्यावसायिक जीवनमा पूर्ण योगदान र सफलता दुबै हासिल गरिसकेर राजनीतिमा आएका व्यक्तिलाई एउटा चुनाबमैं असफल भन्न कसरी मिल्छ ? अझ दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री बन्दा ताली बजाउने हामीले त झनै मिल्दैन ।

हतियार बोकेर, धम्क्याएर, मारेर, अपहरण गरेर, आर्थिक प्रलोभनमा पारेर त पार्टी स्थापित हुन बर्सौँ लाग्छ भने शान्तिपूर्ण रूपमा जनतालाई कन्भिन्स गर्न अझ लामो समय लाग्न सक्छ । हुँदै नहुन पनि सक्छ । तर कोसिस गर्नेहरूको खिल्ली उडाउनुअघि हामीले झण्डा बोकेको अनुहार कस्तो छ भन्ने पनि विचार पुऱ्याऔँ । एउटा निर्वाचन क्षेत्रमा लगभग हजार जना त रहेछन् नि भोट दिने ! के ती हजार जनाकै खिल्ली उडाउने ? चालीस लाख युवा देशबाहिर छन् । तीमध्ये भोट हाल्न नपाउनेहरू पनि होलान् अलिकति ।

खासमा असफल ती हुन् जसले तीस वर्षदेखि देशलाई स्वार्थ र भागबण्डाको मैदान बनाएका छन् । अलिकति बनेको पनि भत्काएका छन् र त्यसैलाई क्रान्तिको रूपमा अर्थ्याएका छन् । फेरि आफैले भत्काएकोलाई अलिकति बनाएजस्तो गर्छन् र भन्छन्, हामीले दुनियाँ नै अचम्म हुने गरी विकास गऱ्यौं । मिश्रहरूलाई तराजूमा जोख्ने गरी न तिनको तौल र उचाइ बढ़ेको छ, न तिनले खिल्ली उडाउनुपर्ने गरी केही गलत गरेका छन् । भनिन्छ, प्रयास गर्नेहरू असफल होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको नभुलोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नयाँ सरकारलाई केपी ओली सरकारलाई जस्तो

इजरायलमा तत्काल १ हजार नेपाली कामदारको माग, आवेदकका लागि यस्तो छ मापदण्ड

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् ।

कांग्रेसमा साढे ४ लाख थपिए क्रियाशील सदस्य(प्रतिवेदनसहित)

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन

राष्ट्रिय राजमार्गहरु निर्माण र मर्मतका लागि संकटकाल लगाऔं !

रञ्जनकुमार दाहाल । पुर्वपश्चिम राजमार्गका धेरै खण्डहरु, पृथ्वी राजमार्ग, काठमाडौं उपत्यकाका सडकहरु र