दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’



 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण सुुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

‘पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । क्रमशः अन्य किसानलाई किसान क्रेडिट कार्ड वितरण गर्न योजनामा छौँ । तर, सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन पाउने छैनन्’, उनले भने, ‘क्रेडिट कार्डबाटै  दुई लाख खर्च गर्ने/गराउने व्यवस्था मिलाइएको छ ।

किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बीउ र उपकरण खरिद गर्न सक्ने छन् । कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तीय, प्रावधिक एवं बजार व्यवस्थापनका लागि नगरपालिकामा न्यूनतम ब्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तरगत व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने गरी किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कर्जा लिने किसानको ब्याजमध्ये सङ्घीय सरकारले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत ब्याज तिरिदिने व्यवस्था मिलाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।

‘पैसाको कारण कृषि पेशा गर्न सकिन भन्ने किसानका लागि यो कार्यक्रम ल्याइएको हो । प्रत्येक वर्षको नवीकरणमा २० प्रतिशत कर्जा रकम चुक्ता गर्दै लगिनेछ’, उनले भने, ‘पाँचौँ वर्षको अन्त्यमा सम्पूर्ण कर्जा रकम चुक्ता हुनेछ । कृषकले उक्त रकम नगदका रुपमा झिक्न पाउने छैन । क्यूआर कोड स्क्यानिङमार्फत तोकिएको एग्रोभेटलाई भुक्तानी गर्ने/गराउने व्यवस्था गरिएको छ ।’

ऋण लिएर व्यावसायिक रुपमा पशुपंक्षी पालन तथा कृषि पेशा गर्न चाहने किसानलाई आर एण्ड डि इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आइएमई बैङ्कले त्रिपक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्नेगरी दुई लाखका दरले कर्जा रकम उपलब्ध गराएसँगै नगरपालिकाले किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरेको हो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले’पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक बनेका छन् भने, कतिपयले काम नै नगरी अनुदान मात्र लिएको पाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यवसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो डिजेल र मट्टितेलको मूल्य

  काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने

काठमाडौं। थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालन

  स्वर्गद्वारी (प्यूठान) । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा

इन्द्रचोकमा तिहारको किनमेलको भीड(फोटोफिचर)

काठमाडौँको इन्द्रचोकमा बिहीबार तिहारको किनमेल गर्दै सर्वसाधारण नागरिक । तस्बिर : प्रदीपराज वन्त/रासस