नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण



काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आज आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले ती एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।

एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् ।

यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले दुर्घटनाका घाइते तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन २०२१ सालमा पहिलो पटक नेपालमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।

त्यतिबेला जर्मन रेडक्रसको सहयोगमा एम्बुलेन्स सञ्चालन गरिएको थियो । सो लगत्तै २०२२ सालमा जापान सरकारको सहयोगमा रेडक्रसले दोस्रो एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रेडक्रसले हाल ६८ जिल्लामा दुई सय ७५ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

सरकारको राष्ट्रिय एम्बुलेन्स नीतिअनुरुप पुराना एम्बुलेन्सको स्तरवृद्धि गर्ने र नयाँ खरिद गर्दा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गर्ने नीति लिइएको रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिए ।

सरकारको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ र नेपाल रेडक्रसले अवलम्बन गरेको स्तरवृद्धिको नीतिअनुसार कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमबाट आइएफआरसीको सहयोगमा ती एम्बुलेन्स खरिद गरिएका हुन् ।

यी एम्बुलेन्स विभिन्न जिल्ला शाखालाई हस्तान्तरण गरिएसँगै रेडसक्रसको एम्बुलेन्स सेवा अझ स्तरीय हुँदै जाने र बिरामी तथा घाइतेलाई अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको रेडक्रस सोसाइटीले जनाएको छ ।

हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिकस्तरमा स्थापना गरिएका प्रेषण केन्द्रमा आबद्ध गरी १०२ नंम्बर मार्फत सञ्चालन हुनेछन् ।

एम्बुलेन्स हन्तान्तरण कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव चापागाईंले अर्काको जीवन रक्षाका लागि सहयोग गर्ने रेडक्रसको मूल भावलाई जोगाएर राख्न सक्नुपर्ने बताए । “रेडक्रसमा हुञ्जेल मानवीय सेवाबाहेक अन्य कुनै एजेन्डा हुनुहुँदैन”, उनले भने, “मानवीय सेवामा समर्पित हुने योजना छैन भने अन्य क्षेत्रमा लाग्नुपर्छ ।” उनले अन्य जिल्लालाई पनि एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लाले एम्बुलेन्स सेवा नेपालीका लागि जीवनदायी हुने विश्वास व्यक्त गरे । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समीर अधिकारीले अस्पताल नपुगेसम्म (पूर्वअस्पताल)को एम्बुलेन्स सेवालाई सुदृढीकरण गर्न सरकारले महत्वपूर्ण योजना बनाएको बताए । उनले सरकारले ल्याएको कार्ययोजनाअनुसार एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय