दर्शनशास्त्रले के सिकाउँछ ?



डा. गोविन्दशरण उपाध्याय ।
दर्शनशास्त्र निकै परिचित विषय हो । राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् । चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका लागि दर्शनशास्त्रको अध्ययन/अध्यापन अनिवार्य नै हुन्छ ।

परम्परागत दर्शनशास्त्रमा तत्व–मीमांसा, ज्ञान मीमांसा, तर्क मीमांसा, नीति मीमांसा र सौन्दर्य मीमांसाको अध्ययन/अध्यापन हुन्छ ्र सत्यको छिनोफानो गर्न तत्व–मीमांसाले परमतत्व, जगत, जीवको उत्पत्ति, काम र सीमा बुझ्ने भगीरथ प्रयत्न गर्छ । मान्छेले कसरी ज्ञान प्राप्त गर्छ, ज्ञानको उपयोगिता के हो र ज्ञानका सीमाहरू के हुन् भनेर निर्धारण गर्ने क्रिया ज्ञानशास्त्र हो भने तर्कलाई सत्यको खोज, स्थापनाका लागि तर्कशास्त्रको प्रयोग र उपयोग हुन्छ ।

मान्छेको असल बन्न चाहन्छ । मान्छेले परमसुख, शान्ति र सन्तोष प्राप्त गर्न चाहन्छ तर किन मान्छे असल हुनुपर्छ ? भन्ने प्रश्नको तार्किकतवरले समाधान गर्ने प्रयत्न नीतिशास्त्रले गर्छ । यसलाई आचरणको विज्ञान पनि भनिन्छ । त्यस्तै हरेक व्यक्ति सुन्दर, सभ्य र भव्य देखिन चाहन्छ । सुन्दरता (मूल्य) मानसिक हुन्छन् कि बाह्य हुन्छन् भनेर सौन्दर्यशास्त्रके जानकारी दिन्छ ।

आफू र आफूलाई धानिरहेको विश्वका बीचको सम्वन्ध जान्ने र बुझ्ने क्रममा विज्ञान र धर्मको विकास भएको हो । आफ्नो अस्तित्वको श्रोत र आफू वरिपरी रहेको दृश्य, श्रव्य, स्पर्शयोग तथा स्वादसँग आफ्नो सम्वन्धको सत्यता तथा प्राणीका रूपमा आफ्नो उपस्थितिको रहस्य बुझ्ने जिज्ञासा मानव जातिको ऐतिहासिक स्वभाव हो । मान्छेको चेतना शक्तिले काम गर्दासम्म भविष्यमा पनि फरक तवरले अन्वेषण जारीनै रहने छ । आत्मा, परमात्मा, परमतत्व यी सबै विषयहरूको खोज र तीसँग आफ्नो सम्वन्ध खोज्ने विद्यानै दर्शनशास्त्र हो । यस अर्थमा विश्वको हरेक मान्छे “सानो“ दार्शनिक नै हो ।

दर्शनशास्त्रको अध्ययन/अध्यापनले सिकिने पहिलो दक्षता हो–प्रश्न गर्न सिक्नु । मान्छे सधैं प्रश्न गरिनै रहन्छ । प्रश्न नगर्ने हो भने विकासको प्रक्रिया सधैंका लागि अवरुद्ध हुन्छ । दर्शनशास्त्रले हरेक व्यक्तिलाई प्रश्न गर्न र त्यसको ठीकठीक उत्तर प्राप्त गर्न अभिप्रेरित गर्छ । पशुपक्षी, प्रकृतिले प्रश्न गर्दैनन् । प्रश्न नगर्नेहरू यथास्थितिमा रहन्छन् । प्रश्न गर्न सक्नुको अर्थ हो – प्रश्नकर्ता एउटा चेतनशील प्राणी हो र उसले आफ्नो र विश्वको वीचको औचित्य खोज्न, बुझ्न र बुझाउन चाहन्छ । यदि हामी ठीकठीक तवरले प्रश्न गर्न सक्छौं भने ठीकठीक उत्तर पनि प्राप्त हुन्छन् । मान्छेले गरेका सम्पूर्ण विकासका क्रियाकलापहरू प्रश्नकै उत्तर हुन् ।

मान्छे जिज्ञासु प्राणी हो । उसले अन्य मान्छेले प्राप्त गरेका उत्तरहरूको विश्लेषण, संस्लेषण तथा मूल्यांकन गर्छ । मुल्यांकन गर्दा मुल्यांकनकर्ताले धेरै विषयवस्तु जानेको बुझेको र निर्णय गर्ने क्षमता प्राप्त गरेको हुनुपर्छ । दर्शनशास्त्रले हरेक मान्छेलाई अझैं बढी, अझैं बढी “जान्न“ प्रेरित गर्छ । असलमा, दर्शनशास्त्र जान्ने, बुझ्ने, मूल्यांकन गर्ने तथा जानेबुझेको कुरालाई अर्कोमा प्रेषित गर्ने चेतनशील क्रियाकलाप हो । वैदिक दर्शनमा जान्नुको लक्ष मोक्ष प्राप्ति हो भने पाश्चात्य दार्शनिकहरूका अनुसार जान्ने प्रक्रियाले मानवीय चिन्तनशक्तिलाई अझैं बढाउँन मद्दत गर्छ । मनोविज्ञानले यो तत्थ्य सिद्ध गरेको छ । त्यसैले अथातो ब्रह्म जिज्ञासा भनेर वेदले अझैं बढी बुझ्न र जान्न प्रेरित गरिरहेको छ ।

दर्शनशास्त्र ज्ञानको जीवन्त इतिहास हो । मान्छेले जुन बखत “जान्ने, बुझ्ने र प्रश्न गर्ने क्षमता प्राप्त गर्यो, त्यसै बखतदेखिदर्शनको दृष्टिकोण विकसित भयो । विश्वको प्रत्येक व्यक्ति “छोटा दार्शनिक“ नै हो । मानसिक रूपमा स्वास्थ्य व्यक्तिहरू चिन्तन र कर्म नगरी बस्न सक्दैनन् । यसरी दर्शनशास्त्र विश्वका हरेक घरमा फैलिएको छ । प्राचीनकालदेखि नै विभिन्न नाम, रूप र रङ्गमा दर्शनशास्त्रको अध्ययन/अध्यापन र अभ्यास गरिदै छ । आज अन्य विषयहरूका तुलनामा विश्वभरी दर्शनशास्त्रका सिलेवसहरू पढाइन्छन् । विश्वको जुनसुकै देश र कुनामा दर्शनशास्त्रको पढाई हुन्छ । विज्ञानको दर्शन, धर्मको दर्शन, नीतिको दर्शन, न्यायको दर्शनआदिआदि । हरेक विषयका आफ्नै दृष्टिकोण हुने र त्यो दृष्टिकोणले विषयवस्तुलाई सिद्धान्तको तहमा संरक्षित गर्ने हुँदा दर्शनशास्त्र सबैतिर छ सबैसँग छ ।

उत्सुकताका सवालमा सम्पूर्ण मानवहरू बालबालिकासरह नै हौँ । अनन्त आकाशमा फैलिएको विशालकाय ब्रह्माण्ड होस् वा अनन्त अनुपरमाणुले निर्मित भएको आफ्नो शरीर किन नहोस् ? सधैं उत्सुकताका विषय हुन्छन् । मान्छेले आफूभित्र र आफुवाहिरको विश्वलाई जान्न चाहन्छ । यो चाहनाले प्रश्नैप्रश्न जन्मिन्छन् । ती प्रश्नहरूलाई शीर्षक बनाएर मान्छेले बुझ्ने प्रयन्त गर्छ । दर्शनशास्त्र पढ्ने र पढाउने व्यक्तिमा “शीर्षक“ निर्माण गर्ने अदभूत क्षमताको विकास हुन्छ । दार्शनिक दृष्टिकोणले शीर्षक अर्थात् सिद्धान्त निर्माण गर्ने आधारशीला खडा गरिदिन्छ । त्यो शीर्षकसँग सहमत र असहमत सबैले उत्सुकतापूर्वक पक्ष, विपक्ष र समालोचनामा मत दिन्छन् । यही दार्शनिक दृष्टिकोण युक्त शास्त्रार्थले ज्ञान, विज्ञान र विकासका लागि सम्भावनाका ढोकाहरू खोल्छ । सबै विचारहरू व्यवहारमा रुपान्तरित नहोलान् तर विचारनै भएको भए व्यबहार पनि निर्मित हुने थिएनन् ।

हामी मान्छे सधैं चिन्तन गर्छौं, मनन र तर्क गर्छौं । दर्शनशास्त्रले चिन्तनको विराट इतिहाससँग वर्तमानलाई जोड्छ र भविष्यका लागि योजना तर्जुमा गर्छ । प्रारम्भिक मानव चिन्तन सरल थियो भने आजको चिन्तन निकै कम्प्लेक्स बन्दै गैरहेको छ । फलतः कुनै बेला केवल भोजन प्राप्ति र आत्मरक्षामा केन्द्रीय मानवीय चिन्तन हजारौं करोड़ प्रकाशवर्ष टाढाका ब्रह्माण्डका विषयमा सोच्न थालेका छौँ । विगतमा अदभूत तथा अज्ञेय ठानिएका विषयहरू सहज र सरल बनेका छन् भने चिन्तनशक्तिको दिशाअझैं सुदुर विश्वको खोजमा केन्द्रित छ । सीमितताबाट असीमितता, मृत्युबाट अमृततिर, अन्धकारबाट प्रकाशतिर, अतिविशालता र अति सूक्ष्मतातिर अभिप्रेरित हुँदैछ । दर्शनशास्त्रको अध्ययन नगरी मानवीय चेतना, बुद्धि तथा तर्कको इतिहास बुझ्न सकिन्न ।

आजभोलि समालोचनात्मक चिन्तन पद्धतिको निकै माग छ । सभागिता, समानता, समानुपातिक तथा सम्मान यी सबै तत्थ्यहरू आजको समाजका लागि आवश्यक ठानिएका छन् । एकल चिन्तन, एकल धर्म, एकल संस्कार, एलक देवतावादले यस्तो समाजको सृजना हुने कुनै सम्भावना छैन । दार्शनिक चिन्तनले व्यक्तिलाई “एकपटक धेरै दृष्टिकोण“मा काम गर्न र समस्याहरूको समाधान गर्न मद्दत गर्छ । एकेश्वरवादमा विश्वास गर्नेहरूका लागि होस् वा मेरो गोरुको सोह्रै टक्का भन्ने सामाजिक मान्यतामा चल्ने समाजका लागि होस्, दर्शनशास्त्रले बहुलवादी दृष्टिकोणबाट सोच्न र व्यबहार गर्न मद्दत गर्छ । दर्शनशास्त्रले व्यक्ति तथा समाजलाई कट्टरतावादी दृष्टिकोणबाट मुक्त भएर उदारतावादी दृष्टिकोण स्वीकार गर्न र भिन्नतालाई सम्मान दिन शक्ति प्रदान गर्छ । दर्शनको अर्थ हो–वैचारिक, व्यावहारिक तथा धार्मिक स्वतन्त्रताको उपयोग गर्ने अभियान तर विवेकपूर्ण तरिकाले । यदि तपाईंले दर्शनशास्त्र पढ्नु भएको छैन भने स्वतन्त्रतालाई कसरी विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने कलाबाट बंचित रहनु हुने छ ।

दार्शनिक चिन्तन भएको मान्छे केही बढी जिज्ञासु हुन्छ । फलतः उसको अध्ययन र रुचिको क्षेत्र पनि बढी हुन्छ । दर्शनशास्त्र पढ्ने व्यक्ति शब्द र भाषा खेलाउन सक्ने अदभूत क्षमता हुन्छ । दर्शन मिसिएको साहित्य बढी स्वीकार्य हुन्छ । दर्शनसँग ओतप्रोत भएको ज्ञान आध्यात्मिक शान्ति, सन्तोष र पूर्णता प्राप्त गर्छ । दार्शनिकहरूलाई समाजले विश्वास गर्छ अर्थात् सामाजिकरूपमा दार्शनिक अन्य व्यक्तिहरूका तुलनामा विश्वनीय र स्वीकार्य हुन्छ । दर्शनसंग मिसिएको पत्रकारिता विवेकशील हुन्छ । दर्शनसँग जोडिएको व्यापार मानवीय हुन्छ । दर्शनसँग जोडिएको मान्छे सदाचारी हुन्छ, दर्शनसँग जोडिएको मान्छेको निर्णय क्षमता अन्यका तुलनामा विवेकपूर्ण तथा सत्यसँग निकट हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा–दर्शनशास्त्रले मानवसमाजलाई मात्र होइन विश्वको लागि कल्याणकारी मार्गप्रदर्शन गर्ने क्षमता राख्ने हुँदा राष्ट्र र समाजका लागि बढी स्वीकार्य हुन्छ ।

विश्वका दार्शनिक दृष्टिकोणको विकासलाई हेर्ने र बुझ्ने हो भने मानव तथा प्रकृतिको कल्याणमा केन्द्रीत रहेको पाइन्छ । ग्रीकमा थेल्सबाट आरम्भ भएको मानिएको दार्शनिक चिन्तनले पश्चिमा जगतलाई “भौतिक प्रगतिशील“ बनाएको छ भने वेदवाट आरम्भ भएको दार्शनिक चिन्तनले सम्पूर्ण भारतवर्षीय समाजलाई समानुपातिक र अन्तरमुखी बनाएको छ । लाओत्सेबाट आरम्भ भएको चिनिया दर्शनले चिनिया समाजलाई कर्मयोगी (workaholic) बनाएर प्रगतिको पथमा अग्रसर बनाएको छ । नेपाली समाज वैदिक दार्शनिक दृष्टिकोणको जगमा अभिनिर्मित भएको हुँदा भौतिक रूपमा तेति विकसित छैन सम्पूर्ण पृथ्वीलाई “कुटुम्ब“ ठानेर कसरी व्यवहार गर्नुपर्छ भन्ने तत्थ्य विश्वलाई सिकाउने सिंहासनमा छ । नेपालको दार्शनिक चिन्तनले विश्वलाई सुरक्षित र परिवार बनाउने दिशा निर्देशन दिन सक्षम छ ।

दर्शनशास्त्रलाई धर्मशास्त्रको एउटा शाखा ठान्ने भूल गर्नु हुँदैन । दर्शनशास्त्र धर्मको दास होइन । दर्शनशास्त्रले धर्म होस् वा विज्ञान, राजनीति होस् वा अर्थ नीति यी सबैमा रहेको अविवेकमा प्रहार गर्छ र अधिकतम विवेकयुक्त मानवीय समाजको परिकल्पना प्राप्त गर्न निरन्तर क्रियाशील रहन्छ । दर्शनशास्त्रले मानव समाजलाई स्वतन्त्रताको विवेकपूर्ण तवरले प्रयोग गर्न र गराउँन बुद्धिलाई उपयोग गर्छ । त्यसैले दर्शनशास्त्र सबैले अध्ययन गर्नुपर्छ । त्यसमा पनि हामी नेपालीले त झन् दर्शनशास्त्रको अध्ययन/अध्यापन गर्नैपर्छ । ऋषिले विश्वलाई दर्शनशास्त्र दिएका छन् र उनका वास्तविक उत्तराधिकार हामीसंग छ । दर्शनशास्त्र पढ्न इच्छुकहरूले त्रिविवि त्रिचन्द्र बहुमुखी क्याम्पसमा सम्पर्क गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा