नेगेटिभ सर्किट ब्रेक लागेर डेढ घण्टामै शेयर कारोबार बन्द
काठमाडौं । लकडाउन सुरु भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो ।
सोही व्यवस्था अनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो । डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात् २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ ।
सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ । कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।