काठमाडौँ । बंगलादेशमा चिकित्सा शिक्षा हासिल गरिरहेका र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नेपाली चिकित्सकहरूबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले ढाकामा विशेष जमघट आयोजना गरिएको छ।‘नेपाली इन्टन्र्स एन्ड डक्टर्स रिसेप्सन २०२६’ नाम दिइएको उक्त कार्यक्रममा करिब १५० जना नेपाली विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका रेजिडेन्ट चिकित्सक तथा कार्यरत चिकित्सकहरू सहभागी भएका थिए।
वल्र्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन (डब्लुएनएसओ) बंगलादेशले आयोजना गरेको कार्यक्रममा सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश (एसएनडीबी) ले सहकार्य गरेको थियो। स्क्वायर फर्मास्युटिकल्स पीएलसी बंगलादेशले कार्यक्रमलाई प्रायोजन गरेको थियो।
ढाकास्थित द फरेस्ट लाउन्जमा बिहीबार आयोजित कार्यक्रममा नेपालका प्रथम कोलोरेक्टल सर्जन तथा बंगलादेशबाट चिकित्साशास्त्र अध्ययन गरेका नेपाली चिकित्सकहरूको संस्थाका संस्थापक अध्यक्ष डा. राकेश शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा डा. शाहले बंगलादेशसँग जोडिएका आफ्ना विद्यार्थी जीवनका स्मरण साझा गरे। चिकित्सा शिक्षा पूरा गरेको पाँच वर्षपछि पुनः ढाका फर्किन पाउँदा खुसीसँगै भावुक भएको उल्लेख गर्दै उनले आफ्नो शैक्षिक र व्यावसायिक जीवनमा बंगलादेशको योगदान महत्वपूर्ण रहेको बताए।
नेपाली विद्यार्थी र चिकित्सकलाई एउटै साझा मञ्चमा जोड्ने प्रयास सकारात्मक रहेको बताउँदै उनले यस्ता कार्यक्रमले व्यक्तिगत सम्बन्ध मात्र नभई व्यावसायिक सञ्जाल र सामुदायिक एकतालाई समेत बलियो बनाउने धारणा राखे।
नेपाल मेडिकल एसोसिएसन तथा सोसाइटी अफ सर्जन्स अफ नेपालका कार्यकारी सदस्यसमेत रहेका शाहलाई कार्यक्रममा विशेष सम्मानसहित स्वागत गरिएको थियो। उनी डब्लुएनएसओ बंगलादेशका संस्थापक तथा पूर्वअध्यक्ष पनि हुन्।
डब्लुएनएसओका अध्यक्ष डा. मुन्ना यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसएनडीबीका स्थानीय प्रतिनिधि डा. मनीष गुरमैता पनि सहभागी थिए।
चिकित्सकहरूको औपचारिक भेटघाटमा सीमित नराखी कार्यक्रमलाई सांस्कृतिक र मनोरञ्जनात्मक स्वरूपसमेत दिइएको थियो। नेपाली कला तथा संस्कृति झल्काउने प्रस्तुति, खुला मञ्च, विभिन्न खेल, पुरस्कार वितरण र चिठ्ठा कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको अन्त्यमा आयोजित सामूहिक रात्रिभोजमा सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आपसी आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाएका थिए।
आयोजकका अनुसार कार्यक्रमले बंगलादेशमा रहेका नेपाली विद्यार्थी तथा चिकित्सकलाई एकै ठाउँमा जोड्नुका साथै डब्लुएनएसओ र एसएनडीबीबीचको सहकार्यलाई थप सुदृढ बनाएको छ।

प्रतिक्रिया