विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या



सुनसरी । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।

सप्तकोशीपारिको एकमात्र जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकारले जानकारी दिए ।

उनले भने, “हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।” कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

“हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ”,उनले भने, “राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।”

बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए । उनले भने, “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।”

सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकरी दिए ।

उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए । उनले भने, “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन

हेटौंडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  बागमती । हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा