आपसमै लडेर, कुनै ठोस योजना र रोडम्याप नभएको जस्तो देखियो जेनजी


-नारायण गाउँले । 

प्रिय जेन–जी,
देशभरका खुङ्खार अपराधी र कैदी यतिबेला खुला सड़कमा छन् । क्रूर बलात्कार होस् कि एसिड आक्रमण होस्, हत्या होस् कि भ्रष्टाचार । एउटा अपराधीलाई न्यायिक प्रक्रियाबाट जेलसम्म पुर्याउन बर्सौं लाग्छ । पीडि़तले दर्जनौँ ठाउँमा बयान दिन पर्छ, अपमानित र भयभीत हुनुपर्छ, हारगुहार गर्न पर्छ ।

प्रहरीले अनुसन्धान गर्न, प्रमाण जुटाउन र मुद्दा अभियोजन गर्न लामो समय, साधनस्रोत र खर्च लाग्छ । कहिले त इन्टरपोलसम्म पुग्न पर्छ । कति अपराधी त प्रमाण नपुगेर छुट्छन् । कतिलाई राजनैतिक संरक्षणले गर्दा मुद्दा नै दर्ता हुँदैन । अदालतमा मुद्दाको अन्तिम फैसला हुन सरदर ३ वर्ष लाग्छ । बल्ल बल्ल एउटा अपराधी जेल पुग्छ र पीडितले अलिकति शान्तिको सास फेर्न पाउँछन् । एउटा अपराधीका लागि प्रहरीदेखि सरकारी वकिल, न्यायालय र जेल प्रशासनसम्मको खर्च जोड्ने हो भने राज्यको धेरै ठूलो साधनस्रोत, समय र ऊर्जा खर्च हुन्छ । पीडि़तको त कुरै नगरौँ ।

आज देशभर दश हजारभन्दा बढी कैदी जेलबाट बाहिर निस्केका छन् । ती भागेको नभई शानसँग हात हल्लाउँदै बाहिर आएको भिडियो हेर्न पाइन्छ । फर्केका केही कैदीहरू लूटपाट र चोरी डकैतीजस्ता कम साङ्घातिक अपराध र कम समय मात्रै जेल परेकाहरू छन् । कतिले अर्को अपराध गरिसकेका खबर आउन थाले । यसले पीडि़त र सिङ्गो समाजलाई कति आतङ्कित र भयभीत बनाएको होला, अनुमान मात्रै गर्न सकिन्छ । यो भयले लामो समयसम्म आम सर्वसाधारण र आउने सरकार दुबैलाई सताई रहनेछ । दशौं वर्षको न्यायिक कसरत ध्वस्त भएको छ । अदालतका सर्भर, मिसिल र रेकर्डहरू सबै जलेका छन् । न्यायका हिसाबले देश शून्यमा पुगेको दुःखद स्थिति छ ।

जेन–जीका वक्तव्यहरू पढ्दा जेलमा आक्रमण गर्ने आफ्नो योजना नरहेको भन्ने बुझिन्छ । अदालत पनि तपाईंहरूको टार्गेट थिएन भन्ने दाबी सुनिन्छ । यो जेल र अदालत ताकेर आगो लगाउने काम कसले गर्यो होला ? कुन शक्ति होला यसका पछाडि ? देश यसरी बन्छ भन्ने योजना होला कि, सानो स्वार्थ र हावाकै भरमा यति ठूलो दुष्कर्म भयो होला ? समाज र राजनीतिमा खुला हिँडिरहेका अपराधीलाई समेत खोरमा पठाउने उद्देश्यले आन्दोलन सुरु भएको थियो । खोरभित्रका अपराधी कसरी उम्किने स्थिति बन्यो होला ?

कुनै शत्रु देशले हमला गर्दा पनि अदालत, जेल, स्कुल र हस्पिटललाई रेड लाइन मानिन्छ । त्यहाँ आक्रमण गर्नु युद्धको नियमविपरीत मानिन्छ । देशभर अदालत र सरकारी अड्डा ताकेर भएको आक्रमण या आन्दोलनलाई कुन रूपमा लिने होला ? यत्रो दुई थरी पुलिस, सेना, गुप्तचरको खर्च केका लागि ?

अन्तरिम प्रधानमन्त्री को बन्छ भन्ने ठूलो कुरो होइन, एकजनामा सहमति जुट्ला । जनताको जिउधन र शान्तिसुरक्षा ठूलो कुरो हो । के जेन–जीले यो अपराधको निष्पक्ष छानबिन गर्ला ? यसमा आफ्नोतर्फबाट भएका गल्ती र कमजोरीको आत्मालोचना र तत्काल सुधारका काम गर्ला ? घूसपैठ गर्ने तत्वको पहिचान गरेर न्यायिक कठघरामा ल्याउला ? समृद्ध राज्य त सबैलाई चाहिन्छ, तर कानुनी राज्य त नभई हुँदैन । यसका लागि पनि छिटोभन्दा छिटो यो राज्य–शून्यता एउटा निष्कर्षमा पुग्नु जरूरी छ । यदि ती सबै आक्रमण तपाईंका कार्यक्रम थिएनन् भने यो सङ्क्रमणलाई जति लामो बनाउनुहुन्छ, त्यति नै त्यस्ता तत्त्व सलबलाउँदै जानेछन् । किनकि तपाईंको आन्दोलनको दोस्रो दिन नै यो स्तरको घूसपैठ भयो भने सोच्नुस् त अब के होला ? आपसमैँ लडेर, विभाजित भएर, कुनै ठोस योजना र रोडम्याप नभएको जस्तो देखाएर त तपाईंहरूले आफू, आफ्नो आन्दोलन र यो देश सबैलाई अन्धकार भविष्यतर्फ डोर्याउने जस्तो देखिन्छ । क्षति भन्ने कुरा पछि पूर्ति गर्दै जाने हो । आज जे माग्नुभएको थियो, त्यो पाइएको छ । अब अरू कसैले खोस्नुअघि यसलाई सम्हाल्ने जिम्मा पनि तपाईंहरूकै हो ! देश त तपाईं हामी दुबैको हो ।