राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख छ ।

ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ ।

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।