अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह



जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गरे ।

“भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा महतले भने, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।”

उनले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताए । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उनको भनाइ थियो ।

मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिए ।

प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेस प्रदेशमा विकासले गति लिन नसकेको भन्दै सरकारले अब यहाँका सम्भावनाको सदुपयोग गर्न ठोस नीति तथा योजना बनाउन सक्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

  काठमाडौँ ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण परियोजना स्थानीयको एजेण्डा

फुङ्लिङ (ताप्लेजुङ) ।  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि

किसानलाई मौरीसहितको घार अनुदानमा

तनहुँ ।  तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ