भ्लादिमिर पुटिनः सोभियत गुप्तचर संगठनको मेजरदेखि रूसको राष्ट्रपतिसम्म



केशवप्रसाद भट्टराई ।
१. पुटिनका व्यक्तित्व निर्माणका वर्षहरू –
सन् १९५२मा जन्मिएका भ्लादिमिर पुटिन सेन्ट पिट्सबर्गको एउटा कारखानाका श्रमिक सुपरभाइजरका एक्ला सन्तान हुन् । १९०७०मा उनी तत्कालीन लेनिनग्राद विश्व विद्यालयमा कानुन अध्ययन गर्न भर्ना भएका थिए । वास्तवमा विश्वविद्यालयको उक्त कानुन विभाग तत्कालीन सोभियत संघको गुप्तचर संगठन –केजिबी , प्रहरी र प्रशासन सेवाको लागि प्रशिक्षण केन्द्र जस्तै थियो । कानुनको अध्ययन पुरा नहुँदै उनलाई केजिबीले आफ्नो एजेन्ट मा नियुक्त गर्यो। लेनिनग्रादमा विदेशीहरूको गतिविधिबारे सूचना संकलनगर्ने भूमिकामा केही वर्ष काम गरे पछि उनलाई सोभियत संघको प्रतिष्ठित वाह्य गुप्तचरी सम्बन्धी प्रशिक्ष्गन प्रतिष्ठानमा लगियो । त्यस पछि उनलाई पूर्वी जर्मनी खटाइयो । सोभियत युगमा पूर्वी जर्मनी एक किसिमले सोभियत नियन्त्रणमा मात्र नभएर सोभियत भूमि बराबर नै थियो ।

करिव चार लाख सोभियत सेना तैनाथ थियो पूर्वी जर्मनीमा । हजारौँको संख्यामा पश्चिम युरोप लक्षित मध्यम दूरीका मारक क्षेप्याश्त्रहरू समेत तैनाथ थिए । बर्लिन शीत युद्धकालीन घातक गुप्तचरी, षड्यन्त्र र तनावको केन्द्र थियो । पुटिन पूर्वी जर्मनीको गुप्तचार संगठनसँग सहकार्य गर्दै आफ्नो काम गर्न लागे ।

त्यहाँ पुटिनको मूल जिम्मेवारी भनेको केजिबीका लागि एजेन्टहरू छनौट, प्रशिक्षण र नियुक्त गर्नु र उनीहरु मार्फत पश्चिमी उद्योग र प्रतिष्ठानहरूद्वारा उपयोगमा ल्याइएका उपकरणहरू, उत्पादित सामग्रीहरूमा प्रयुक्त आधुनिक प्रविधिहरूको चोरी र संकलन थियो । पूर्वी जर्मनीका सेवा निवृत्त सेना र प्रहरीहरूलाई नै केजिबीका स्थानीय एजेन्टमा नियुक्त गरेर पूर्वी जर्मनीकै अधिकारीहरूमाथि गुप्तचरी गराएकोमा पूर्वी जर्मनीको गुप्तचर संगठनको ड्रेसड्रेन शाखाका प्रमुख मे.ज. होर्स्ट बोह्मले केजिबीका ड्रेसडेन प्रमुख जनरल भ्लादिमिर शिरोकोभलाई आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखेको पत्र सोभियत संघको पतनपछि सार्वजनिक भएका गोप्य कागजातहरूमा उल्लेख भएकोबारे रूसबाट प्रकाशित मस्को टाइम्स र अमेरिकी दैनिक वाशिंगटन पोस्टमा प्रकाशित थियो ।

स्मरणीय छ–औपचारिक रूपमा पुटिन पूर्वी जर्मनीमा सोभियत –जर्मन मैत्री गृह संचालत गर्दथे र त्यसको अवरणमा गुप्तचरी संजाल । एउटा कुराबारे स्पष्ट हुनु जरुरी छ – जव पुटिन पूर्वी जर्मनीमा कार्यरत थिए – सोभियत व्यवस्थामा ठूलो उथल पुथल निर्माण हुँदै थियो । सोभियत राजनीतिक व्यवस्था पूर्ण रूपमा चर्मराइरहेको थियो क्ष् अर्थतन्त्र खोक्रो भैसकेको थियो । लियोनोद ब्रेजनेभ पछि सोभियत नेतृत्वमा आएका केजिबीका पूर्व प्रमुख र पछि पार्टी महासचिव र राष्ट्रपति युरी आन्द्रोपोभले सोभियत राज्य व्यवस्था र अर्थतन्त्रमा सुधारका सार्थक प्रयास गरेका थिए । आन्द्रोपोभका सुधार प्रयासमा पुटिनको समर्थन र सहमति थियो । पूर्वी जर्मनीमा रहेर दुवै जर्मनीको राजनीति, समाज, अर्थतन्त्रबारे राम्रो जानकारी राखेका उनलाई राज्य नियन्त्रित अर्थतन्त्रले साविकको पूर्वी जर्मनी र सोभियत व्यवस्थालाई टिकाउन नसक्ने उनको विश्वास थियो । पुटिन यी सवैको साक्षी थिए ।

अझ मुलुकको गुप्तचर संगठनका अधिकारी भएका कारण उनलाई त्यसको सवै आन्तरिक उथलपुथल,घात–प्रतिघातबाट समेत उनी राम्ररी परिचित थिए । पूर्वी र पश्चिम युरोपको मध्य अर्थात् सोभियत विश्व र पश्चिमी विश्वको माझमा एउटा महत्वपूर्ण राज्य दायित्वमा रहेर उनले यी दुवै विश्व राम्ररी पढेका थिए । कम्युनिस्ट व्यवस्थाले आफ्ना वैचारिक विरोधीहरू विरूद्ध हत्या, हिँसा र क्रूर दमन गर्ने अधिकार राज्य अधिकारीहरूलाई दिन्छ र त्यसैले व्यवस्था टिकेको र टिकाइएको हुन्छ । (पार्टी संगठनले पनि यस्तो अधिकार दिएको हुन्छ–भारतका नक्सलीहरू, नेपालका माओवादीहरू, शुरूका दिनहरूका झापाली कम्युनिस्टहरू स्वयम् यसका उदाहरण हुन् । )

त्यसमाथि केजिबी जस्तो गुप्तचर संगठन जसले सोभियत राज्य व्यवस्था र संगठनका विरोधीको आशंकामा मात्रै हजारौँको खुला र गुप्त विधिबाट हत्या गर्ने अधिकार राख्दथ्यो । केजिबीको उच्चतम अधिकारी मध्येका एक ओलेग कालुगिनले आफ्नो स्पाइ मास्टर नामक पुस्तकमा त्यसलाई खुलस्त पारेका छन् ।

यस्तो लेख्ने कालुगिन एक्ला व्यक्ति भने होइनन्, दर्जनौ छन् । पुटिनले त्यस्तो देखेका थिए, बुझेका थिए , सुनेका र पढेका थिए । र कतिपय घटनामा स्वयम् आफैँ पनि संलग्न थिए ।
यिनै परिवेश र घटना क्रमबाट पुटिनको व्यक्तित्व निर्माण भएको थियो ।

२.सोभियत संघको पतनको क्रमका साक्षी थिए भ्लादिमिर पुटिन
कट्टरपन्थीहरू र उदारवादीहरू माझ त्यसको पक्ष र विपक्षमा अन्तरसंघर्ष हुँदै थियो । एउटा बन्द राज्य व्यवस्था र समाजमा परिवर्तनको लागि समय चाहिन्छ तर आन्द्रोपोभसँग त्यो समय थिएन । करीव १४ महिना मात्रै सोभियत राज्यको नेतृत्वमा रहेपछि उनको निधन भयो । आन्द्रोपोभको सुधारबाट आत्तिएका कट्टरपन्थीहरूले आन्द्रोपोभको उत्तराधिकारीको रूपमा कन्सटानटिन चेरनेन्कोलाई नेतृत्वमा स्थापना गराउन सफल भए, तर परिस्थिति झन् झन् बिग्रदै गयो ।

चेर्नेन्कोको स्वास्थ्य पनि कमजोर थियो , एक वर्ष भन्दा केही दिन मात्रै बढीको उनको कार्यकाल एक किसिमले मृत्यु शैयामानै बित्यो । त्यसपछि आए मिखाइल गोर्बाचोभ । गोर्बाचोभ सामू सोभियत व्यवस्थामा भित्रैबाट सुधार आवश्यक मात्रै नभएर अपरिहार्य रहेको विराट र झन्डै असम्भव चुनौती थियो । सुधार नभए सोभियत व्यवस्था टिक्न सक्दैन भन्नेमा उनी विश्वस्त थिए ।

समय भिड्कीसकेको उनलाई थाहा थियो । तर पनि उनले जोखिम मोले, जति सकिन्छ त्यति जोगाउने संकल्प लिएर उनी अघि बढे । विरोध –समर्थन दुवै वीचबाट उनी अघि बढ्दै गए । केन्द्रिकृत समाजवादी अर्थतन्त्र अन्तर्गत उत्पादनका सवै साधनहरू माथि राज्यको पूर्ण नियन्त्रणका कारण पसलमा खानेकुरा र बच्चाको दुधको चरम अभाव देखिन थालेपछि गोर्बाचोभले अर्थतन्त्रलाई विकेन्द्रित गरे । पार्टी र राज्य व्यवस्थामा खुलापनलाई प्रोत्साहन दिन थाले ।

पार्टी पद्धतिमा निर्वाचनद्वारा उम्मेदवार चयनको अभ्यास शुरु गरे । आलोचनाले स्थान पाउन थाल्यो । मानिसहरू विरोधमा बोल्न थाले, लेख्न थाले । पोल्याण्ड, पूर्वी जर्मनी, चेकोस्लाभाकिया, हंगेरी ,रुमानिया सवै सोभियत संघ नियन्त्रित पूर्वी युरोपमा विद्रोहका लहरहरू उठ्न थाले । ती मुलुकहरूले खुला प्रजातान्त्रिक अभ्यास शुरु गरे । गोर्वाचोभले ती मुलुकबाट सोभियत सेना फिर्ता गरे । अगस्ट १९९१मा गोर्वाचोभ क्राइमियाको एउटा टापुमा बिदा मनाउन आफ्नी पत्नी सहित गएको बेलामा एक्कासी उपराष्ट्रपति गेन्नाडी येनायेभले सेना, प्रहरी र गुप्तचर संगठन केजिबीको बलमा गोर्वाचोभ दम्पतिलाई नजरबन्दीमा राखेर सत्ता हातमा लिए । मुलुकमा संकटकाल घोषणा गरियो । गोर्वाचोभ विरामी भएको जानकारी गराइयो ।

तर कुनै प्रकारले गोर्वाचोभलाई बन्दी बनाइएको जानकारी सार्वजनिक भएपछि रूसी सङ्घका राष्ट्रपति बोरिस येल्त्सिन बिद्रोहमा उत्रिए । आम जनतालाई बिद्रोहमा आउन आह्वान गर्दै एउटा टयांकमा चढेर संसद भवन तर्फ लागे । उनलाई गिरफ्तार गर्ने हर प्रयासलाई असफ्गल बनाउँदै उनले सेनालाई फर्किन आह्वान गरे । उनलाई घेराउ गर्दै गिरफ्तारगर्न आएको सेना पछि हट्यो ।

तीन दिनपछि येनायेभ लगायत कट्टरपन्थीहरूको सैन्य बिद्रोह असफल भयो , गोर्बाचोभ मस्को आए । सत्ता हातमा लिए तर येनायेभ नेतृत्वमा भएको विद्रोहको असफलता पछि सर्वशक्तिमान भएका रूसी संघका राष्ट्रपति बोरिस येल्तसिनले सत्ता परित्याग गर्न गोर्बाचोभलाई दवाव दिए । धमाधम सोभियत राज्य संरचनाहरू ढल्दै गए । केजिवीको भवन ढालियो । सोभियत संसदले कम्युनिस्ट पार्टीका गतिविधिहरूलाई नियन्त्रण गर्दै गयो । अन्त्यमा येल्तसिनको दवाव र प्रभाव थेग्न नसकेर २५ डिसेम्बर १९९१मा गोर्वाचोभले पदत्याग गरेको घोषणा गरे । उनको राजिनामासँगै सोभियत संघको बिघटनले पूर्णता पायो ।
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा