मानसिक स्वास्थ्य अर्थात् चित्त–शुद्धि



डा. गोविन्दशरण उपाध्याय ।

१. आज विश्व मानसिक स्वास्थ्य दिवस हो । नेपाली र भारतीयहरूलले “विश्व मानसिक दिवसको हार्दिक शुभकामना“ भन्दै संदेश प्रवाहित गरिरहेका छन् । मैले आफैसंग प्रश्न गरें – के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो ? उत्तर आ–आफ्नै हुन्छन् । मनोबैज्ञानिक र मनोचिकित्सकका लागि आजको दिन आफ्ना अनुसन्धानहरू, कार्यहरू तथा योजनाहरू प्रस्तुत गर्ने दिन हुनसक्छ तर मानसिक रोगीहरूका लागि महोत्सवको विषय हुनैसक्दैन । हो, मानसिक रोग प्रतिको संचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ । नेपालजस्तो देशमा यो सजिलो छैन ।

२. मानसिक स्वास्थ्य भन्नाले “मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन“ भनेर बुझ्न विश्व स्वास्थ्य संस्थाले आग्रह गरेको छ । जव कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वतः प्रभावित हुन थाल्छन् । वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संस्थाले “होलेस्टिक हेल्थ“ भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई “तापत्रय“ आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो । भौतिकभित्र शरीरक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता बुझ्ने प्रयत्न गरिएको छ । यहाँ “ताप“ शब्दलाई मानसिकअर्थमा पश्चाताप भनेर बुझ्नुपर्छ, भौतिक अर्थमा शारीरिक सन्ताप र भनेर बुझ्नुपर्छ भने आध्यात्मिक अर्थमा “ताप“का रूपमा बुझ्नुपर्छ ।

३. भौतिक विज्ञानले आफ्नो विकाससंगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक समस्याहरू थपिदिएको छ । विज्ञानको चमत्कारिक विकासले मान्छेमा भौतिक सुख प्राप्त गर्ने “महत्वाकांक्षी“ मनको विकास भएको छ । तर विज्ञान महङ्गो हो । सबैका लागि त्यो सुलभ छैन । पैसोको जोहो गर्न नसक्नेहरूले विज्ञानबाट लाभान्वित हुन सक्दैनन् । विश्वको हरेक वस्तु “क्यापिटल“मा रुपान्तरित भएको छ । आजको मान्छेको जन्म, मृत्यु, जीवनकाल र बुढ्यौली समेत “पैसो“को विषय बनेको छ । यदि तपाईंसंग पैसो छैन भने बाँच्ने र जिउने अधिकार रहन्न । तपाईं यदि जीवित हुनुहुन्छ त्यसको अर्थ हो तपाईंका लागि कसैले (ट्याक्स) खर्च गरिरहेको छ । यस्तो अवस्थामा “आर्थिक असुरक्षा“ले मानिसमा मानसिक समस्या बढाउँछ । विश्व “क्यापिटल“जन्य मानसिक रोगले पिडित छ ।

४. “क्यापिटल“ विश्वको मानव–समाजलाई क्यापिटलमा रुपान्तरित गर्ने अपराध को–कसले गरेका हुन् ? मनोबैज्ञानिकहरूले खोज गरूँन् तर पाश्चात्य शिक्षा दीक्षाबाट विकसित भएका “साइकोलोजिस्ट“हरूले माथिल्लो हरफलाई बुझेर न्याय गर्ने छन् ? सजिलो छैन । यिनको कुनै दोष छैन किनभने क्यापिटलको एउटा अङ्ग बनिसकेको हाम्रो “मानसिक व्यबस्था“मा क्यापिटल वाहिर गएर बुझ्ने कुनै अवस्था नै छैन । हरहमेशा “क्यापिटल“प्राप्तिलाई मात्र सफलता ठान्ने “मानसिक तन्त्र“मा मानसिक स्वास्थ्यका अनेकौं समस्याहरू देखिनु स्वाभाविक ठान्छु । जतिजति मान्छेको सफलता भनेकै “क्यापिटल प्राप्ति“ हो भन्ने प्रतिमान स्थापित हुँदैजान्छ, मान्छेमा मानसिक समस्याहरू पनि बढ्दै जान्छ । क्यापिटल प्राप्त गरेकाहरू अधिकतम भौतिक वस्तुहरूबाट सुख प्राप्त गर्ने लिगलिगे दौडका कारण मानसिक सन्तापले भरिन्छन् भने “क्यापिटल“ प्राप्त गर्न नसक्नेहरू यसैलाई असफलता मानेर मानसिक रूपमा पश्चाताप ग्रस्त हुन्छन् । अहिलेको विश्व यसरी नै दौडीरहेको छ ।

५. यो वर्ष “सबैको लागि मानसिक स्वास्थ्य“ भन्ने नारा तोकिएको छ । सुन्दा राम्रो लागे पनि युक्रेन–रसीया युद्ध चलिरहेको छ । कोरोनाबाट मान्छेहरू राम्ररी तंग्रिन पाएको छैन समाज तर एस्तो अवस्थामा “सबैको लागि मानसिक स्वास्थ्य“ एउटा अत्यन्त महत्वाकांक्षी नारा हुन्छ । युक्रेनको युद्ध होस् वा कोरोनाको कहर अमेरिकी र युरोपेली औषधि तथा हतियार कम्पनीहरूको भाउ बढेको छ । अर्कोतिर अमेरिकाले डलरमा व्याज थपेर विश्वैकतहको “क्यापिटल“लाई महँगो बनाएको छ । हामी नेपाली कै सवालमा कुरा गर्ने हो भने गतवर्षको तुलनामा हरेक नेपालीको घरमा ३०–३४% महंगी बढेको छ । कुरा फेरी पनि “क्यापिटल“कै हो । राज्यको ढुकुटीमा जानेका राजनैतिक नेतृत्व र जनताको गोजीबाट महंगाईको भरपाई गर्ने व्यापारीहरूको “मानसिक स्वास्थ्य“मा कुनै असर नपर्ला तर आम नेपालीका लागि “सबैका लागि मानसिक स्वास्थ्य“ टाढाको फल आँखातरी मर“ झैं भएको छ ।

६. असलमा मानसिक स्वास्थ्य शब्द र यसले प्रदान गर्ने निकास नै अपूर्ण छ । मन चित्तको एउटा अंशमात्र हो । “चित्त“को निर्माणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक सबै प्रकारका भोगाईको योगदान हुन्छ । मनले मन अर्थात् माइन्ड शब्दले केवल भावनात्मक र बौद्धिक क्रियालाई प्रतिनिधित्व गर्छ तर चित्तभित्र शारीरिक, मानसिक तथा आध्यात्मिकतहका क्रियात्मक पक्ष समेत समेटिएका हुन्छन् । त्यसैले सम्पूर्ण मानसिक स्वास्थ्य (स्वस्थचित्त) प्राप्तिका लागि चित्त–शुद्धिको आवश्यकता पर्छ । चित्त–शुद्धि त्यो क्रिया वा सैद्धान्तिक अवधारणा जसले भौतिक (शरीर) दैविक (मानसिक) तथा आध्यात्मिक (अस्तित्व) सम्बन्धि समस्याहरू समाधान भएपछि प्राप्त हुन्छ । चित्त–शुद्धि अन्तर्गत काम, क्रोध, लोभ, मोह, ममताआदिको संयमित उपयोगको अभ्यास गराइन्छ ।

७. चित्त–शुद्धिको अबधारणाले भन्छ – मान्छेले प्रकृतिसंग बढी समन्वय गर्दै जीवनयात्रा गर्नुपर्छ । सुख, सन्तोष, आनन्द तथा पूर्णता जीवनको लागि अनिवार्य लक्ष हुनुपर्छ तर यी लक्षहरू केवल भौतिक वस्तुले प्राप्त मानसिक सन्तुष्टिबाट प्राप्त हुन्छ भनेर सोच्नु पूर्वाग्रह हो । आधुनिक साइकोलोजीले यो तत्थ्य बल्ल बुझ्न आरम्भ गरेको छ । ऋषि शुकदेवले भनेका छन् “इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यतिनै नयाँ सुखको लागि व्याकुल हुने छन् । चित्त–शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ । इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु । दुर्भाग्यवस, आजको मनोविज्ञानले चित्तलाई पनि “क्यापिटल“जस्तै व्यबहार गर्छ ।

८. चित्त–शुद्ध भएपछि चित्त शान्त हुन्छ । चित्त प्रसन्न हुन्छ । चित्त दुख्न, बल्न, घुम्न छोड्छ । एउटा कुरा पक्का हो “क्यापिटल“को एउटा मोहरा बनाउने आधुनिक शिक्षा प्रणालीमा चुर्लुम्म डुबेको हामीजस्तो मनुवाले यो तत्थ्य बुझ्न सक्दैनौं किनभने क्यापिटलले “आमाको प्रेम, बहिनीको माया, श्रीमतीको सहृदयीपन र साथीभाईको मिठासमा समेत “कम्पिटिशन“ र स्वार्थ देख्छ । हो, निस्वार्थ त्यति सजिलो छैन तर स्वार्थको मात्र न्यून बनाउने कामचाहिं चित्त–शुद्धिको क्रियाले गर्न सक्छ । एक पटक आफूतिर फर्केर मूल्यांकन गरौँ – के आजको तमाम मानसिक तनाव, चिन्ता, डर, उदासीपनजस्ता मानसिक अवस्थाहरू हाम्रो स्वार्थ र तेसको आपूर्तिमा हामीले आर्जन गर्ने “क्यापिटल“को हात छैन त ? अवश्य छ ।

९. जवसम्म हामीले स–सानो उपलब्धिमा वा यथास्थितिको अवसरलाई प्रसन्नता र खुसीका रूपमा अंगिकार गर्दैनौं, मानसिक स्वास्थ्य पनि कसैको क्यापिटल प्राप्त गर्ने एउटा मार्केटिंग विधि बाहेक केही हुने छैन । हामी प्रसन्न रहनका लागि आफ्नो मौलिक संस्कृति, सभ्यता तथा चालचलनमा रम्न सक्नु पर्छ । ससानो खुसीका अवसरहरूलाई खुशी हुने उत्सव बनाउन सक्नुपर्छ भने उपलब्ध साधनहरूलाई प्रयोग गरेर अधिकतम शारीरिक सन्तोषको बाटोमा हिड्नु पर्छ । क्यापिटल आजको आवश्यकता हो, सबैलाई चाहिन्छ तर आमाको माया, बाबुको प्रेम, साथीको न्यानोपन तथा मायालुको मायालाई समेत “क्यापिटल“मा रुपान्तरित गर्ने संस्कारले हामी खुसी हुनै सक्दैनौं । त्यसैले चित्त शुद्धिको अभ्यास गरौँ, चित्त खुसी भयो भने हामी सबैको चित्त बुझ्छ । चित्त बुझ्नुको अर्थ हो – हामी शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ छौँ । मनोचिकित्सक प्राडा Ajay Risal रिसालले गीता पढेर बुझेको मानसिक स्वास्थ्य पनि यही हो भन्ने मैले अनुमान गरेको छु ।
–हामी सबैको भलो होस् (स्वस्तिअस्तु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष