नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह



बेइजिङ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरेका हुन् ।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, “हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।”

प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे । “नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”, चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ ।”

उनले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरे । “पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गर्नुभएको थियो भने सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको थियो, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलाको क्षेत्रमा योगदान दिनुभएको थियो”, उनले भने । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राखे ।

सो अवसरमा प्रधानमन्त्रीले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताए । नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि, भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए ।

“नेपालबाट चिया, जडीबुटी, कागती, भैँसीको मासु, कफी, अदुवालगायतका उत्पादन निर्यातको प्रचुर सम्भावना भएकाले यी वस्तुको उत्पादनमा हामीले प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री दाहालले भने, “यसका लागि हामीले प्राविधिक अवरोध न्यूनीकरण गर्दै यस्ता उत्पादन प्रशोधनका क्षेत्रमा काम गरिरहेका छौँ ।”

नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको उनले बताए  । “हामीले सन् २०१७ मा चीन सरकारसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा आबद्ध भएका छौँ, अहिले हामी कार्यान्वयनको अन्तिम तयारीमा छौँ”, उनले भने ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको क्रस बोर्डर कनेक्टिभिटी बढाउनका लागि महत्त्वपूर्ण अग्रसरता लिएको उल्लेख गर्दै आर्थिक सम्बन्धमा जोड दिइएको बताए । नेपालमा विद्युत् आपूर्ति उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै उनले नेपाल यतिबेला विद्युत् निर्यात गर्ने अवस्थामा आइपुगेको बताए ।

सो अवसरमा चीनका वाणिज्य उपमन्त्री लि फाइले नेपाल र चीन सदियौँदेखिको घनिष्ट मित्र भएको भन्दै चीनले नेपालको सदैव उन्नति र समृद्धि देख्न चाहेको बताए । उनले दुई देशबीच विभिन्न क्षेत्रमा लगानीका अधिक सम्भावना रहेकाले आपसी समृद्धि, विकास र आर्थिक उन्नतिका लागि नेपालमा लगानीका क्षेत्र पहिचान गर्नका लागि दुवै देशले सामूहिक प्रयास गर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलडिसी स्तरोन्नति असरः निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट

  काठमाडौँ । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न

गगनलाई रविको चुनौतीः मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु, नभए तपाईं छाड्ने हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले

कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर

संसदीय समिति नबन्दा संसदमा सकसः जेठ १ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले