काठमाडौँ । जेनजी अगुवा मजिद अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको फिर्ता लिने निर्णयप्रति आपत्ति जनाएका छन् ।
बुधबार महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरेपछि अन्सारीले प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न गरेका हुन् । उनले प्रश्न गरेका छन्, ’अन्तरिम नागरिक सरकारको सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंको नेतृत्वको सरकारको गठनको उद्देश्य सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्तो कसुरमा एउटा धरौटीमा थुना बाहिर रहनु भएको अभियुक्त रवि लामिछाने प्रतिवादी रहेको विचाराधीन मुद्धामा अभियोग संशोधन गर्नु सम्म थियो ? दफा ३६ बमोजिम अभियोग संशोधनको पूर्वसर्त नै थप प्रमाण फेला पर्नु हो, हिजोसम्म फेला नपरेको कुन चाहिँ थप प्रमाण माननीय महान्यायाधिवक्ताज्यूले फेला पार्नु भएको हो ?’
अन्सारीले जेनजीको बलमा तपाईँ प्रधानमन्त्री बन्नु भएको औचित्य एउटा ठगीको अभियुक्तलाई उन्मुक्ति दिलाई दण्डहीनता प्रश्रय दिनलाई सम्मबाट पुष्टि हुने हो ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘जेनजी जनआन्दोलनको बलमा तपाईं प्रधानमन्त्री बन्नु भएको औचित्य एउटा ठगीको अभियुक्तलाई उन्मुक्ति दिलाई दण्डहीनता प्रश्रय दिनलाई सम्मबाट पुष्टि हुने हो? प्रधानन्यायाधीश भइसकेको व्यक्ति नेतृत्वको अन्तरिम नागरिक सरकारले राजनीतिक नैतिकताको कसीमा आफूलाई परीक्षण नगर्ने भएतापनि कमसे कम संवैधानिक नैतिकता त मानेर जाने होला नी ?
No if no but, हिजो डिम्ब झिकी मानव अङ्ग बेचबिखन गरेको मुद्धामा होस् वा आजको निर्णय हुन्छ, यसरी अन्तरिम नागरिक सरकारलाई नै कलंक लगाउने निर्णय पटक पटक गरिरहनु भएको तपाईंले नै नियुक्त गर्नुभएको माननीय महान्यायाधिवक्तालाई कहिले पदमुक्त गर्ने ? की यो निर्णय प्रक्रियामा तपाईंको पनि संलग्नता वा सम्मति छ ?’
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् । सम्बन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै यी दुईवटा मुद्दा स्वतः फिर्ता हुने छन् । त्यसपछि लामिछानेको सहकारी ठगी प्रकरणको अभियोग मात्र बाँकी रहने छ ।

प्रतिक्रिया