सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह
काठमाडौं । अर्थ मन्त्रालयले आगामी बर्ष२०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।
अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो ।
छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक बर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरे ।
उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए । अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ ।
ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसंग छलफल गरेर मात्र अगाडी बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।