ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार


बागमती । बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा  २५ लाख बराबरको कारोबार भएको छ ।

हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपवमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिए ।

स्थानीय उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको रेग्मीले बताए ।