काठमाडौँ । सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पहुँचको आधारमाभन्दा आवश्यकताका आधारमा तयार गर्न सुझाव दिएका छन् ।
संसदको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलमा सांसदहरूले कुनै मन्त्री, राजनीतिक दल वा सांसदको पहुँचका आधारमा भन्दा पनि सम्भावनाको अध्ययन गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारसँग अनुरोध गरेका हुन् ।
पूर्वअर्थमन्त्री तथा सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि ल्याउने भनिएको १९ खर्ब ६० अर्बको बजेट महत्वकाङ्क्षी बजेटमात्र हुने टिप्पणी गरे ।
उनले भने, “आगामी आर्थिक वर्षको बजेट १० खर्बको हुने भनिएको छ, त्यसका लागि स्रोत जुटाउन कठिन छ, २२ प्रतिशत विदेशी सहयोग बढाउने भनिएको छ, त्यसको पनि सम्भावना अत्यन्त न्यून छ ।” आगामी आवको बजेट परिणाममुखी, पर्यटन केन्द्रित र उत्पादन हुनुपर्ने उनको भनाइ छ ।
सांसद छिरिङ डन्डुल लामाले भने, “एउटा सरकार आउँछ, सडक कालोपत्र गर्छ, अनि अर्को सरकार आउँछ कालोपत्र गरेको एक हप्तामै हटाउँछ, फेरि अर्को सरकार आउँछ त्यसलाई भत्काएर फेरि बनाउँछ, यसरी कसरी विकास हुन्छ ?”
अब बजेट बनाउँदा दार्चुला, हुम्ला र जुम्लालगायत दुर्गम जिल्लालाई केन्द्रमा राखेर बनाउनुपर्ने उनको भनाइ छ । सांसद अक्बरबहादुर रायमाझीले आगामी बजेटबारे छलफल हुँदै गर्दा सार्वजनिक खरिद ऐनलाई परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।
सांसद सूर्य थापाले यसअघिका सरकारले आवश्यकताका आधारमा भन्दा पहुँचका आधारमा बजेट विनियोजन गरेको स्मरण गर्दै पक्षपातपूर्ण बजेट बन्नुपर्ने बताए । विशेषगरी जनतालाई केन्द्रमा राखेर रोजगारमूलक बजेट बन्नुपर्ने उनको भनाइ छ ।
सांसद नारायणी शर्माले अधुरा योजनालाई पूर्णता दिनेगरी बजेट बनाउनुपर्ने बताइन् । सांसद गङ्गा कार्कीले काठमाडौँका सडक महिनैपिच्छे बनाउने र भत्काउने किन गरिन्छ, सरकारसँग बजेट धेरै भएर हो ? भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद नारायणप्रसाद आचार्यले आगामी बजेटमा आयोजना सहर केन्द्रित मात्रै बनाउनेभन्दा आवश्यकताका अध्ययन गरेर बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया