जल्दै गरेको महँगो खरानीमा देखिएको देउवा दम्पतीको सादगी र सुशासनको चित्र !


-नारायण गाउँले ।
एकछिन घर जलाइएका र निर्घात पिटिएका देउबा दम्पतिलाई सम्झिएँ । देउवाको तस्बीर देखेर दुःख पनि लाग्यो । मनमा कुरा खेल्यो, अकूत सम्पत्ति ब्याङ्क अकाउन्टमा राख्न सजिलो छैन । कतै न कतैबाट लिक हुन्छ, खाता आफैंमा प्रमाण हुन्छ, अर्को सरकार आउँदा छानबिन र जफत हुन सक्छ । कमाइ प्रायः क्यासमैं हुने भएकाले विदेशमा राख्न पनि आयस्रोत प्रमाणित गर्ने झन्झट नै हुन्छ । जग्गा पनि कति किन्नु ? कहाँ कहाँ किन्नु ? यसो सरसापट पनि अलिअलि त होला, धेरै दिऊँ, मन मान्दैन ।
यस्तोमा घरभित्र अन्डरग्राउण्ड कोठा नै बनाएर थन्क्याउनु र त्यसमाथिको कोठामा बेडरूम बनाउनु सबैभन्दा सजिलो देखियो होला । पैसामाथि सुत्न पाइयो । घर पनि के भन्नु र ! बिचरा सानो दरबार रहेछ ।

विदेशी डलरदेखि नेपाली रुपियाँका बण्डल त्यसरी जल्दै गरेको दृश्य साह्रै पीडादायी थियो । लगाएको एक जोर कपडाबाहेक जिन्दगीका कमाइ सबै जलेको त्यो क्षण कति मुश्किलको रह्यो होला । हिसाब नै राख्न नसकिने गरी सुन–चाँदी, हीरा र अन्य बहुमूल्य सामग्री पनि जले या कसैले लग्यो ! रोलेक्स–सोलेक्स पनि त्यो खरानीमा के बाँकी होला र ? संसद विघटन भएसँगै दुबैको तलबभत्ता पनि स्वात्तै सुक्यो ।

अलिअलि देखाउन मिल्ने जति ब्याङ्क एकाउन्टमा राखेको होला, त्यसले खान त पुग्ला । चेकसेक पनि जले कि ! अब घर बनाउने पैसा कहाँबाट आउला भन्ने पीर लाग्यो । जग्गाजमीन त होला तर लालपूर्जा त जल्यो । त्यत्रो कुटाइ खाएपछि कहाँ कहाँ थियो भन्ने पनि बिर्सिइयो होला । मालपोत पनि जलेका छन् । अब न आफूसँग प्रमाण छ, न मालपोतसँग । पूर्जा बनाउन कति गाह्रो छ देशमा । पहिले त जलेको नागरिकता नै बनाउन पर्यो । चारैतिरका साँध र सँधियारले चारकिल्ला प्रमाणित गर्न पर्छ । बुढो हिँडेर जान सक्दैनन्,गाड़ी जलिसक्यो । फेरि अब कुन सँधियारले पो प्रमाणित गर्ला र ! बरु सके यसो आली कान्लो तन्काउने काम होला । थाहा पाए आफ्नो गोठ त्यतै सार्न बेर छैन ।

हिजोसम्म राजदूत सिफारिस पाँच करोड, इन्स्पेक्टर दुई करोडड थियो होला । नियमित आम्दानी थियो । अब त्यो पनि सुक्यो । यसो भेटघाट गर्न आउनेले पनि पाउपूजा गर्दा अलिकति भेटी दिन्थे होला । अब वरदान दिने हैसियत गुमेसँगै त्यो पनि गुम्यो । केही महिना त भेट्न आउनेले पाउको साटो गालामा पूजा गर्ने डर बाँकी नै होला ।

यसो साथीभाइलाई दिएको दशबीस करोडको सानो सरसापट पनि यस्तो खुदो परेको बेला कसले तिर्ला र ? हजार रुपियाँ सापट लिनेले त पच पार्ने हजार दाउ हेर्छ, करोड करोड त कसले फिर्ता गर्ला र ! अझ फिर्ता गर्दा लेनदेन पुष्टि हुने र आफै छानबिनमा परिने डर हुन्छ । अब मैं भए पनि किन पैसा तिरेर उल्टो जेल जाने बाटो हिँड्थेँ र !

विदेशी सरसहयोग र दानापानी त भोलि साँवाब्याज तिर्न सक्नेलाई मात्रै हो । अब बुढाले दुबै तिर्ने अवस्था देखिन्न । त्यो पनि गयो जस्तो छ । ओली, प्रचण्ड या माधव नेपालजस्ता बस्दा–खाँदाका मित्रहरू पनि खासै सहयोग गर्न सक्ने ठाउँमा छैनन् । देशभरका कार्यकर्ता आफ्नै खरानी खोतल्न वाध्य छन् । तिनका घर यसरी खरानी बन्नुमा देउबाजीकै पनि अलिकति भूमिका छ । गुन तिर्न थाले भने झन् बिजोग होला । त्यो पनि गयो । सबैभन्दा पहिले त उपचारकै खर्च बेहोर्न पर्ने होला । आफ्नै गगनेले कानुन बनाएर उपचार खर्च पनि नपाइने बनाएको सुनिन्थ्यो । अब जय नेपाल भन्दै को पो तिर्न आउला र !

सड़कमैं पो आइपुगियो कि क्या हो ! चिन्ता पनि कति लिनु ! अँ, फर्केर जान आफ्नो घर छैन । हिजोको घरभित्र त्यति धेरै क्यास कसरी आयो भन्नेबारे यसो इन्टरभ्यू लिन र अदालततिर गफगाफ गर्न मामाघरमैँ बोलाउँदा पो कल्याण होला । दशैँको बेला मामाघर जाने हाम्रो संस्कार र संस्कृति नै हो ! कुनै पनि हिंसा खेदजनक हो ! त्यो जल्दै गरेको महँगो खरानीमा देखिएको देउवा दम्पतीको सादगी र सुशासनको चित्र पनि खेदजनक नै हो !