मान्छेको अनुहारमा प्रजनन गर्ने एउटा सानो जीव जुन लोप हुने अवस्थामा



मृत कोषहरू हटाउनु, नरम बनाउनु र घामबाट छालालाई जोगाउनु छालाको हेरचाह गर्ने धेरै मानिसहरूको नियमित काम हो । तर यसो गर्दा हाम्रो अनुहारको छालाको गहिराइमा जीवन बिताउँदै छालाका छिद्रहरू सफा गर्ने डेमोडेक्स फोलिकुलारूमजस्ता किर्ना प्रजातिका सानो जीवहरूलाई के हुन्छ ? रातको समयमा ०.३ मिलिमिटरका यी जीवहरू हाम्रो छालाका छिद्रबाट समागमका लागि जोडी खोज्न निस्कन्छन् ।

तर नयाँ एक अध्ययनले यी जीवहरूको अनुवंशमा आइरहेको क्षयीकरणका कारण लोप हुने अवस्थामा पुगेको देखाएको छ । अब तपाईँ के सोचिरहनुभएको छ हामीलाई थाहा छ। यदि तपाईँ आफूसँग भएका अनुहार सफा गर्ने सबै सामग्री बोकेर स्नानगृहतर्फ दौडँदै हुनुहुन्छ र हरेक इन्चमा अनुहार कोतर्दै हुनुहुन्छ भने पनि त्यसले काम गर्ने वाला छैन ।

किनभने यिनीहरू हाम्रो छालामा धेरै भित्र बस्छन् जसकारण पखालेर पनि जाँदैनन् । तपाईँलाई असहज लाग्दैन भने यो थाहा पाइराख्नुहोस् कि हामीमध्ये ९० प्रतिशतको छालामा यस्ता जीवहरू हुन्छन् । हामीले आमाको दूध खाँदा नै सर्ने भएकाले जन्मिएलगत्तै हाम्रो छालामा यिनीहरू आउँछन् । अध्ययनमा संलग्न युनिभर्सिटी अफ रिडिङका डा. अलेहान्ड्रा पेरोटी हामी यी जीवहरूलाई आश्रय दिन पाएको र उनीहरूसँग घनिष्ठ सम्बन्ध रहेकोबारे अनुगृहीत हुनुपर्ने बताउँछिन् ।

“उनीहरू धेरै साना र प्यारा हुन्छन्। उनीहरू भएकोमा हामीले चिन्ता मान्नुपर्ने केही छैन। उनीहरूले हाम्रा छिद्रहरू सफा गर्छन् र सम्म बनाउँछन्,“ उनले रेडिओ १ न्यूजबिटसँग भनिन् । ‘कुनै चिन्ता नलिनुहोस्। कुनै पनि क्षति नपुर्याउने साना आँखाले नदेखिने जीव आफूसँगै बसिरहेकोमा खुसी हुनुहोस्।’ अध्ययनले यी जीवहरूसँग हाम्रो सम्बन्ध कति नजिक छ भन्ने देखाएको छ। र उनीहरूसँग रहेको जीनको घट्दो सङ्ख्या पनि उजागर गरेको छ ।

पराबैजनी किरणबाट यस्तो जीवको शरीरलाई जोगाउने जीन हाम्रो छालाको निखरतामा विलय हुन्छ। र यी जीवहरू रातको समयमा मात्र सक्रिय हुन्छन्। “र’तको समयमा जब हामी गहिरो निद्रामा हुन्छौँ उनीहरू हाम्रो छालाको छिद्रमा जान्छन्, सम्भोग गर्छन् र बच्चा जन्माउँछन्,’ पेरोटी भन्छिन्।

अध्ययनले उनीहरूको आनुवंशिक विविधता साँघुरो बन्दै गएको र हामीमाथि परनिर्भरता बढ्दै गएको देखाएको छ। जसको अर्थ उनीहरू लोप हुने सम्भावनाको नजिक छन्। अध्ययनले यी जीवहरूलाई उठाउने वा सुताउने जीनको खोजी गर्ने अपेक्षा गरिए पनि यस्तो जीन भेटिएन। यो जीवले हाम्रो छालामा रहने सानो मात्राको हर्मोनको सहायतामा हामी निदाएको थाहा पाउँछ र हामी निदाएपछि उठ्छ।

यसरी हामीसँग अनुकूलन भएकैले समस्या उत्पन्न भएको छ । जति उनीहरू हामीसँग अनुकूलन हुँदै जान्छन् उनीहरूको जीनमा त्यति नै क्षयीकरण हुँदै जान्छ । अन्ततः उनीहरू आफ्नो अस्तित्वका लागि हामीमा पूर्णरूपमा निर्भर हुँदै जान्छन् । यही परनिर्भरताको कारण उनीहरू हाम्रो छिद्रबाट बाहिर जान सक्दैनन् र आफ्नो जोडी बनाउन पाउँदैनन् । त्यसो भए हामीले यिनीहरूलाई गुमायौँ भने के समस्या हुन्छ? ‘उनीहरू स्वस्थ्य छालासँग जोडिएका छन्। हामीसँग उनीहरू रहेनन् भने तपाईँलाई छालाको समस्या हुनसक्छ,’ डा. पेरोटी भन्छिन्।

साम ह्यारिस, बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी