सिड्नीले तोड्यो नेपथ्यसँगको अर्को रेकर्ड



सिड्नी – नेपथ्य ब्याण्ड शनिबार सिड्नीमा तेश्रोपटक प्रस्तुत हुँदै गर्दा पनि २९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ टनाटन नै थियो ।

तर, नेपाली मनोरञ्जनका क्षेत्रमा एउटा नयाँ संभावनाको ढोका खोलेकै कारण यसपटकका यी ‘हाउसफूल दर्शक’ भने उल्लेखनीय बन्न पुगे । यी दर्शकहरु कार्यक्रम हुने बेलामा ढोका छेउ विक्री गरिने टिकटघर भएर गुज्रिएका थिएनन् । सबका सब कम्प्युटरबाटै खरिद बिक्री गरिएको टिकटबाटै उपस्थित थिए ।

संसारभर प्रतिष्ठित अन्तर्राष्ट्रिय कन्सर्टहरुमा ‘अनलाइन टिकट’ पूर्ण क्षमताका साथ अभ्यासमा आइसकेता पनि नेपाली मनोरञ्जन उद्योगमा यसको उपादेयता अझै सन्देहको घेरामा थियो । नेपथ्यको व्यवस्थापन गर्दैआएको संस्था नेपालयले भने यसप्रकारको कार्यक्रममा ‘अनलाइन टिकट’लाई नै स्थापित गर्ने प्रयास गर्दैआइरहेको थियो ।

यस्तो बेला अन्ततोगत्वा सिड्नीमा यस वर्ष नेपथ्य कन्सर्टका शतप्रतिशत टिकट ‘अनलाइन’ बाटै विक्री भएर नयाँ रेकर्ड कायम हुनपुगेको छ । अनलाइनमा राखिएको टिकट विक्रीको संकेतले कन्सर्ट सुरुहुनुभन्दा धेरै अगाडि नै कम्प्यूटरका पर्दाहरुमा ‘सोल्ड आउट’ (सबै टिकट विक्री भइसकेको) जानकारी दिइसकेको थियो ।

‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पुरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चूनौतिका रुपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं ।’

शनिबारको कन्सर्टमा पनि नेपथ्यले सिड्नीका दर्शकहरुलाई सँधैजस्तै लोकरकका भाकाहरुले तरंगीत पार्न सफल भएको छ । ब्याण्डको उपस्थितीलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबले पनि अझ स्तरिय प्रस्तुतीको प्रयास गरिएको थियो ।

यो कन्सर्टका साथ नेपथ्य अष्ट्रेलियाकै यस ब्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ प्रस्तुत भएको छ । विश्वकै प्रसिद्धतम यस सहरले पृथ्वीको दक्षिणी गोलाद्र्धमै नेपथ्यलाई सबैभन्दा बढी मायागर्ने दर्शकहरुको सहरका रुपमा पनि आफूलाई उभ्याउँदै आएको छ ।

अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो । त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए । त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ ।

त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहनपुगेका भीँडले ट्राफिक जाम हुनपुगेको थियो । त्यसपछि सन् २०१५ यता लुनापार्कको यो अडिटोरियममा नेपथ्य प्रस्तुत हुँदै आएको हो ।

नेपथ्यले पाँच पटकसम्म आफूलाई प्रस्तुत गरेको नेपालकै सहरहरुमा पनि केवल काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा र धनगढी मात्र रहेको अवस्थामा मुलुक बाहिर सिड्नी पनि बन्नपुगेको छ ।

‘सिड्नी मेरोनिम्ति आत्मीय सहर हो, जहाँ म घरमा जस्तै सर्वत्र आफूलाई माया गर्नेहरु भेटिरहेको हुन्छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अहिले भन्दा थोरै नेपालीहरु बसोबास गर्दाको पहिलो कन्सर्ट म झल्झली सम्झन्छु । यो दस वर्षको बीचमा नेपालीहरुको संख्या धेरै गुणाले बढिसकेको छ । सिड्नी मात्र नभइ विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ । तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ ।’

अमृतले यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास पनि प्रकट गरे ।

‘तपाईजस्ता तन्नेरीहरुमै म मुलुकको भविष्य देख्दैछु, जसले यता आर्जन गरेको ज्ञान र सीप बोकेर फर्कदैँ स्वदेशलाई समृद्ध बनाउनु हुनेछ,’ उनले अपिल गर्दै भने, ‘अघिल्ला पुस्ताले हाम्रा निम्ति अवसर तयार नपारिदिएता पनि हामीले आउने पुस्ताका निम्ति चाहिँ नेपालमा पर्याप्त संभावना थुपारिदिनु पर्छ ।’

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराइका दृश्यहरुले पनि यात्रा गरेका थिए । पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो । गायक अमृतले गीतको संकलनका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका तस्वीरहरुको संकलनबाटै ती दृश्यहरु निकालिएका थिए ।

‘हाम्रो मुलुक धेरै सुन्दर छ,’ गाउँदा गाउँदै बीचमा अमृत भनिरहेका थिए, ‘अर्कोपटक स्वदेश फिर्दा सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न नछुटाउनु होला । तपाइँका अष्ट्रेलियन साथीहरु छन् भने उनीहरुलाई पनि साथमा ल्याउन नभुल्नु होला ।’

नेपथ्यले यसपाला अष्ट्रेलियाको श्रृंखलावद्ध यात्राका लागि सिड्नीकै संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको छ ।

‘यो वर्ष नेपथ्यलाई हामीले निम्त्याउन पाउँदा असाध्यै गौरव महशुस भएको छ’ संस्थाका तर्फबाट यस श्रृंखलाका संयोजक दिपेश पुन भन्छन्, ‘सिड्नी बाहेकका सहरहरुको आयोजनामा सघाउने सम्पूर्ण स्थानीय आयोजकहरुलाई म धन्यवाद पनि दिन चाहन्छु ।’

सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’मा पुगेर हुनेछ ।

कन्सर्टमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।