जाडोयामलाई लक्षित गर्दै संघ परिवारद्वारा बाढी प्रभावित सात हजार परिवारलाई ब्ल्याङ्केट वितरण सुरु


नुवाकोट। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी दोस्रो चरणको राहत वितरण अभियान सुरु गरिएको छ। पहिलो चरणमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिएकोमा दोस्रो चरणअन्तर्गत प्रभावित परिवारलाई भाँडाकुँडा, ब्ल्याङ्केटलगायतका सामग्री उपलब्ध गराउन थालिएको हो।

सेवा इन्टरनेसनल नेपालको सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, जनजाति कल्याण आश्रम नेपाल, जनकल्याण प्रतिष्ठान नेपाल, विश्व हिन्दू परिषद् नेपाल तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहकार्यमा राहत अभियान सञ्चालन भइरहेको छ।

अभियानअन्तर्गत आज नुवाकोटको विदुर नगरपालिका–२ र ५ का बाढी प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको छ। सम्बन्धित वडा कार्यालयसँगको समन्वय तथा वडाबाट उपलब्ध गराइएको लाभग्राही सूचीका आधारमा दुवै वडाका सूचीकृत प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरण गर्ने कार्य सम्पन्न भएको हो।

बाढीका कारण प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले पहिलो चरणको खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरणपछि दोस्रो चरणको राहत अभियान अघि बढाइएको आयोजक संस्थाहरूले जनाएका छन्।