-डा. गोविन्दशरण उपाध्याय ।
प्रकृतिले कहिलेकाहीँ मानिसलाई यस्तो ठाउँमा उभ्याइदिन्छ, जहाँ शब्दभन्दा मौनता ठूलो हुन्छ । रसुवाको विपत्तिले धेरै परिवारलाई त्यही मौनतामा पुर्याएको छ । कसैले आफ्ना प्रियजन गुमाएका छन् । कसैले घर, खेत, पशु, व्यवसाय वा भविष्यको भरोसा गुमाएका छन् । कसैको परिवारजन अझै बेपत्ता हुन सक्छन् । कसैले मृत्युबाट ज्यान जोगाएका छन्, तर आफ्नै आँखाअगाडि देखेको विनाशको दृश्य बोकेर बाँचिरहेका छन् । विपत्ति समाप्त भएको घोषणा हुन सक्छ, बाटो खुल्न सक्छ, राहत वितरण हुन सक्छ, तर मानिसको मनभित्रको विपत्ति त्यति छिटो समाप्त हुँदैन ।
यस्तो अवस्थामा हामी प्रायः भन्छौँ—“नरोऊ”, “बलियो बन”, “समयले सबै ठीक गर्छ”, “जे हुनु थियो भयो” । यी वाक्य शुभेच्छाबाट आएका हुन सक्छन्, तर दुःखमा रहेको मानिसको मनले सधैँ यिनलाई सहयोगका रूपमा ग्रहण गर्दैन । मनोविज्ञानले शोकलाई आदेश दिएर हटाउन सकिँदैन भन्छ । शोकलाई समय चाहिन्छ । सुरक्षित सम्बन्ध चाहिन्छ । आफ्नो कथा भन्न पाउने ठाउँ चाहिन्छ । कहिलेकाहीँ बोल्नुभन्दा चुप लागेर बसिदिने मानिस चाहिन्छ । यही मानवीय सहयोगलाई वैज्ञानिक र व्यवस्थित रूपमा प्रदान गर्ने प्रक्रियालाई शोक–परामर्श अर्थात् Grief Counselling भनिन्छ ।
शोक रोग होइन, सम्बन्धको मूल्य हो
जहाँ प्रेम हुन्छ, त्यहाँ विछोडले पीडा दिन्छ । हामी कुनै मानिससँग केवल कुरा गर्दैनौँ; उससँग आफ्नो सुरक्षा, पहिचान, भविष्य, आशा र दैनिक जीवन जोड्छौँ । त्यसैले मृत्यु केवल एउटा व्यक्तिको अनुपस्थिति होइन । त्यो व्यक्तिसँग जोडिएका सयौँ साना दिनचर्याको पनि अन्त्य हो ।
बाबु गुमाउँदा सन्तानले व्यक्तिमात्र गुमाउँदैन, सुरक्षाको एउटा अनुभूति पनि गुमाउन सक्छ । जीवनसाथी गुमाउँदा प्रेमसँगै दैनिक सहकार्य, संवाद र भविष्यको योजना पनि भत्किन्छ । विपत्तिमा घर गुमाउनु भनेको चारवटा भित्ता गुमाउनु मात्र होइन; स्मृति, सुरक्षा, छिमेक र आफ्नोपनको एउटा संसार गुमाउनु हो । यसैकारण शोक केवल मृत्युबाट आउँदैन । व्यक्ति, सम्बन्ध, घर, स्वास्थ्य, शरीरको क्षमता, रोजगारी, पहिचान, सामाजिक अवस्था वा भविष्यको अपेक्षा गुमाउँदा पनि शोक उत्पन्न हुन सक्छ ।
रसुवाजस्तो विपत्तिमा शोक झन् जटिल हुन्छ । सामान्य मृत्युमा परिवारले बिरामीलाई भेट्ने, बिदाइ गर्ने वा अन्तिम संस्कारको तयारी गर्ने अवसर पाउन सक्छ । अचानक आएको बाढी वा पहिरोमा त्यो सम्भावना नहुन सक्छ । शव नभेटिन सक्छ । परिवारका धेरै सदस्य एकैपटक गुम्न सक्छन् । “ऊ जीवित छ कि छैन ?” भन्ने अनिश्चितता महिनौँसम्म रहन सक्छ । यस्तो अवस्थालाई मनोविज्ञानमा ambiguous loss, अर्थात् अस्पष्ट हानि भनिन्छ । मृत्यु पुष्टि भएको छैन, तर व्यक्ति उपस्थित पनि छैन । आशा र निराशा एउटै घरमा बस्न थाल्छन् । यस्तो शोक विशेष कठिन हुन्छ ।
शोकका अनुहार धेरै हुन्छन्
शोक भनेको केवल रुनु होइन । कसैले धेरै रुन्छ । कसैले पटक्कै रुँदैन । कसैले बोलिरहन्छ । कसैले मौन बस्छ । कसैले मृतकको फोटो हेरिरहन्छ । कसैले फोटो हेर्नै सक्दैन । यी सबै प्रतिक्रिया व्यक्तिको स्वभाव, सम्बन्ध, संस्कृति र परिस्थितिअनुसार फरक हुन सक्छन् ।
सामान्य शोकमा उदासी, तड्प, एक्लोपन, निद्रा बिग्रनु, भोक कम हुनु, ध्यान नलाग्नु, मृतकलाई बारम्बार सम्झनु र अचानक आँसु आउनु स्वाभाविक हुन सक्छ । कहिलेकाहीँ रिस पनि आउँछ—प्रकृतिसँग, सरकारसँग, अस्पतालसँग, भगवानसँग वा आफैँसँग ।
विपत्तिमा एउटा विशेष भावना देखिन्छ—“म बाँचेँ, ऊ किन बाँचेन ?” । यसलाई survivor guilt भनिन्छ । कसैले आफूले अझै केही गर्न सक्थेँ कि भन्ने प्रश्नले आफूलाई दोष दिन सक्छ । तर विपत्तिको असाधारण परिस्थितिमा एउटा सामान्य मानिससँग सबैलाई बचाउने क्षमता हुँदैन । अपराधबोध वास्तविक अनुभव हो, तर त्यसको आधार सधैँ वास्तविक गल्ती हुँदैन । शोकले शरीरलाई पनि असर गर्छ । छाती भारी लाग्नु, शरीर गल्नु, टाउको दुख्नु, पेट बिग्रनु, मुटुको धड्कन बढेजस्तो लाग्नु, भोक हराउनु वा निद्रा नलाग्नु सम्भव हुन्छ ।
कसैकसैलाई घटनाको दृश्य बारम्बार सम्झना आउँछ । नराम्रो सपना देखिन्छ । पानीको ठूलो आवाज, पहिरो, साइरन वा कुनै विशेष स्थानले अत्यधिक डर उत्पन्न गर्न सक्छ । यस्तो अवस्थामा शोकसँग आघात अर्थात् trauma पनि जोडिएको हुन सक्छ । बालबालिकाको शोक अझ फरक हुन्छ । बच्चा एकछिन रोएर फेरि खेल्न सक्छ । त्यसैले उसले बिर्सियो भन्ने होइन । साना बच्चामा पेट दुख्ने, राति डराउने, ओछ्यान भिजाउने, आमाबाबुसँग टाँसिएर बस्ने वा विद्यालय जान नमान्ने व्यवहार देखिन सक्छ । किशोरमा मौनता, आक्रोश, जोखिमपूर्ण व्यवहार वा पढाइमा गिरावट देखिन सक्छ ।
सबै शोक मानसिक रोग होइन
शोक मानव जीवनको प्राकृतिक प्रक्रिया हो । त्यसैले प्रियजन गुमाएको प्रत्येक व्यक्तिलाई बिरामीको दर्जा दिनु उचित हुँदैन । अधिकांश मानिस परिवार, आफन्त, धर्म–संस्कार, समुदाय र समयको सहयोगबाट क्रमशः नयाँ अवस्थासँग समायोजित हुन्छन् ।
तर केही व्यक्तिमा शोक अत्यन्त तीव्र र दीर्घ हुन सक्छ । मृतकको तड्पले लामो समयसम्म दैनिक जीवन लगभग असम्भव बनाउँछ । जीवन अर्थहीन लागिरहन्छ । आफू को हुँ भन्ने अनुभूति बदलिन्छ । सामाजिक सम्बन्ध र काम पूर्ण रूपमा प्रभावित हुन्छन् । यस्तो अवस्थालाई Prolonged Grief Disorder को दृष्टिले मूल्याङ्कन गर्नुपर्ने हुन सक्छ ।
यसलाई सामान्य शोकसँग गडबड गर्नु हुँदैन । शोकको कुनै कठोर “समाप्ति मिति” हुँदैन । संस्कृति, सम्बन्ध र परिस्थितिअनुसार मानिसको अनुभव फरक हुन्छ । तर समय बित्दै जाँदा पनि दैनिक जीवन गम्भीर रूपमा अवरुद्ध भइरहेमा विशेषज्ञ सहयोग आवश्यक हुन्छ ।
शोक, अवसाद र PTSD पनि एउटै होइनन् । शोकमा गुमाएको व्यक्तिको अभाव र सम्झना केन्द्रमा हुन्छ । अवसादमा जीवनका लगभग सबै क्षेत्रमा निराशा, आनन्दको कमी र मूल्यहीनताको अनुभव फैलिन सक्छ । PTSD मा भने भयावह घटनाको पुनःअनुभव, बच्ने व्यवहार र निरन्तर खतरा महसुस हुनु प्रमुख हुन सक्छ । यी अवस्थाहरू एउटै व्यक्तिमा एकसाथ पनि देखा पर्न सक्छन् ।
शोक–परामर्शले के गर्छ ?
शोक–परामर्शको पहिलो काम उपदेश दिनु होइन, सुन्नु हो । राम्रो परामर्शदाता पीडितलाई चाँडो निको पार्ने हतार गर्दैन । उसले प्रश्नभन्दा पहिले सम्बन्ध बनाउँछ । आँसुलाई रोक्दैन । मौनतालाई असहज ठान्दैन । “तपाईंले बिर्सनुपर्छ” भन्नुको सट्टा “तपाईंले धेरै ठूलो हानि सहनुभएको छ” भन्न सकिन्छ । “बलियो बन्नुस्” भन्नुको सट्टा “अहिले तपाईंलाई सबैभन्दा कठिन के भइरहेको छ ?” भनेर सोध्न सकिन्छ ।
दोस्रो काम शोकबारे सही जानकारी दिनु हो । निद्रा बिग्रनु, अचानक सम्झना आउनु वा केही समय ध्यान कम हुनु शोकका सामान्य प्रतिक्रिया हुन सक्छन् भन्ने जानकारीले मानिसको डर कम गर्छ । तेस्रो काम भावनालाई सुरक्षित रूपमा अभिव्यक्त गर्ने अवसर दिनु हो । सबैलाई बोल्नैपर्छ भन्ने छैन । कसैले लेखेर अभिव्यक्त गर्छ । कसैले प्रार्थना गर्छ । कसैले फोटो हेर्छ । कसैले मौन बस्छ । परामर्शदाताले व्यक्तिको गति पछ्याउनुपर्छ । चौथो काम हानिसँग जोडिएका कठोर विचारलाई क्रमशः हेर्नु हो । “मेरो गल्तीले उसको मृत्यु भयो”, “अब मेरो जीवन समाप्त भयो”, “म फेरि हाँसेँ भने उसलाई धोका हुन्छ” जस्ता विचारले शोक थप जटिल बनाउन सक्छन् । Cognitive Behavioral Therapy जस्ता उपचारमा यस्ता विचारको प्रमाण, विकल्प र जीवनमा पर्ने प्रभावमाथि काम गरिन्छ ।
अनुसन्धानले Prolonged grief मा Grief-focused CBT तथा विशिष्ट Grief therapy उपयोगी हुन सक्ने देखाएको छ । तर यस्तो उपचार प्रशिक्षित मानसिक स्वास्थ्य विशेषज्ञले गर्नुपर्छ ।
रसुवामा पहिले सुरक्षा, त्यसपछि मनको कुरा
विपत्तिपछि प्रत्येक पीडितलाई तुरुन्त विस्तृत मनोवैज्ञानिक कथा भन्न लगाउनु उचित हुँदैन । प्रारम्भमा मानिसलाई खाना, पानी, सुरक्षित आवास, स्वास्थ्य सेवा, परिवारसँग सम्पर्क र भरपर्दो सूचना चाहिन्छ ।त्यसैले Psychological First Aid र Grief counselling बीच भिन्नता बुझ्नुपर्छ । PFA ले तत्काल सुरक्षा, स्थिरता, व्यवहारिक सहयोग र सामाजिक समर्थन जोड्छ । शोक–परामर्शले पछि व्यक्तिले भोगेको हानि, सम्झना, अर्थ र नयाँ जीवनसँगको समायोजनमा सहयोग गर्छ ।
रसुवामा कुनै व्यक्तिले परिवार गुमाएको छ भने उसले घर, खेत, व्यवसाय र सामाजिक आधार पनि गुमाएको हुन सक्छ । परामर्शदाताले “कसको मृत्यु भयो ?” मात्र होइन, “तपाईंको जीवनमा अरू के–के बदलियो ?” भनेर पनि बुझ्नुपर्छ ।
केही सरल तर सहयोगी अभ्यास
पहिलो हो स्मृति–पत्र । मृतकलाई भन्न बाँकी कुरा लेख्न सकिन्छ—प्रेम, धन्यवाद, गुनासो वा माफी । पत्र पठाउनु पर्दैन । यसको उद्देश्य मनका अधुरा वाक्यलाई सुरक्षित ठाउँ दिनु हो । दोस्रो स्मृति–पेटिका हो । फोटो, पत्र, सानो वस्तु वा विशेष सम्झना राखेर परिवारले स्मृतिलाई सम्मानपूर्वक सुरक्षित गर्न सक्छ ।
तेस्रो अभ्यासलाई “शोकको तरंग” भनेर बुझाउन सकिन्छ । शोक समुद्रको छालजस्तै आउन सक्छ । कुनै गीत, मिति वा स्थानले अचानक तीव्र दुःख ल्याउन सक्छ । यस्तो बेला ढिलो सास फेर्ने, जमिनमा खुट्टाको अनुभूति गर्ने, वरिपरिका वस्तु हेर्ने, पानी पिउने र विश्वासिलो व्यक्तिलाई सम्पर्क गर्ने अभ्यास उपयोगी हुन्छ । चौथो हो दैनिक जीवनको पुनःस्थापना । नियमित खाना, पानी, निद्रा, हल्का शारीरिक गतिविधि र मानिससँग सम्पर्क मनको उपचारका सामान्य तर शक्तिशाली आधार हुन् ।
समुदायस्तरमा श्रद्धाञ्जली, सामूहिक स्मरण, वृक्षारोपण, स्मृति–पुस्तिका, धार्मिक वा सांस्कृतिक संस्कार र पुनर्निर्माणमा संयुक्त सहभागिता सहयोगी हुन सक्छन् । शोक व्यक्तिगत भए पनि निको हुने बाटो प्रायः सामाजिक हुन्छ ।
के नगर्ने ?
“अरूको त झन् ठूलो क्षति भएको छ” भनेर तुलना नगर्नुहोस् । “भगवानको इच्छा हो” भनेर आफ्नो धार्मिक व्याख्या नथोपर्नुहोस् । “अब बिर्सनुहोस्” नभन्नुहोस् । रोएकोमा कमजोर नठान्नुहोस् । विशेष गरी विपत्तिका विभत्स फोटो र भिडियो सामाजिक सञ्जालमा अनावश्यक रूपमा प्रसार गर्नु अत्यन्त असंवेदनशील हुन सक्छ । एउटा फोटो कसैका लागि समाचार हुन सक्छ, तर अर्को व्यक्तिका लागि त्यो आफ्नो बुबा, आमा, सन्तान वा जीवनसाथीको अन्तिम दृश्य हुन सक्छ ।
कहिले विशेषज्ञ सहयोग चाहिन्छ ?
यदि व्यक्तिले आत्महत्या गर्ने कुरा गर्छ, आफूलाई हानि गर्ने योजना बनाउँछ, धेरै दिनसम्म लगभग खान वा सुत्न सक्दैन, अत्यधिक मदिरा वा लागूऔषधमा निर्भर हुन थाल्छ, वास्तविकतासँग सम्पर्क गुमाउँछ वा दैनिक जीवन पूर्ण रूपमा ठप्प हुन्छ भने तत्काल विशेषज्ञ सहयोग आवश्यक हुन्छ । त्यसैगरी बालबालिका असुरक्षित भएको अवस्था, अत्यधिक हिंसात्मक व्यवहार वा लामो समयसम्म गम्भीर शोकका लक्षण कायम रहँदा मनोवैज्ञानिक वा मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
बिर्सनु होइन, नयाँ सम्बन्ध बनाउनु
शोकबाट निको हुनु भनेको मृतकलाई बिर्सनु होइन । मानिस मरेपछि सम्बन्धको भौतिक स्वरूप समाप्त हुन्छ, तर सम्बन्धको अर्थ समाप्त हुँदैन । सुरुमा सम्झनाले केवल आँसु ल्याउन सक्छ । समयसँगै त्यही सम्झनाले आँसु र कृतज्ञता दुवै ल्याउन सक्छ । William Worden ले शोकमा हानिको वास्तविकता स्वीकार गर्नु, पीडालाई अनुभव गर्नु, बदलिएको संसारमा समायोजन गर्नु र मृतकसँगको भावनात्मक सम्बन्धलाई नयाँ रूपमा जोगाउँदै अघि बढ्नु महत्त्वपूर्ण मानेका छन् । Stroebe र Schut को Dual Process Model ले पनि मानिस कहिले शोकतर्फ फर्कन्छ र कहिले जीवन पुनर्निर्माणतर्फ लाग्छ भन्ने देखाउँछ । यो आवतजावत नै प्राकृतिक हो ।
रसुवाको विपत्तिले हामीलाई एउटा महत्त्वपूर्ण पाठ दिएको छ—भौतिक पुनर्निर्माण मात्र पर्याप्त छैन । सडक, पुल र घरसँगै मानिसको निद्रा, विश्वास, सम्बन्ध, सुरक्षा, आशा र भविष्य पनि पुनर्निर्माण गर्नुपर्छ ।हामीले शोकमा रहेका मानिसलाई “बलियो बन” भनेर मात्र छोड्नु हुँदैन । कहिलेकाहीँ बलियो हुनु भनेको रुन पाउनु हो । कहिलेकाहीँ आफ्ना डर भन्न पाउनु हो । कहिलेकाहीँ सहयोग माग्नु हो । कहिलेकाहीँ चुप लागेर कसैको हात समाउनु हो ।
शोक–परामर्शको अन्तिम उद्देश्य दुःख मेटाउनु होइन । दुःखले मानिसको सम्पूर्ण जीवन कब्जा नगरोस् भन्ने हो । मृतकको सम्झनालाई सम्मान गर्दै जीवित मानिसलाई फेरि जीवनसँग जोड्नु हो । रसुवाको दुःखमा मनोविज्ञानले भन्न सक्ने सबैभन्दा मानवीय वाक्य सायद यही हो- “तपाईंलाई बिर्सन भनिएको छैन । तपाईंलाई यो पीडा एक्लै बोक्न पनि भनिएको छैन ।”

प्रतिक्रिया