महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा खाली गर्न सडक डिभिजनको अल्टिमेटम


हेटौंडा । सरकारले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु हटाउन भनेको हो । सडक डिभिजनले यसअघि घरटहरा हटाउन भन्दै दुई वर्षअघि सूचना निकालेको थियो ।

घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सडक डिभिजन कार्यालयले पटक–पटक सडक विस्तारको सूचना निकाले पनि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा यसको विरोध हुँदै आएको छ ।

यसअघि असार २०७६ मा सूचना निकालेर १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।