दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ



सुशीला रेग्मी, रामपुर (पाल्पा) । ‘हो हो हो………..चौँध भुवन सृष्टि जो गर्न आए है चर्तुमुखी बर्मा ।’ यो बालन गीत कानमा गुञ्जन थालेपछि जवानी उमेरमा बालनमा नाचेको क्षण स्मरण गर्छन्, ८५ वर्षीय बुद्धिराज भट्टराई । अझै पनि बालन गीतका शब्द र लय सुन्दा उनलाई नाँचु–नाँचु हुन्छ । उमेर ढल्कदै गएपछि भने अहिले बालनमा जोसिएर नाच्न सक्दैनन् । तैपनि उनमा बालन एक किसिमको नशाजस्तै बनेको छ ।

उनी भन्छन्, “हो हो हो……शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

दशावतार समेटिएको दक्षिण एशियाकै एकमात्रै बालन पाल्पाको रामपुरमा मात्रै देख्न पाइन्छ । यो भगवानका दशावतार रहेको बालन अहिले लोपोन्मुख छ । यहाँका रामपुरवासीले भने कला र संस्कृतिको जगेर्ना गर्दै बालन जोगाएका छन् । पहिले र अहिले भने बालनमा केही फरकपन आएको ज्येष्ठ नागरिक तथा बालनका पुराना कलाकार भट्टराईको अनुभव छ । “पहिला दर्शकलाई कसरी हसाउने भन्नेमा मात्रै जोड दिइन्थ्यो, बालनमा प्रयोग गरिने सामग्री गाउँघरमै बनाइन्थ्यो, अहिले बजारका सामान प्रयोग गरिन्छ, केही विधिमा फरकपन पाइन्छ” भट्टराई बताउँछन् ।

पहिलाको नाटकमा कथावस्तु, शिक्षा र चेतनाभन्दा पनि मनोरञ्जन मात्र प्रदान गर्ने अभियानतिर केन्द्रित थियो भने अहिलेको नाटकमा मनोरञ्जनसँगै समसामयिक विषयवस्तु, शिक्षा र चेतनातर्फ केन्द्रित भएको देखिन्छ । स्थानीय वासिन्दाले संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले २०५२ सालमा एकताबद्ध भएर धर्मोदय दशावतार बालन सांस्कृतिक समूह गठन गरेर अगाडि बढेका हुन् ।

रामपुरमा रहेको दशावतार बालन लोकनाटक सम्बन्धी डा कुसुमाकर न्यौपानेले २०६९ सालमा पुस्तक प्रकाशन गरेपछि व्यापक रुपमा चर्चा पाएको छ । सोही कृति अमेरिकामा पुरस्कृत पनि भएको थियो ।

बाल्यकालदेखि नै कथाले मागेअनुसार नै विभिन्न अभिनय गर्दै आएको बताउँछन् युवा शिव पाण्डेय । उनले विशेषगरी शिव र पार्वतीको भूमिकामा अभिनय गरेर राम्रो कलाकारको पहिचान बनाएका छन् । गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका कला र संस्कृतिको जगेर्ना पाका पुस्तासँग नयाँ ज्ञान र अनुभव बटुल्दै बालनमा सक्रियतापूर्वक लागेको पाण्डेयको भनाइ छ ।

पहिले राम्रो इतिहास बोके पनि केही वर्ष लोप भइसकेको बालन संरक्षणका लागि पुनः रामपुरवासीले जोड दिएका छन् । बुढापाकाका अनुसार बालन रातको समयमा मात्रै देखाइन्छ । विसं २०६६ देखि गाउँघरमा हुने मेला महोत्सव, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाको वार्षिकोत्सव जस्ता कार्यक्रममा दर्शकको मागअनुसार बालनको केही अंश दिउँसोको समयमा पनि देखाउन थालिएको छ ।

नेपाली साहित्यमा लोकनाटक विधाअन्र्तगत पर्ने भगवानका दशावतारमध्ये एक अवतारका लागि पूरै भाग सम्पन्न गर्न कम्तिमा पनि एक घण्टादेखि तीन घण्टाको समय लाग्ने गर्दछ । भगवानका दशावतारमध्ये मत्स्य अवतार, कूर्म अवतार, वराह अवतार, नृसिंह अवतार, वामन अवतार, परशुराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार, कल्की अवतार रहेका छन् । यी १० अवतारमा फरक–फरक पात्र गीत, अभिनय, नृत्यका माध्यमबाट नाटकमा प्रस्तुत हुने गर्दछन् ।

दशावतार बालनको पूरै कथावस्तुअनुसार नाटक प्रस्तुत गर्न तीन रातको समय लाग्छ । गाउँघरमा हुने रूद्री पुजा, सत्यनारायण पुजा, न्वारन, छैँटीमा रातभर बालन देखाउने चलन छ । यस नाटकमा अभिनय गर्ने सबै पात्र पुरूष मात्र रहनेछन् । पुरूषले कथाले मागेअनुसारका दौरा सुरूवाल, महिलाको साडी, चोलो, पटुकालगायतका विभिन्न भगवानका भेषभूषा लगाएर नाटकमा पात्रहरू प्रस्तुत हुने गर्दछन् । दशावतार बालन पौराणिक कालदेखि यहाँ चलनचल्तीमा आएको हो ।

लोकनाटक बालनमा हिन्दू धर्म ग्रन्थअनुसार भगवानका १० वटा अवतारका भगवानले गर्ने विभिन्न लिलालाई देखाइने गरिन्छ । बालन खासगरी ब्राहमण, क्षेत्री समुदायका व्यक्तिको सहभागितामा परापूर्वकालदेखि नै गाउँघरमा देखाउने गरेको इतिहास छ । मत्स्य अवतारबाट बालनको विधि सुरु हुन्छ । यसमा आठ भाइ कलाकारमध्ये चार÷चार भाइ दुई समूहमा बाँडिएर नाच्ने र एक जना महिलाको भेषमा पुरुष पात्रले लक्ष्मीको रुप धारण गरेर घर आँगन सफा, लिपपोत गर्ने जस्ता विधि देखाइन्छ ।

हो हो यो घरकी लच्छिमी लच्छिनकी रैछन्, दयेली उघारी दिन्छिन् ।
हो हो यो घरकी लच्छिमी लच्छिनकी रैछन्, आँगनी बढारी दिन्छिन् ।।
हो हो यो घरकी लच्छिमी लच्छिनकी रैछन्, आँगन लिपाइदिन्छिन् ।
हो हो यो घरकी लच्छिमी लच्छिनकी रैछन्, गुन्द्री काम्ली बिच्छ्याइदिन्छिन् ।।

लोपोन्मुख अवस्थामा रहेको दक्षिण एशियाकै एकमात्र दशावतार बालन लोकनाटकको अस्तित्व बचाई राख्न पुराना पुस्ता र नयाँ पुस्ताले तदारुकताका साथ लागेका छन् । बालन नाटक मञ्चनका समयमा देखाइने आरती भजन, भजन, चुड्का, इष्टदेव प्राथना, अतिथि स्वागत, गणेश पुजा, ब्रह्माको भुवन सृष्टि, शिवको भुवन भ्रमण, बालन जमाउने गीत, भीमसेन नाच, र ती गीतले बोल्ने शब्दले दर्शकलाई आकर्षित पार्दछ । बालनमा समावेश भएको बालन जमाउने गीतको एक अंशः

हो हो ब्रह्मा र विष्नु, महेश्वर बसी, पन्चई बालन जमाए ।
हो हो ब्रह्मा र विष्णु महेश्वररुपी, गुरुको गछौँ है ध्यान ।।
हो हो श्रीमत् भागवत्को रसै र खिची, बालनको उत्पत्ति गरे ।
हो हो बालन जमाई बियासलाई दिया, बालनको प्रारम्भ भयो ।।

उक्त गीत प्रस्तुत गरेपछि ब्रह्मा, विष्णु र शिव प्रदर्शन स्थलमा उपस्थित भए । बालन सिर्जना गर्ने भनेर तीनजना देवताले बाङ्गा लौरा टेक्दै आएर अभियन गर्न थाल्दछन् । बालनमा प्राथना शैली, संवादात्मक शैली, वर्णनात्मक शैली र आशीवर्चनमूलक शैलीको प्रयोग धेरै भेटिन्छ । यो बालन धार्मिक र शुभकार्यसित सम्बन्धित संस्कृति पनि हो ।

हिन्दू समाजमा धर्मकार्य गरेका समयमा राति जाग्राम बस्ने चलन हुन्छ । त्यसमा बालन प्रदर्शन गराउँदा कर्मकार्यमा संलग्न व्यक्तिहरुले यिनै भगवानका दृश्य देखेर आफ्नो मन भगवानतिर केन्द्रित गराउँछन् । यसो गर्दा यस्ता भक्तका मनमा भगवान प्रति भक्तिभाव जागृत भइरहन्छ । यसरी जाग्राम बसेमा धर्म आर्जन हुन्छ, अनि मोक्ष पनि भइन्छ भन्ने विश्वास छ ।

पृथ्वीलाई जोगाई राख्न भगवानले वेद बनाए । त्यो वेद सुबोध्य नभएकाले सर्वबोध्य कृति उत्पन्न गराउन ब्रह्मा, विष्णु र शिवले सल्लाह गरेर बालन नामको लोकनाटक उत्पत्ति गरे । त्यस नाटकलाई नै दशावतार बालनका नामले नामकरण गरियो । खासगरी यस नाटकमा पृथ्वीको बचाउ अभियान, सत्यकर्म असत्यकर्म गर्दा हुने फाइदा र बेफाइदा, त्रेतायुगमा भगवानले गरेका विभिन्न लिलाहरूलाई प्रस्तुुत गर्ने गरेको पाइन्छ ।

यहाँ देखाइने दशावतार बालनको लागि ३५ देखि ४० जना कलाकारले आ–आफ्नो भेषभूषामा प्रस्तुत भएर गीत, नृत्य र अभिनयका माध्यमबाट नाटकमा देखिने गरेको धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका सचिव दुर्गाप्रसाद भट्टराई बताउँछन् ।

उनी नाटकमा ऋषिमुनिको काम गर्ने जसे, रावणको बहिनी सुपर्णा खाँ लगायतका आवश्यक परेमा अन्य विभिन्न पात्रको अभिनय गर्छन् । नाटमा अभिनय गर्ने पात्रहरुलाई भूमिका अनुसार भेषभूषा, श्रृङ्गार पनि उनी आफैंले गराउँदै आएका छन् ।

बालनमा वर्णित पात्रमध्ये एकजना व्यास अर्थात निर्देशक रहन्छन् । व्यासले नाटक मञ्चन सुरुदेखि अन्तसम्म निर्देशन गरेपछि मात्र अन्य पात्रले आफ्नो भूमिका क्रमैसँग प्रस्तुत गर्ने चलन छ ।

समाजमा शिक्षा प्रदान गर्न, हिन्दु धर्म बचाई राख्नुको साथै मनोरञ्जन प्रदान गर्न र परम्परालाई धान्नका निम्ति दशावतार बालनलाई संरक्षण गर्दै देखाउने गरिएको छ । नेपालका तीन÷चार जिल्लामा छिटफुट रुपमा बालनका दश अवतारमध्ये दुई÷तीन वटा अवतारको मात्र बालन रहेपनि विधिपूर्वक दशावतार समेटिएको एक मात्र बालन रामपुरको रहेको बताइन्छ ।

पुरानो पुस्ताले थाम्दै आएको नाटक बीचको केही समय नयाँ पुस्ता नाटकमा समावेश नहुँदा लोप नै भइसकेको थियो । अहिले नाटकमा नयाँ पुस्तालाई पनि समावेश गराएपछि यसले जीवन्तता पाएको छ ।

अन्धविश्वास, रुढीवादीका कारण महिलालाई बालनमा परम्परादेखि नै अभिनयका लागि बन्देज गराइएको छ । पहिला–पहिला महिला घरबाट बाहिर निस्के, परपुरुषसँग बोले समाज र घरपरिवारमा नराम्रो सन्देश जाने गरेका कारण आजसम्म पनि पुरुषको मात्र सहभागिता रहने गरेको छ ।

बालन समूहमा पहिला पुरुष मात्रै आबद्ध रहेपनि अहिले भने समयको परिवर्तनसँगै विभिन्न कार्यक्रम गर्दा सल्लाहमा महिलालाई पनि सहभागिता गराउने गरिएको सल्लाहकार गीता पौडेल बताउँछिन् ।

“पहिला त समूहमा पुरुष मात्रै रहन्थे, हामी महिला दर्शकमा मात्रै सीमित रहन्थ्यौँ, कहाँ कसरी देखाउने केही कुरा महिलालाई जानकारी हुदैनथ्यो, फलानो ठाउँमा बालन देखाइदैछ छ भन्ने सुनेको भरमा हेर्न पुगिन्थ्यो, हिजोआज सल्लाह लिने, बालन देखाउँदा आवश्यक पर्ने पुजा सामग्री लगायतको विविधको जिम्मेवारी दिनुहुन्छ” उनले भनिन् ।

मानव सभ्यतालाई समुन्नत बनाउने यस प्रकृतिका विषयहरु समेटिएका कुरा जगेर्ना गर्दै सोधखोज गरी प्रकाशनमा ल्याउने, इतिहासका पुर्खाले गरेका योगदानहरु र उनीहरुले देखाएका समाज विकासका चित्रणहरु भावी सन्ततिले पनि अनुकरणीय रुपमा लिन सक्ने कुरा बन्ने हुनाले यस्ता संस्कृतिको संरक्षण गरिनु पर्ने लोक साहित्यका अध्येयता एवम् शहिद बहुमुखी क्याम्पस रामपुरका सहायक प्राध्यापक दयाराम भट्टराई बताउँछन् ।

उनी भन्छन्, “मानव मस्तिष्कलाई सांस्कृतिक, धार्मिक दृष्टिले सकारात्मक बनाउनका लागि लोक संस्कृतिको महत्व छ, लोक संस्कृतिको जगेर्नाका लागि यसमा सोधखोज गर्ने व्यक्ति, कलाकारको पहिचान गरी उनीहरुलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम गर्न सकियो भने एकातिर भौतिक विकास अर्कोतिर चेतनाको विकासका साथै समाज र संस्कृतिको विकास हुँदै जाँदा समुन्नत समाजको खाका आउँछ, स्थानीय सरकारले यस सम्बन्धमा गम्भीररुपमा लिएर आफ्नो खाका तयार पार्नुपर्ने हुन्छ ।”

बालनमा रहेका कलाकार पात्रले भगवानका भेषभूषा लगाएर भगवानले प्रयोग गर्ने सामग्रीसहित मञ्च स्थलभित्र प्रवेश गरेर अभिनय गर्ने गर्दछन् ।

नाटकमा देखाइने झाँकी, भगवानका विभिन्न लिला, गीत, श्लोक, नृत्यले दर्शकलाई मनोरञ्जन दिने गरेको छ । यस बालन लोकनाटक पोखरा, दोलखाको चरिकोट, पाल्पाको तानसेनलगायतका गण्डकीवेंशीका विभिन्न स्थानमा देखाउँदै आइएको छ । संस्कृति बचाउनका लागि आर्थिक रकम जुटाएर रामपुर नगरपालिका–७ को साउनेधारमा भवन निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण

दसैँमा कुन-कुन चलचित्र प्रदर्शनमा आउँदैछन् ?

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ ।