डा. गोविन्दशरण उपाध्याय ।
रसुवाको बाढीले हामीलाई फेरि सम्झाएको छ – प्रकृति जब असन्तुलित हुन्छ, मानिसको योजना, सुविधा र आत्मविश्वास केही क्षणमै असहाय बन्न सक्छ । घर बगेका छन्, परिवार छुट्टिएका छन्, मानवीय क्षति भएको छ, र धेरै मानिस आफ्ना प्रियजनको खबर पर्खिरहेका छन् । यस्तो समयमा पहिलो दायित्व पीडितको दुःखमा सहभागी हुनु, सत्य सूचना प्रवाह गर्नु, राहत र उद्धारलाई सहयोग गर्नु र शोकमा रहेका परिवारको गरिमा जोगाउनु हो । तर दुर्भाग्यवश, विपत्तिसँगै अर्को अदृश्य समस्या पनि फैलिन्छ – विभत्स फोटो, शवका दृश्य, रगत, रोइरहेका मानिस र असहाय अवस्थाका भिडियोहरू सामाजिक सञ्जालमा अनियन्त्रित रूपमा फैलाउने प्रवृत्ति । हामीमध्ये धेरैले यस्तो सामग्री खराब नियतले होइन, घटना देखाउन, सचेत गराउन वा सत्य लुकाउन नदिन भनेर साझा गर्छौँ । तर राम्रो नियतले गरिएको प्रत्येक काम राम्रो परिणाम दिने छैन । कहिलेकाहीँ भलो नियतबाट पनि कमसल कर्म जन्मिन्छ ।
मनोवैज्ञानिक दृष्टिले हेर्दा, भयावह दृश्य केवल आँखाले देखिने सूचना होइन अपितु त्यो मस्तिष्कका लागि सम्भावित खतरा पनि हो । मानिसको स्नायु प्रणालीले वास्तविक र पर्दामा देखिएको संकटबीच सधैँ स्पष्ट सीमा खिच्दैन । बारम्बार रगत, शव, चिच्याहट, भग्नावशेष वा मृत्युका दृश्य देख्दा शरीरको खतरा प्रणाली सक्रिय हुन सक्छ । मुटुको धड्कन बढ्नु, शरीर काँप्नु, पेट असहज हुनु, निन्द्रा बिग्रनु, दृश्य बारम्बार सम्झनामा आउनु, समाचार हेर्न छोड्न नसक्नु, एकाग्रता कम हुनु, चिडचिडापन बढ्नु वा भविष्यप्रति असुरक्षा अनुभव हुनु यस्ता प्रतिक्रियाका सामान्य रूप हुन् । American Psychological Association ले पनि ठूलो दुर्घटना वा सामूहिक आघातसम्बन्धी समाचारको बारम्बार सम्पर्कले प्रत्यक्ष घटनास्थलमा नभएका मानिसमा समेत तनाव र मानसिक असहजता बढाउन सक्ने बताएको छ ।
यसलाई बुझ्न एउटा सरल उदाहरण पर्याप्त छ । तपाईं आफ्नो घरको शयनकक्षमा हुनुहुन्छ । ढोका बन्द छ, परिवार सुरक्षित छ, बाहिर तत्काल कुनै खतरा छैन । शरीरलाई यो ठाउँ आराम र सुरक्षाको संकेत दिनुपर्ने हो । तर त्यही बेला मोबाइल खोल्दा स्क्रिनमा बाढीले बगाएको शव, रोइरहेको बच्चा वा आफन्त खोजिरहेको परिवारको भिडियो अचानक आउँछ । दृश्य दस सेकेन्डको होला, तर त्यसले मनमा बनाएको छाप रातभर टिक्न सक्छ। त्यसपछि अर्को भिडियो, अर्को फोटो, अर्को समाचार । यसरी सबैभन्दा सुरक्षित मानिएको शयनकक्षमै हामी मनोवैज्ञानिक रूपमा विपत्तिलाई प्रवेश गराइरहेका हुन्छौँ । सञ्चार प्रविधिले भौगोलिक दूरी हटाएको छ, त्यसैले रसुवाको पीडा केही सेकेन्डमै देशको अर्को छेउको मानिसको स्नायु प्रणालीसम्म पुग्न सक्छ ।
सबै मानिस समान रूपमा प्रभावित हुँदैनन् । कसैले यस्ता दृश्य हेरेर दुःख अनुभव गर्छ र केही समयपछि सामान्य जीवनमा फर्कन्छ । तर पहिले नै चिन्ता, शोक, निद्राको समस्या, गम्भीर तनाव, पुरानो दुर्घटनाको स्मृति वा भावनात्मक संवेदनशीलता भएका व्यक्तिमा प्रभाव बढी हुन सक्छ । बालबालिका र किशोरकिशोरी विशेष रूपमा संवेदनशील हुन सक्छन्, किनकि उनीहरूले देखेको दृश्यलाई सन्दर्भमा राखेर बुझ्ने क्षमता अझै विकासको क्रममा हुन्छ । वृद्ध, विपत्तिबाट पहिले प्रभावित व्यक्ति, घटनास्थलमा आफन्त भएका परिवार र निरन्तर सामाजिक सञ्जालमा बस्ने व्यक्तिहरूमा पनि भय र अनिश्चितता तीव्र हुन सक्छ । त्यसैले मलाई त केही भएन भन्ने अनुभवलाई सबैको मानसिक क्षमताको मापदण्ड बनाउन मिल्दैन ।
यस सन्दर्भमा दोस्रो आघात वा अप्रत्यक्ष आघातको धारणा बुझ्नु पनि उपयोगी हुन्छ । सबै अप्रिय दृश्य हेरेपछि मानिसलाई मानसिक रोग लाग्छ भन्ने होइन, तर बारम्बार अरूको पीडा, मृत्यु र असहायता हेर्दा केही व्यक्तिमा घटनासँग प्रत्यक्ष नजोडिए पनि भावनात्मक बोझ बढ्न सक्छ । विशेषतः पहिले आघात भोगेका व्यक्तिमा पुराना सम्झना फेरि सक्रिय हुन सक्छन् । त्यसैले सामग्री साझा गर्ने व्यक्तिले दर्शकको मानसिक अवस्था आफूले थाहा पाउँदिनँ भन्ने विनम्रता राख्नुपर्छ । सामाजिक सञ्जालमा सामग्री पठाउँदा हामी केवल एउटा भिडियो पठाइरहेका हुँदैनौँ । हामी कसैको शयनकक्ष, परिवारको बैठक, बच्चाको मोबाइल वा शोकमा रहेको व्यक्तिको एकान्तमा एउटा दृश्य प्रवेश गराइरहेका हुन्छौँ । यही कारण संवेदनशील सामग्रीमा स्पष्ट चेतावनी राख्नु, आवश्यक नभए दृश्य नपठाउनु, मृतकको पहिचान नखुलाउनु र परिवारको गोपनीयता सम्मान गर्नु डिजिटल करुणाको न्यूनतम अभ्यास हो । करुणा केवल आँसु झार्नु होइन अपितु अरूको मनमा अनावश्यक चोट नपुर्याउने निर्णय गर्न सक्नु पनि करुणा हो ।
अर्को समस्या हो – अतिउत्सुकताको चक्र । संकटको समयमा मानिसलाई अब के भयो?, कति जना भेटिए?, अर्को बाढी आउँछ कि?, मेरो आफन्त सुरक्षित छन् कि? भन्ने प्रश्नले समाचारतिर तान्छ । मोबाइल खोल्दा केही समयका लागि जानकारी पाइन्छ, तर त्यससँगै नयाँ डर पनि थपिन्छ । त्यसपछि फेरि मोबाइल जाँचिन्छ । यही प्रक्रिया पटकपटक दोहोरिँदा सूचना खोज्ने व्यवहार स्वयं चिन्ताको इन्धन बन्न सक्छ । अनुसन्धानले विपत्तिसम्बन्धी अत्यधिक सञ्चारमाध्यम सम्पर्क र मनोवैज्ञानिक तनावबीच सम्बन्ध देखाएको छ; विशेषतः graphic सामग्री बारम्बार हेर्नु अझ कष्टकर हुन सक्छ । यही कुरा वेबसाइट र टेलिभिजनका सम्बन्धमा पनि लागु हुन्छ ।
त्यसैले प्रश्न हामीलाई सत्य देखाउन हुँदैन? भन्ने होइ न। सत्य देखाउनु र मानवीय गरिमा भंग गर्नु एउटै कुरा होइन । दुर्घटनाको जानकारी दिन शवको अनुहार देखाउनैपर्छ भन्ने छैन । बाढीको गम्भीरता बुझाउन रगत वा विखण्डित शरीर देखाउनु आवश्यक छैन । पत्रकारिता, नागरिक सूचना र सामाजिक उत्तरदायित्वको उद्देश्य मानिसलाई जानकारी दिनु हो, मानसिक रूपमा स्तब्ध बनाउनु होइन । अझ मृत व्यक्तिको फोटो परिवारको अनुमति बिना साझा गर्नु शोकमा रहेका आफन्तका लागि अर्को चोट बन्न सक्छ । एउटा परिवारले आफ्ना प्रियजनलाई व्यक्ति, पिता, आमा, छोरा वा छोरीका रूपमा सम्झिरहेको हुन्छ; सामाजिक सञ्जालले उनीहरूलाई भाइरल दृश्यमा बदलिदिँदा मानवीय गरिमा कहाँ रहन्छ?
अझ महत्त्वपूर्ण कुरा, पीडित परिवारले आफ्ना प्रियजनको मृत्युबारे आधिकारिक जानकारी पाउनुअघि नै सामाजिक सञ्जालबाट दृश्य देख्नुपर्ने अवस्था अत्यन्त अमानवीय हुन सक्छ । त्यसैले पहिले पोस्ट गर्ने होडभन्दा पहिले मान्छे सम्झिने संस्कार आवश्यक छ । सूचना ढिलो हुन सक्छ तर गरिमाको क्षति कहिलेकाहीँ फर्काउन सकिँदैन । यो कुरा हामीले सम्झनैपर्छ ।
यस्तो विपत्तिमा हामीले शेयर गर्नु नै छ भने उपयोगी कुरा शेयर गरौँ । हराइरहेका व्यक्तिको आधिकारिक विवरण, उद्धार केन्द्रको सम्पर्क, रक्तदानको आवश्यकता, सुरक्षित बाटो, मौसम वा जोखिमसम्बन्धी सरकारी सूचना, राहत सङ्कलनको प्रमाणित माध्यम, अस्पतालको जानकारी र स्वयंसेवी संस्थाका विश्वसनीय सन्देश फैलाऔँ । गलत सूचना, पुरानो भिडियो वा सनसनीपूर्ण शीर्षकले विपत्तिको समयमा डर मात्र बढाउँदैन, उद्धार र सार्वजनिक निर्णयलाई पनि प्रभावित गर्न सक्छ । त्यसैले स्रोत नखुलेको सामग्री तुरुन्त पठाउनु नागरिक सक्रियता होइन तर कहिलेकाहीँ त्यो अव्यवस्था विस्तार गर्नु हो।
मनोवैज्ञानिक प्राथमिक उपचार पनि यस्तै समयमा महत्त्वपूर्ण हुन्छ। World Health Organization का अनुसार Psychological First Aid भनेको पीडितलाई जबरजस्ती घटना सुनाउन लगाउनु होइन । सुरक्षित, सम्मानजनक र व्यावहारिक सहयोग प्रदान गर्नु हो । संकटमा परेको व्यक्तिलाई पहिले सुरक्षा, पानी, खाना, औषधि, परिवारसँग सम्पर्क, सही सूचना र सुन्ने मान्छे चाहिन्छ। बलियो बन, नरोऊ, “सबै ठीक हुन्छ जस्ता वाक्यले सधैँ मद्दत गर्दैनन् । बरु म तपाईंको कुरा सुन्न यहाँ छु, अहिले तपाईंलाई सबैभन्दा आवश्यक कुरा के हो? वा तपाईंलाई परिवारसँग सम्पर्क गराउन मद्दत गरौँ? जस्ता सरल प्रश्न उपयोगी हुन सक्छन् ।
हामी स्वयंले पनि आफ्नो मानसिक स्वास्थ्य जोगाउनुपर्छ । समाचार जान्न आवश्यक छ, तर चौबीसै घण्टा समाचारभित्र बस्न आवश्यक छैन । विश्वसनीय स्रोतबाट दिनमा निश्चित समयमा जानकारी लिनु, अनावश्यक notification बन्द गर्नु, graphic भिडियो नखोल्नु, बच्चाहरूको स्क्रिनमा यस्ता सामग्री पुग्न नदिनु, नियमित भोजन र निद्रा कायम राख्नु, परिवारसँग कुरा गर्नु र शरीरलाई सामान्य दिनचर्यामा फर्काउन प्रयास गर्नु उपयोगी हुन्छ । कुनै दृश्य मनबाट हट्न नसक्ने, धेरै दिनसम्म निन्द्रा नलाग्ने, अत्यधिक डर भइरहने, दैनिक काम गर्न नसक्ने वा निराशा गहिरिँदै जाने अवस्था भए मानसिक स्वास्थ्यकर्मीको सहयोग लिनु बुद्धिमानी हो, कमजोरी होइन ।
रसुवाको बाढी पीडितका लागि हाम्रो दुःख केवल भावुक प्रतिक्रिया भएर समाप्त हुनु हुँदैन । संवेदना उपयोगी कर्ममा रूपान्तरण हुनुपर्छ । पीडितलाई राहत चाहिएको छ, उद्धार चाहिएको छ, सुरक्षित आश्रय चाहिएको छ, विश्वसनीय सूचना चाहिएको छ, र शोक गर्ने निजी ठाउँ चाहिएको छ । उनीहरूलाई हाम्रो लाइक आवश्यक छैन । हामी कर्तव्यपारायण र सहयोगी व्यबहारको आवश्यक छ। मृतकलाई सम्मान चाहिन्छ, प्रदर्शन होइन । जीवितलाई सहयोग चाहिन्छ, सनसनी होइन ।
मोबाइलको share बटन थिच्न एक सेकेन्ड लाग्छ, तर त्यसबाट कसैको मनमा पुगेको दृश्य हटाउन महिनौँ लाग्न सक्छ । त्यसैले प्रत्येक पटक आफूलाई सोधौँ – यो सामग्री मैले साझा गर्दा कसैलाई वास्तविक सहायता पुग्छ कि केवल भय फैलिन्छ? पीडितको गरिमा जोगिन्छ कि उल्लङ्घन हुन्छ? सूचना उपयोगी छ कि केवल सनसनीपूर्ण? यही तीन प्रश्नले हाम्रो डिजिटल व्यवहारलाई मानवीय बनाउन सक्छ।
विपत्तिको समयमा जिम्मेवार नागरिक हुनु भनेको केवल घटनाप्रति दुःखी हुनु होइन अपितु आफ्नो व्यवहारले अरूको दुःख नबढाउने चेतना राख्नु पनि हो । प्रकृतिले दिएको घाउ हामी तुरुन्त निको पार्न सक्दैनौँ, तर आफ्नै असावधानीले अर्को मनोवैज्ञानिक घाउ थप्नबाट भने रोक्न सक्छौँ । त्यसैले विभत्स दृश्य होइन, उपयोगी सूचना साझा गरौँ, अफवाह होइन । प्रमाणित समाचार फैलाऔँ, प्रदर्शन होइन । सहयोग गरौँ र सम्भव भएसम्म मनोवैज्ञानिक प्राथमिक सहायता उपलब्ध गराऔँ । यही विपत्तिप्रतिको संवेदनशीलता हो, यही डिजिटल नैतिकता हो, र यही जिम्मेवार नागरिकताको परिचय हो ।

प्रतिक्रिया