भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने



चितवन । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । सोमबार जग पूजा गरेर निर्माण कार्य थालिएको हो ।

चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन् । निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ ।

सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उनले जानकारी दिए । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए । रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो ।

रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए । एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ ।

भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ । भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत हुन् । अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्नेछ । सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उनले जानकारी दिए । सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ ।

मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैंले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उनले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय