काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कुन ढङ्गले अझै थप योगदान पुर्याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जान जरुरी भएको बताएका छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यस तर्फ सोच्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङग्ले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुने भन्दै यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तिभर नछोड्न चलचित्रकर्मीलाई आफ्नो सुझाव रहेको बताए ।
उनले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताए ।
उनले हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि भएको स्पष्ट पारे । कार्यक्रममा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया