नेपाली कृषि उत्पादन विश्व बजारमा पुर्याउन भारतीय पक्षलाई उदारतापूर्वक सहयोग गर्न महासंघको आग्रह



काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा महासङ्घका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का वरिष्ठ प्राध्यापक एवं नेपालसम्बन्धी जानकार महेन्द्र पी लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी रहेको महासङ्घले जनाएको छ ।

भेटका अवसरमा दुुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरूबीच क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे पनि छलफल भएको थियो ।

छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकामा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो ।

आयात/निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको महासङ्घले जनाएको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले नेपाल भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधैं  भारतीय सहयोगको अपेक्षा गरेको बताएका थिए ।

उनले दुई देशबीचको व्यापारिक नाकाको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैँची, अदुवालगायतका नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुपर्ने सुझाव दिएका थिए ।

महासङ्घले नेपाल, भारतसहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरी छिट्टै सुुझाव पेश गर्ने पनि प्रतिनिधिमण्डललाई जानकारी गराएको छ ।

‘नेडफी’का अध्यक्ष मूर्तिले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषिसम्बद्ध परियोजना स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमलाई वित्तीय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भनी अध्ययन गर्न नेपाल भ्रमणमा आएको जानकारी गराएका थिए ।

जेएनयुका वरिष्ठ प्राध्यापक लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्तरूपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरू नेपाल भ्रमणमा आएको बताएका थिए ।

आपसी भेटमा महासङ्घबाट आएका सुझावलाई आफूहरूले सम्बन्धित निकायमा–सम्बोधन गराउने कार्यमा सहयोग गर्ने उनले प्रतिबद्धतासमेत जनाएका थिए ।

उनले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाकालगायत थप अन्य नयाँ नाका खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुुझाव दिएका थिए ।

यसले ताप्लेजुङ, पाथीभरा, सिक्किमसहित त्यस क्षेत्रका अन्य जिल्लालाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राखेका थिए । भेटमा महासङ्घका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने, नेडफीका अन्य सदस्यको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि