अयातुल्लाहको आइडियोलोजीले अडिएला त इरान ?
-नारायण गाउँले ।
राजतन्त्र या लोकतन्त्र भएको भए इरान आज विश्वकै समृद्ध देशमध्ये एक हुनुपर्ने हो । पर्सियन इतिहास, कला, सभ्यता र भाषामात्रै होइन, भौगोलिक अवस्थिति र प्राकृतिक संशाधनमा पनि इरान निकै समृद्ध र महत्त्वपूर्ण देश हो । इरानसँग इजरायलमात्रै होइन, छिमेकी अरब देशहरू पनि सशङ्कित हुनुको मुख्य कारण उसको ‘कट्टर धार्मिक विचार र शासन’ नै हो ।
इरानमा धार्मिक शासन हुनु आफैमा समस्या होइन, तर त्यो आइडियोलोजीलाई अन्य देशमा समेत निर्यात गर्ने र सशस्त्र समूहहरू खडा गर्ने उसको अभ्याससँग सबै डराएका छन् । इरानले इराक, लेबनान, यमन, प्यालेस्टाइन, सिरिया, पाकिस्तान जस्ता देशमा ‘मिलिटरी ग्रुप’ नै खड़ा गरेर, हतियार सप्लाई गरेर र प्रशिक्षण दिएर ती देशलाई अस्थिर बनाउनेदेखि त्यहाँका सरकारलाई नै पङ्गू बनाउने काम गर्दै आएको छ । इराकमा मात्रै एक लाखभन्दा बढ़ी इरानी प्रोक्सी लड़ाकू रहेका छन् ।
यमनमा त इरानी प्रोक्सीका कारण देश नै विभाजन हुने स्थितिमा छ । लेबनानमा सेना र सरकार त छ तर पङ्गूजस्तै छ ।
इराकले त त्यो विचारधारा आफ्नो देशमा समेत लाद्न खोजेको भन्दै आठ वर्षसम्म युद्ध नै गर्यो । सिरियाले अस्सादको सत्तापलटभन्दा पनि इरानी प्रभुत्वबाट मुक्ति पाएको भन्दै खुशी मनायो । पाकिस्तानले यस्तो सङ्कटको बेला सीमा बन्द गरेको छ । अर्को क्षेत्रीय शक्ति साउदी अरब यही विचारधाराकै कारण दुश्मनजस्तो छ । जहाँ जहाँ इरानी प्रोक्सी छन्, त्यहाँ भयङ्कर गृहयुद्ध, बाह्य युद्ध र अशान्ति छ ।
सबै शक्तिशाली देशले आफ्नो प्रभुत्व विस्तार गर्न चाहन्छन् । वैचारिक, सांस्कृतिक, आर्थिक उपनिवेश विश्वभर छ । तर इरानले छिमेकी देशमा सैन्य समूह नै खड़ा गरेर, तिनलाई रकेटदेखि ब्यालेस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियार दिएर जुन प्रभुत्व विस्तारको अभ्यास गर्दै आएको छ, त्यो निकै खतरनाक देखिन्छ । सशस्त्र समूहलाई समर्थन गर्नु र हतियार नै दिनुमा पनि ठूलो फरक हुन्छ । विभिन्न देशमा रहेका त्यस्ता प्रोक्सीलाई इरानको ‘रिंग अफ डिफेन्स’ पनि मानिन्छ र तिनको अन्तिम घोषित उद्देश्य इस्लामिक धार्मिक राज्य निर्माण गर्नु नै हो ।
अहिले धेरै देशसँग आणविक हतियार छ । इरानसँग हुनेबित्तिकै पृथ्वी विनाश हुने भन्ने होइन । तर निरङ्कुश नै भए पनि आणविक देशसँग सरकार छ । स्पष्ट कानुन र पद्धति छ । पुटिन, मोदी या डोनाल्ड ट्रम्पले एकल निर्णय गरेर आणविक हतियार प्रयोग हुँदैन । डिसिजन मेकिंगको एउटा संरचना छ । तिनले विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
इरानसँग धार्मिक सर्वोच्चता भएकाले एकल व्यक्तिको डिसिजन हुने अवस्था छ । तर खास डरचाहिँ हमास, हुथी, हिजबुल्ला या थुप्रै इराकी सैन्य ग्रुपसम्म त्यस्तो आणविक हतियार पुग्न सक्ने भन्ने हो । ती ग्रुपसम्म पुग्यो भने के हुन्छ, भन्न परेन । यसअघि इरानले अत्याधुनिक मिसाइल र प्रविधि तिनलाई दिँदै आएकाले पनि यो डर बढेको हो । इरानसँग आणविक हतियार भएमा त्यसकै बलमा कट्टर धार्मिक आइडियोलोजीको विस्तार हुने र शक्ति सन्तुलन बिग्रने डर छिमेकी देशलाई छ ।
इजरायलले त अस्तित्वको सङ्कट नै मानेर अहिले ‘ग्याम्बल’ गरेको बताइन्छ । इजरायल मध्यपूर्वको ’क्यान्सर’ भएकाले त्यसलाई काटेर फाल्न पर्ने अभिव्यक्ति सर्वोच्च नेताले दिँदै आएका छन् । नक्साबाटै हटाउने उद्देश्य रहेको तिनैले बताउँछन् । यसैले इजरायलले यो आक्रमणलाई ’सेल्फ डिफेन्स’ भनेको हो । इजरायल वर्सौंदेखि इरानसँग अप्रत्यक्ष युद्धमैं छ । हमास होस् या हिजबुल्ला, इरानकै प्रोक्सी हुन् । यस्ता प्रोक्सी पाल्न इरानले ठूलो खर्च गर्छ र गोप्य भएकाले यसमा ठूलो भ्रष्टाचार पनि हुन्छ ।
इरानसँग इजरायलजत्तिकै सैन्य बल छ । सैनिक सङ्ख्या त तेब्बरजस्तै छ । आमनेसामने लड्ने हो भने एक इन्च भूमि कब्जा गर्न पनि इजरायललाई सजिलो छैन । तर त्यत्रो युद्धपोत, सैन्यबल, ट्याङ्क र हतियार भएर पनि इरान आत्मसमर्पणको स्थितिमा आइपुगेको छ ।
लड्दै नलडी युद्ध हार्ने अवस्था छ । देशका सबै जसो उच्च सैनिक कमाण्डर मारिएका छन् । मिसाइल भण्डार र लन्चर ध्वस्त भएका छन् । देशको आकाशमा शत्रुको जहाज निर्वाध घुम्दै छन् । आन्तरिक भ्रष्टाचार र दमनले गर्दा देशका सबै महत्त्वपूर्ण सूचना बेचिएका छन् । ट्याटु बनाएको आरोपमा, ड्रोन प्रयोग गरेर महिलालाई अलिकति कम कपड़ा लगाएको अपराधमा समेत मृत्युदण्ड दिने कट्टर शासनसँग जनमत पनि छैन । तेल र ग्यासलगायत पूर्वाधार र सुरक्षामा ठूलो क्षति पुगेको छ ।
इजरायल ध्वस्त बनाउन पुग्ने मिसाइल त छ तर एकै साथ लन्च गर्ने क्षमता छैन । मिसाइल पनि पर्सियन गल्फदेखि जोर्डनसम्मका अमेरिकी डिफेन्स नाघेर इजरायल पुग्न पर्छ । हानेकामध्ये केही मात्रै ठाउँमा पुग्छन् । इजरायल आफैमा प्रविधिको उच्चतम बिन्दुमा छ । त्यसमाथि पश्चिमी देशका हातहतियार छन् । इरान लामो नाकाबन्दी र चरम भ्रष्टाचारले त्यसै कमजोर छ, त्यसमाथि ऊ एक्लो जस्तो छ । एक्लै भए पनि विश्वभरका शक्तिसँग ऊ लड्दै छ । इजरायलमा पनि ठूलो क्षति पुगेको छ तर त्यो निर्णायक हुन सकेको छैन । शायद सबैले यसभन्दा बढ़ी क्षतिको अनुमान गरेका थिए ।
इजरायलले एरियल ताकत देखाए पनि भूमिगत भनिएको आणविक केन्द्रसम्म सैनिक उतार्न या कब्जा गर्न सक्दैन । अमेरिकालाई जबर्जस्ती युद्धमा तान्ने र त्यो केन्द्र उडाउने योजना इजरायलको देखिन्छ । यस्तो हुँदा यो द्वन्द्व द्विपक्षीय नरहने डर छ । तैपनि आक्रामक वक्तव्यबाहेक अमेरिकाविरुद्ध अर्को देश अहिले नै उत्रिने संभावना छैन । इजरायल इरानको सत्ता नै परिवर्तन होस् भन्ने चाहन्छ । अमेरिकाले निःशर्त आत्मसमर्पण गर्न भनेको छ । रसियाले प्रशोधित युरेनियम जिम्मा लिने र मध्यस्थता गर्ने प्रस्ताव गरेको छ । केही दिनभित्रै आणविक साइटमा अमेरिकी बम खस्ने या इरानले युरेनियम बुझाउन सहमत हुने सम्भावना छ । इरानको हतियार र ग्रीनलाइटमा हमासले हजार बढी निर्दोष र निहत्था नागरिकको निर्मम हत्या गरेको थियो । हाम्रा नैपाली विद्यार्थी पनि मारिएका थिए । अझै एक जना बन्दी छन् । त्यसपछि हमासविरुद्ध भन्दै सुरु भएको इजरायली आक्रमणमा हजारौं निर्दोष बालबालिका र नागरिकको अमानवीय हत्या हुँदै आएको छ । गाजाको अवस्था हृदयविदारक छ । इरान–इजरायल युद्ध जुन निष्कर्षमा पुगेर रोकिए पनि गाजामा बम खस्न बन्द भए हुन्थ्यो । तपाईंको अनुमान के छ ?