किन बच्चाहरूले खान मन गर्दैनन् ?



महेश श्रेष्ठ ।

बच्चाहरूले सिक्ने सन्दर्भमा वैज्ञानिकहरू भन्छन् अपवादलाई छाड्ने हो भने पाँच वर्षसम्म मानिसले ९५% कुरा सिक्छन् र बाँकी जीवनभर थप ५% कुरा मात्र सिक्न सक्छन् । अभिव्यक्त गर्न नसके पनि बच्चाहरूले हेरेर, छोएर, गन्ध र आवाजबाट धेरै कुरा सिकिरहेका हुन्छन् । यस्ता सिकाई अनुभूतिका आधारमा निजात्मक हुने भएका कारण उनीहरूले सिक्ने सन्दर्भमा पूर्ण स्वतन्त्रता खोज्छन् । बच्चाहरू कमजोर भएका कारण कुनै कुरा सिक्दै गर्दा अर्काले गरेको हस्तक्षेपमा उनीहरूले प्रतिकृया दिन सक्दैनन् । सर्वप्रथम उनीहरूले कुनै कुरामा विरोध गर्न सक्छन्, भने आफ्नो मुखमा के हाल्ने वा के नहाल्ने भन्ने सन्दर्भमै हो । त्यस्तै बच्चाले आफ्नो छुट्टै अस्तित्व खोजेका हुन्छन् । आफ्नो छुट्टै पहिचान बनाउन र आफ्नो निजी मामिलामा केहि अधिकार जमाउन पनि बच्चाहरूले खानेकुरा खाईरहँदा अरूको दख्लतालाई प्रतिकार गर्न खोज्छन् ।

अभिभावकले जसरी चिन्ता लिदै आएका छन् त्यसको विपरित वास्तवमा बच्चाहरूले खाने मन नगर्ने कुरा निक्कै सामान्य विषय हो । सन् २०१६ मा ३ देखि ११ वर्षसम्मका १२० जाना बालकहरूमाथि गरिएको एक अध्ययनमा ३९% बालकहरूमा कुनै ना कुनै समय खान मन नपराउने समस्या देखिएको थियो । वयस्क मानिस स्वेच्छाले कुनै चिज खान वा नखान सक्छन् । तर अभिव्यक्त गर्न नसक्ने बच्चाहरूका सन्दर्भमा बुबाआमाले आफ्नो बच्चाको मनोविज्ञान बुझ्न नसक्दा बच्चालाई खाना खुवाउने समयमा घरघरमा बच्चा र अभिभावकबीच एक प्रकारको लडाइँ नै हुँदै आएको छ ।

यदि बच्चाले खान नमानेको कुरालाई अभिभावकले समान्य नमानेर, निक्कै महत्व दिन्छ भने, यस्तो अवस्थामा बच्चाले आफूले खाना नखाँदा आफूलाई निकै नै चासो दिने कुरा महसुस गरेर अभिभावकको ध्यान आफूतिर केन्द्रित गर्नका लागि खाने बेला मनपरेको कुरा पनि नखाई किचकिच गर्न थाल्छ । बच्चाहरूलाई कुनै कुरा खान जबरजस्ती गर्नु निक्कै नै गलत कुरा हो । तपाइँ आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चहानुहुन्छ भने सर्वप्रथम अपनाउनु पर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई समान्य ढङ्गले लिइदिनु नै हो ।

तपाइँ आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चहानुहुन्छ भने सर्वप्रथम अपनाउनु पर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई समान्य ढङ्गले लिइदिनु नै हो ।

शरीरको आवश्यकता वा स्वास्थ्यको ख्याल भन्दा पनि आमसन्दर्भमा वयस्क मानिसहरू स्वादका पारखी हुन्छन् । तर बच्चाहरूमा स्वभाविक रूपमा एक प्रकारको क्षमता हुन्छ, उनीहरूले आफ्नो शरीरलाई के कुरा कति मात्रामा चाहिरहेको छ बुझेका हुन्छन् । उनीहरू दु्रत गतिमा बढ्दै गर्दा धेरै खान्छन् अनि बढ्नेक्रम सुस्त भएको बेला कम खान्छन् । त्यस्तै शरीरलाई कार्बोहाइडे«ड, प्रोटिन, चिल्लो पदार्थ वा अन्य खनिज पदार्य के चाहिएको हो त्यही चिज सही मात्रामा खान मन पराउँछन् ।

तर अभिभावकले यो कुरा बुझेका हुदैनन् अनि जुन मात्रा जे अगाडि पस्किदिएको हुन्छ, प्लेट खाली नहुन्जेल खाईदिओस् भन्ने चाहन्छन् । हिजो बच्चाले जे खान्छ । हिजो बच्चाले जति मात्रामा खान्छ । अथवा अरू बच्चाहरूले जति मात्रामा जे खान्छन्, त्योसँग आफ्नो बच्चाले खाने गरेको कुरा ठिक वा बैठिक हो, अनि कमी वा बढी हो भनेर तुलना गर्नु ठिक होईन । बरु बच्चालाई खाने कुरा दिँदा तीन वटा परिकारमा छान्न लगाउनुहोस् यस्तो गर्दा बच्चाले आफ्नो शरीरलाई चाहिने कुरा खान पाउने अवसर मात्रै पाउने होइन बरु के खाने वा के नखाने भन्ने विषयमा निर्णय गर्दा केही हदसम्म भएपनि स्वतन्त्र महसुससमेत गर्छन् ।

बच्चाले आफ्नो शरीरलाई चाहिने कुरा खान पाउने अवसर मात्रै पाउने होइन बरु के खाने वा के नखाने भन्ने विषयमा निर्णय गर्दा केही हदसम्म भएपनि स्वतन्त्र महसुससमेत गर्छन् ।

साना बच्चाले खाने कुराको रङ, बनावट, आवरण, बास्न, स्वाद आदिको आधारमा के कुरा खाने वा के कुरा नखाने भनेर सिक्दै गरेका हुन्छन् । तर उनीहरूलाई सिक्नका निम्ति समय लाग्छ । केही दिनमै बच्चाको खाने व्यवहारमा परिर्वतन होस् भने चाहनु हुँदैन । केही सामान्य कुराहरूमा ध्यान दिने हो भने आफसेआफ बच्चाको खाने व्यवहारमा सुधार आउँछ ।

बच्चाहरूले विशेष गरि खस्रो भन्दा चिप्लो, विरूप भन्दा देख्नमा राम्रो, कडा भन्दा नरम, ठूलो भन्दा सानो, खान सजिलो हुने, मुखमा बिलाउने, चर्को गन्ध नआउने खानेकुरा खान मन पराउँछन् । त्यस्तै रङको सन्दर्भमा चक्लेट रङको खाने कुरा मन पराउँछन् । बच्चाहरूका यही कमजोरीहरूलाई आधार बनाएर व्यवसायिक खाद्य उद्योग कम्पनीहरूले फास्ट फुडहरू बनाएका कारण बच्चाहरू फस्टफूड प्रति आकर्षित भएका हुन् । अध्ययनका अनुसार बच्चाहरू दुई वर्षको हुँदा खाने सन्दर्भमा निक्कै नै किचकिच गर्ने हुन्छन्, अनि क्रमशः ६ वर्ष पुग्दा उनीहरूमा यस्तो समस्या निक्कै नै कम भईसकेको हुन्छ ।

यसको कारण के हो भने बच्चाहरू दईवर्ष हुँदा उनीहरूको संज्ञा (पञ्च इन्द्रियबाट प्राप्त संकेतका आधारमा कुनै कुरा राम्रो हो या नराम्रो भन्ने छुट्टाउने ज्ञान) शक्ति उत्कर्षमा पुगेको हुनु र उनीहरूले खानेकुरा राम्रो वा नराम्रो के हो भनि छुट्याउने सन्दर्भमा आफ्नो संज्ञाको अधिकतम प्रयोग गर्नु हो । दुई वर्षपछि विस्तारै बच्चाहरूले भाषा सिक्दै गर्दा केही कुरा सिक्ने सन्दर्भमा छाला, आँखा, कान, जिब्रो लगायतका इन्द्रिय बाहेक अरूको देखासिकी गर्ने बानी र क्रमशः सूचनाका आधारबाट कुन कुरा स्वस्थ्यकर छ वा कुन कुरा छैन भन्ने जानकारी लिनसक्ने हुँदै जाने हुँदा ६ वर्षसम्म आईपुग्दा धेरै चिजहरू खान थाल्ने भइसकेका हुन्छन् ।

सूचनाका आधारबाट कुन कुरा स्वस्थ्यकर छ वा कुन कुरा छैन भन्ने जानकारी लिनसक्ने हुँदै जाने हुँदा ६ वर्षसम्म आईपुग्दा धेरै चिजहरू खान थाल्ने भइसकेका हुन्छन् ।

बच्चाहरूले खान मन नपराउनुको अनेक कारण हुन्छन् । कहिलेकाहीँ बच्चाहरूले नयाँ खानेकुरालाई अन्य कुरासँग दाँजेर पनि खाने नगरेका हुन सक्छन् । उदाहरणका लागि गड्यौला देखेको बच्चाले पहिलो पटक चाउमिन खान दिँदा चाउमिनलाई गड्यौला जस्तै मानेर खान नमान्न सक्छ । यदि यस्तो अवस्थामा अभिभावकले जबरजस्ती हप्काई दप्काई चाउमिन खुवाएमा उसले नखाने मात्रै होइन उसमा ‘फुड निओफोबिया’ वा पछि गएर ‘इटिङ डिसअडर’ जस्ता खाने बानीका सन्दर्भमा मनोवैज्ञानिक समस्याहरू देखिन सक्छ ।

बच्चालाई समय समयमा नयाँ कुरा खुवाउँदै लैजानुपर्छ । विशेषगरी ६ देखि ९ महिनाका बच्चालाई धेरै भन्दा धेरै नयाँ नयाँ कुरा खुवाउनु पर्छ । तर नयाँ खानेकुरा खान नमानेको सन्दर्भमा, प्रथमतः बच्चालाई त्यस्ता खानेकुरासँग परिचित गराउनुपर्छ । खान नमाने भने पटक पटक थोरै मात्रामा त्यस्ता कुरा खानाको प्लेटमा राखिदिने गर्नुपर्छ ।

पहिलो कदम भनेको उसलाई देखाउने, दोस्रोमा उसलाई छुवाउने, तेस्रोमा उसको ओठमा छुवाउने र त्यसपछि खुवाउने । विशेषतः बच्चालाई यसो गर्दा जम्मजम्मी १०–११ पटकसम्म खानेकुरा प्लेटमा राखिदिनुपर्छ । यो सिङ्गै प्रकृयाका लागि केही दिन दिनु जरुरी हुन्छ । त्यस्तै बच्चाले खान मन नगरेको खानेकुरा उसको अगाडि खाने, पकाउँदा बच्चालाई सँगै राख्ने वा भिडियोमा त्यस्ता खाने कुरा देखाउने जस्ता काम गरेर बच्चाले खान मन नगरेको खानेकुरालाई बच्चासँग परिचित गर्दै लगेमा केही समयपछि त्यस्ता खानेकुरा बच्चाका मन पर्ने परिकारमा परिणत पनि हुनसक्छ ।

पहिलो कदम भनेको उसलाई देखाउने, दोस्रोमा उसलाई छुवाउने, तेस्रोमा उसको ओठमा छुवाउने र त्यसपछि खुवाउने । विशेषतः बच्चालाई यसो गर्दा जम्मजम्मी १०–११ पटकसम्म खानेकुरा प्लेटमा राखिदिनुपर्छ

कहिलेकाहीँ बच्चा अन्य कुरामा निक्कै नै रमाएको बेला वा अन्य कुराले उत्तेजित भएको बेला बच्चाले खान मन गर्दैन तसर्थ त्यस्तो समस्या नहोस् भन्नका खातिर बच्चालाई हरेक दिन खाना खाने समय भन्दा पन्ध्र मिनेट अगाडि खाने समय हुन लाग्यो भन्ने जानकारी दिनुपर्छ । दैनिक रूपमा खानाखाने निश्चित समय बनाउँदा अझै राम्रो हो । बच्चाको ध्यान खाने कार्यबाट अरू कतै तानिने कुराहरू छन् भने तिनलाई हटाउनु राम्रो हुन्छ । जस्तै खाना खाने समयमा टेलिभिजन बन्द गर्नु, किताब बन्द गर्नु, खेलौनालाई पन्छाउनु पर्छ ।

बच्चाको खाने व्यवहार सुधार्नु छ भने खाना खाने समयलाई अभिभावक र बच्चाबीच द्वन्द्वको समय नबनाएर उत्सवको समय बनाउनुपर्छ । खानेकुरा खाने कार्य र समयलाई खेल जस्तै रमाइलो बनाउनुपर्छ । सानो प्लेटमा धेरै खाने कुरा राखिदिने वा ठूलो थालमा थोरै खानेकुरा राखिदिने, खाने समयमा बच्चाले खेल्ने गरेको केही ठिक्कको आकारको भाडाकुटीमा थोरै खानेकुरा राखिदिने, पुतलीलाई खुवाएको जस्तै गराउने, यो खानेकुरा खादा सुपरम्यान बन्छ भन्ने जस्ता कुरा सुनाउने आदि गरेर खाने कार्यलाई रमाइलो बनाउन सकिन्छ । बच्चाले भाँडा सफा हुने गरी पस्केको सबै खानेकुरा खाँदा चक्लेट लगायतका सानोतिनो उपहार दिनु राम्रो हो । तर बच्चालाई दिइने उपहार त्यही महत्वको पनि हुनुहँुदैन ताकि उपहार पाउने लोभले बच्चाले खाना खानै पर्ने दवाव महसुस गरोस् ।

जस्तै खाना खाने समयमा टेलिभिजन बन्द गर्नु, किताब बन्द गर्नु, खेलौनालाई पन्छाउनु पर्छ ।

बच्चाहरूले अरूबाट सिक्छन् । परिवारका अन्य सदस्यहरूले खाएको बेला बच्चालाई उपस्थित गराउनाले बच्चाले खान सिक्छ । बच्चालाई मन नपर्ने परिकार परिवारका अन्य सदस्यले खाँदै गरेको देखेमा बच्चाहरूले त्यस्तो कुरा खान थाल्छन् । यसरी परिवारका वयस्क सदस्यहरूले बच्चासँग बसेर खाइरहँदा भने खाने कुराको सन्दर्भमा नमिठो भो भनेर गुनासो गर्ने र थालमा खाने कुरा बाँकी राख्ने गर्नुहुँदैन । त्यस्तै बच्चालाई खानेकरा किन्दा, काट्दा र पकाउने प्रकृयामा सँगसँगै राख्दा पनि बच्चाहरूको खाने व्यवहारमा सकारात्मक परिवर्तन आउँछ ।

विशेष गरि बच्चा कस्तो प्रवृत्तिको छ भन्ने कुराले पनि बच्चाको खाने व्यवहारलाई प्रभाव पार्छ । छोएर महसुस गर्ने, सुङ्ने, अनि स्वाद थाहा पाउने जस्ता संज्ञा शक्ति धेरै भएका बच्चाहरूले खस्रो, विरूप आवरण भएको र कडा गन्ध आउने खानेकुरा खान मान्दैनन् । त्यस्तै भावुक र लजालु बच्चाहरूले नयाँ खालका खाने कुरा खान रुचि देखाउँदैनन् । तर विन्दास खालका बच्चाहरूले नयाँ नयाँ खालका खानेकुराहरू पनि सजिलै खाने गर्दछन् ।

बच्चाको खाने व्यवहारका विषयका ज्ञाता मनोवैज्ञानिक डा. फ्ये पाव्यलका अनुसार बच्चाहरूले कस्तो स्वाद मन पराउँछन् भन्ने कुरा आमाको गर्भबाटै शुरू हुन्छ । गर्भ अवस्थामा आमाले जति विविधतापूर्ण खानेकुरा खान्छिन्, त्यो अनुपातमा बच्चाले आमाले खाने गरेका खानेकुराहरू खान रुचाउँछ । त्यस्तै आमाको दुधको स्वाद जस्तै लसुन, भेनिला आदिको स्वाद आमाको दुधबाटै बच्चाहरूले खान थालेका हुन्छन् ।

गर्भ अवस्थामा आमाले जति विविधतापूर्ण खानेकुरा खान्छिन्, त्यो अनुपातमा बच्चाले आमाले खाने गरेका खानेकुराहरू खान रुचाउँछ ।

बच्चाहरूको उचाईको वृद्धिदर रोकिँदा वा वृद्धिदर सुस्त हुँदा, बच्चाहरूको शरीरमा जुका लगायतका परजीवी हुँदा, बच्चाहरूलाई कस्टिपेसन वा एसिडिटि हुँदा वा बच्चाहरूका स्वास्थ्य सम्बन्धी समस्याका अरु नै कारणले समेत बच्चाहरूले खान मन नगरेको पनि हुन सक्छन्, यस्तो अवस्थामा अभिभावक चनाखो हुनुपर्छ ।

बच्चाहरूले किन खादैनन् भन्ने कुराको उत्तर त्यति सजिलो छैन । बच्चाहरूले नखानुमा अभिभावकले आफ्नै कमजोरी ठान्नु जरुरी पनि छैन, किनकी यसमा अभिभावकले बच्चालाई बुझ्न नसक्नु मात्रै कारण नभई, वंशाणुगत गुण, जैविकता, बच्चाको मनोविज्ञान, बच्चाको स्वस्थ्य र खानाको स्वाद आदि लगायतका विभिन्न कारणहरू निहित छन् ।

यसअघि २०७४ चैत ३ गते शनिबार खरिबोट डटकममा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुन्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भएको

थप ५७४३ जनामा कोरोना संक्रमण, २,९९६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन(फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२