कांग्रेसको शान राख्छु, नागरिकलाई अप्ठ्यारोमा कांग्रेस छ भन्ने भरोसा दिन्छुः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । सभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘जुन विश्वासको साथ जिम्मेवारी सुम्पनु भएको छ, शिर निहुरिन दिन्न । कांग्रेसको शान राख्छु । नागरिकलाई यस्तो अप्ठ्यारोमा कांग्रेस छ भन्ने भरोसा दिन्छु । पार्टीलाई गर्व गर्न लायक बनाउँछु ।’

उनले दलहरुमा हेर्दा लोकतन्त्र देखिएपनि व्यवहारमा दलतन्त्र र गुटतन्त्र भएकाले त्यसलाई भत्काइएको बताए । उनले भने, ‘हेर्दैगर्दा लोकतन्त्र छ तर व्यवहारमा दलतन्त्र गुटतन्त्र भएकाले त्यसलाई भत्काउनु थियो भत्कियो । भुइँ तहको कार्यकर्ताले दलभित्र गरेको हस्तक्षेप हो । दल बदलिनुपर्छ भनेर भनेर आइयो, तर भएन र गरेर देखाइयो ।’

उनले अब नवनिर्वाचित समितिकाबारेमा निर्वाचन आयोगलाई जानकारी गराउने बताए । उनले निर्वाचन आयोगले विधान र हाम्रो उपस्थितिलाई हेरेर निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेसका १० लाख क्रियाशील सदस्य मध्ये ९ लाख ८० हजार आफूहरुको पक्षमा रहेको दाबी गरे ।

उनले भने, ‘निर्वाचन आयोगले विधान, विशेष महाधिवेशनलाई हेर्छ । निर्वाचन आयोगले हेरौं भनेको दिन १० लाख मध्ये ९ लाख ८० हजार एकठाउँमा उभिएनन् भने भन्ने ठाउँछ । त्यसमा ढुक्क भए हुन्छ ।’

सभापति थापाले कांग्रेस फुट्यो भनेर नसोधिदिन आग्रहसमेत गरेका छन् । उनले भने, ‘कृपया कसैले नसोधिदिनुहोला, कांग्रेस फुटेको छैन । विधानमा भएको व्यवस्था अनुसार विशेष महाधिवेशन गर्दा कसरी फुट्छ ? देउवालाई सभापति बनाउने विधान अनुसार मलाई तिनै सदस्यले सभापति बनाएका हुन् ।’

उनले कांग्रेसमा अब गुट सकिएको बताए । उनले भने,‘अब कांग्रेसमा गुट छैन । गुट सकियो । अब कांग्रेसमा छैन साठी चालीस ।’