भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपैयाँबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ७ सय ७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको छ ।
कपडाको अन्दाजी मूल्य सात लाख १२ हजार रुपैयाँ रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको उनले जानकारी दिए ।
यस्तै, रोहिणी गाउँपालिका–१ झोलुङ्गेपुल नजिक बेवारिसे अवस्थामा रहेका दुई मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य ७८ हजार ६ सय रुपैयाँ तथा मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ गरी एक लाख २८ हजार ६ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले बताए । बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया