कैलालीका किसानलाई चैते धान भित्राउन चटारो



कैलाली । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्राउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्राउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्राउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।
फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्राउनमा व्यस्त छन् ।

अधिकांश किसानलाई चैते धानबाली भित्राई बर्खे धान बाली लगाउनुपर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्राउन हतार भएको हो ।

भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ । उहाँको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ ।

‘‘पाकेर तयार भएको धान समयमा घरमा भित्राउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्राउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’’, धमलाले भने, ‘‘खेतमा पानी पसिसकेको छ ।’’ केही वर्षयता चैते धान नै यहाँको मुख्य अन्न बनेको छ ।

अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्राउने उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा अन्न जोहोका लागि लागि चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्राउनमा हतार भइरहेको उनको भनाइ छ ।

‘‘यतिखेर हामी चैते धान भित्राउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर सङ्कलन गर्न सम्भव छैन’’, धमालाले भने, ‘‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्राउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षातको पानीले धान जोगाउने गरेका छौँ ।’’ उनीहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतारमा छन् ।

चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्राउन वर्षातको समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।

छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्राइरहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्राउने गर्दछन् ।

‘‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् । जसको कम डुबान हुन्छ उनीहरु बर्खे धान पनि रोप्छन्’’, किसान अगुवा राधेश्याम चौधरी भन्छन्,‘‘जमीन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरुको अन्न भनेकै चैतमा रोपेको धान हो ।’’

यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन हतार भएको छ ।

भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्याङ्कमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् ।

‘‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग कार्यक्रम भइरहेका छन्’’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘‘बर्खे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’’

कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षातमा खेती गर्दैनन् । बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर समेत बनेको छ । बगर बनेको जमीनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको