प्राचीन उपाधिहरूको दर्शन



डा.गोविन्दशरण उपाध्याय ।
आजभोलि कसैलाई पुरस्कृत गर्नु पर्यो वा प्रशंसा गर्नुपर्यो वा योग्यताको प्रमाण दिनुपर्यो भने विभिन्न प्रकारका उपाधिहरू प्रदान गर्ने चलन छ । शैक्षिक योग्यता, कार्यदक्षता, विशिष्ट उपलब्धि तथा सेवाकार्यका आधारमा उपाधिहरू प्रदान गरिन्छ । शैक्षिक संस्था, धार्मिक संस्था, सरकार तथा स्वतन्त्र व्यक्ति वा संस्थाहरूले पनि उपाधिहरू प्रदान गर्छन् । मूलतः उपाधिहरूको मुख्य प्रयोजन योग्यताको स्वीकृत गर्नु अर्थात् क्षमताको मान्यता प्रदान गर्नुनै हो ।

वृहद् नेपाली शब्दकोशका अनुसार उपाधिको अर्थः योग्यता, महत्व वा सम्मान जनाउने पद वा शब्द, पद, पदवी, दर्जा (२) एउटा कुरा अर्को तरिकाले वताउने छल, कपट (३) उपद्रव, उत्पात (४) कर्तव्यको विचार, धार्मिक चिन्तन भने लेखिको छ । यदि यी अर्थहरूको विश्लेषण गर्दा योग्यता वा श्रेष्ठताको सामाजिक, सांस्कृतिक, धार्मिक स्वीकृति प्रदान सामाजिक, धार्मिक, शैक्षिक ,सामाजिक तथा राजनैतिक उपाधि प्रदान गरिन्छ । दोश्रो र तेस्रो पक्ष उपाधिको अर्थ छलकपट पनि हुँदो रहेछ । सबै उपाधिधारीहरूले धारण गरेको उपाधिले निजको वास्तविक योग्यतालाई प्रतिनिधित्व गर्छ भन्न सकिन्न ।

उपाधिको इतिहास केलाउंदा पहिलो साक्ष ऋग्वेद (१/१३३/६) मा भेटिन्छ । यहाँ “ब्रह्मर्षी“को चर्चा आउँछ । ब्रह्मर्षीको अर्थ हो ब्रह्मतत्व साक्षत्कार गरेको मन्त्रद्रष्टा (ऋषि) अर्थात् व्यक्ति । वेदका सबै ऋषि र ऋषिकाहरू ब्रहमर्षी थिएनन् । यस अर्थमा विश्वको सबैभन्दा प्राचीन उपाधि नै “ब्रह्मर्षी“ हुन सक्छ । यद्यपि कामका आधारमा वेदले पहिलो उल्लेख गरेको उपाधिचाहिं “पुरोहित“ अर्थात् नेता (ऋग्वेद १÷१÷१) हो । आजभोलि “पुरोहित“ शब्दको अर्थ पूजाआजा, यज्ञआदि गराउने व्यक्ति जनाउँछ तर वैदिक साहित्यमा “पुरोहित“ एउटा उपाधि थियो जसले अग्निसाधना गर्थ्यो । यसलाई “अग्निहोत्री“ भन्न मिल्छ ।

प्राचीन उपाधिहरूको वर्गीकरण गर्दा निम्न प्रकारका उपाधिहरू भएको अनुमान गर्न सकिन्छः
१. साधनाः साधनाको अर्थ नै लक्ष प्राप्ति गर्न कठोर परिश्रम गरेर सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आध्यात्मिक रूपमा श्रेष्ठता प्राप्त गरेको व्यक्ति । प्राचीन वैदिक तथा उपनिषद्हरूमा साधनाका आधारमा प्रदान गरिने उपाधिहरू मूलतः ब्रह्मर्षी, राजर्षी, देवर्षी, महर्षी । धेरैजसो यी उपाधिहरू सृष्टिकर्ता ब्रह्मालेसाधनका आधारमा प्रदान गर्थे । यी मध्ये सबैभन्दा महत्वपूर्ण उपाधिचाहिं ब्रह्मर्षी थियो । यो पद प्राप्त गर्न आध्यात्मिकरूपमा धर्मका दशैं लक्षणहरू जीवनमा स्थापित भएको र काम, क्रोध, लोभ, मोह, ममताआदि नकारात्मक दोषहरूमा स्वाभाविक विजय प्राप्त गरेको हुनुपर्थ्यो । वैदिक साहित्यमा दुईजना मात्र ब्रह्मर्षी (वशिष्ठ र विश्वामित्र) उपलब्ध छन् । ऋषि वशिष्ठ आफ्नो उन्नत साधनाबाट र ऋषि विश्वामित्रले तपस्याबाट आफ्नो पराक्रमले यो पद प्राप्त गरेका थिए । यो उपाधिको लागि “मन्त्रद्रष्टा“ हुनु अतिआवश्यक छ ।

वैदिककालमा सबैभन्दा ठूलो र महान् सामाजिक, सांस्कृतिक, राजनैतिक तथा धार्मिकरूपमा सर्वमान्य उपाधिचाहिं “ब्रह्मर्षी“ नै थियो भन्न मिल्छ भने महर्षी पनिब्रह्मर्षी सरहकै उपाधि थियो किनभने उपनिषदहरूले “सनकादि चार ऋषिहरूलाई मात्र महर्षी“ भन्छ । ब्रह्माको मनबाट उत्पन्न हुने महर्षी हुन् भनिएकोले यो उपाधि ज्यादै साधनाले प्राप्त हुन्थ्यो भन्ने बुझ्नुपर्छ ्र तेसकै समानान्तर उपाधिहरूमा राजाले “राजर्षी“, दार्शनिकहरूले महर्षी र उपकारी व्यक्तिहरूले देवर्षीको उपाधि प्राप्त गर्थे ।

सम्भवतः ब्राह्मण कुलमा जन्मेका अतिविशिष्ट विद्वान ऋषिले ब्रह्मर्षी, क्षत्रीकुलमा जन्मेका ऋषितुल्य राजाले राजर्षी र देवताहरूले देवर्षी र जुनसुकै कुलमा जन्मेको भए पनि संसारप्रति कुनै आशक्ति नभएकाले महर्षिको उपाधिलेसम्मानित गरिन्थ्यो ्र ब्रह्मर्षी तथा महर्षी निकै साधना साध्य “उपाधि“ मान्न सकिन्छ ।

२. शिक्षा/ज्ञानः शिक्षा तथा ज्ञानका आधारमा प्रदान गरिने उपाधिहरू धेरै प्रकारका हुन्थे । वैदिककालमा ज्ञानका आधारमा सरल र सहजरूपमा प्राप्त हुने उपाधि भनेको “ऋषि तथा ऋषिका“ थियो । यो उपाधिचाहिं मन्त्रद्रष्टा सबैले प्राप्त गर्थे । ऋषि होस् वा मुनि दूवै उपाधि प्राप्त गर्नका लागि धार्मिक, ज्ञानी तथा तपोधन हुन आवश्यक मानिन्थ्यो । शिक्षा, दीक्षा तथा सर्वतोभद्रको चेतना ऋषिमुनि पदका लागि अनिवार्य हुन्थ्यो । ऋषिमुनिहरूका पनि अनेकौं उपाधिहरूवैदिक साहित्यमा उपलब्ध छन् । उदाहरणका लागि वायुमात्र सेवन गर्नेहरू “वातरसना, जलमात्र खाने जलान्शु, तपस्यामात्र गर्न रुचाउने तपोधन“आदि उपाधिहरू हुन्थे ।

गुरू, आचार्य, उपाध्याय, होता, ब्रह्मा, उर्ध्वयुआदि उपाधिहरू शिक्षादीक्षा र कर्मका आधारमा उपलब्ध हुन्थे । गुरूको अर्थ “भारी“ हुन्छ । जसले शिक्षादीक्षामा गुरूत्व छ, त्यो गुरू हुन्थ्यो । आचार्यचाहिं आचरण सिकाउने व्यक्ति हुन्थ्यो । यो अलिअलि प्रशासनिक पद पनि हुन्थ्यो । यसैगरी उपाध्याय तथा शिक्षक पनि शिक्षाका आधारमा प्रदान गरिने पदहरू थिए, उपाधिहरू थिए । गुरु र आचार्य पद साधना, विद्वातता तथा सदआचरणका आधारमा समाजले प्रदान गर्थ्यो भने उपाध्याय, शिक्षकआदि भने शिक्षा र दीक्षामा आधारित हुन्थ्यो ।

३. कर्मका आधारमाः कर्मका आधारमा पनि उपाधिहरू प्राप्त हुन्थे प्राचीनकालमा । यस्ता उपाधिहरू सकारात्मक तथा नकारात्मक कर्मलाई विचार गरेर देशको प्रतिष्ठित व्यक्ति, समाज वा समुदायले प्रदान गर्थ्यो । उदाहरणका लागि “देव“ उपाधिचाहिँ श्रेष्ठता र महत्वपूर्ण भन्ने जनाउन उपयोग हुन्थ्यो । जस्तै, भूदेव, इन्द्र, महेन्द्रआदि । त्यसैगरी राक्षस वा असुरजस्ता उपाधिहरू नकारात्मक गुणहरू प्रदर्शन गर्न समाजले प्रचलनमा ल्याउँथ्यो । दुःख दिने व्यक्तिलाई रावण, आफन्तको वेवास्ता गर्नेलाई कंशआदि ।

कर्मका आधारमा व्यक्तिले प्राप्त गर्ने एस्ता उपाधिहरू व्यक्ति, स्थान, कर्म वा परिणामका आधारमा प्राप्त हुन्थे । कर्मका आधारमा प्रदान गरिने उपाधिहरू असंख्य छन् । उदाहरणका लागि ज्योतिषीलाई दैवज्ञ, विधाता, अत्यन्त तीखो बुद्धिभएकालाई सरस्वती आदिआदि । वेद, उपनिषद्, पुराण र अन्य संस्कृत ग्रन्थहरूमा कर्मका आधारमा सम्वन्धित व्यक्तिलाई व्यक्ति वा समाजले उपाधिनै नाम हुने गरी तोक्थ्यो । विष्णु, शिव,पार्वतीआदिका हजारनामहरू मूलतः कर्मका आधारमा रेखिएको देखिन्छ बास्तवमा तीसबै उपाधि नै हुन् । प्रशंसामा होस् अथवा निन्दा गर्न होस्, व्यक्तिलाई उपाधि प्रदान गरेर उसको व्यक्तित्व बुझाइन्थ्यो ।

यसरी, प्राचीनकालदेखि नै समाजका व्यक्तिहरूले साधना, शिक्षा र कर्मका आधारमा अनेकौं उपाधिहरू प्राप्त गर्दै आएका छन् । वैदिक तथा उपनिषदकालमा उपाधिहरू साधना र शिक्षादीक्षाका आधारमा निर्धारित भएको पाइन्छ भने पौराणिककालका उपाधिहरूमा “कर्म“ प्रधान छ जसले गर्दा धेरैधेरै उपाधिहरूको सृजना गरियो । यहाँ स्मरणीय के छ भने कर्मका आधारमा व्यक्तिले प्राप्त गर्ने उपाधिहरू व्यक्ति, समाजले स्वतः प्रदान गर्थ्यो । उदाहरणका लागि बैद्य, यजमान, पुजारीआदि ।

आधुनिक समयमा निकै प्रचलित तर वैदिक, उपनिषद तथा पौराणिककालमा समेत प्रयोग नभएका उपाधिहरूमा “श्रीश्री १००८आदि, जगदगुरू, विश्वगुरू, महामण्डलेस्वर, पीठाधीशआदि छन् । शिक्षाका क्षेत्रमाआचार्य, अध्यापक र शिक्षक प्रचलित थिए भने शिक्षाका क्षेत्रमा विज्ञता प्राप्त गर्ने व्यक्तिलाई भट्ट, भट्टारक (एजम) उपाधिहरू प्राप्त हुन्थे । नेपाली र भारतीय समाजमा प्रचलित “भट्ट“ मूलतः एउटा कुनै शैक्षिक विधान विज्ञता प्राप्त व्यक्ति हुन्थ्यो ।

वैदिककालमा ब्रह्माले विश्वामित्रलाई ब्रह्मर्षी उपाधि प्रदान गरेको, भगवान् बामनलाई ब्रह्माले नै “उपेन्द्र“ उपाधि प्रदान गरेको, पौराणिक कालमा (भागवत) श्रीकृष्णले देवीलाई “दुर्गा, भद्रकाली“ उपाधि प्रदान गरेको, अश्वमेध यज्ञमा श्रीकृष्णलाई “देवाधिदेव“ उपाधि प्रदान गरिएकाजस्ता अनेकौं उदाहरण छन् । युधिष्ठिरको “धर्मराज“ उपाधियसैको उदाहरण हो । आजभोली साधुसन्यासीलाई “महाराज“ उपाधिले सम्बोधन गरिन्छ तर वेद तथा पुराणहरूमा “राजा, महाराज, चक्रवर्ती, सम्राट“जस्ता उपाधिहरू केवल क्षत्रीहरूले प्राप्त गर्थे र धारण गर्थे ्र आजभोलीका सन्यासी तथा साधुहरूमा तपोधन बन्ने भन्दा पनि “महाराज” बन्ने मोह बलियो देखिन्छ । मैले एस्ता केही साधुसन्यासीहरू भेटेको छु, जसले श्री र महाराज उपाधि प्रयोग नगरी उहाँको नाम लिंदा खाउँलजस्तो गरेर रिसाउँछन् !!

प्राचीन वैदिक ऋषिहरूको “उपाधि“ उनका सत्कर्म, साधना तथा आचरणका आधारमा ईश्वर वा समाजले प्रदान गरेको देखिन्छ । कुनै पनि ऋषिमुनिले स्वतः आफ्नो लागि “उपाधि“ घोषणा गरेर “श्रीश्री अनन्त श्रीविभूषित?जगदगुरू“जस्ता उपाधिले विभूषित भएको देखिन्न । प्राचीनकालका सबै ऋषिमुनिहरूको जीवन अत्यन्त साधारण, निष्काम र स्वार्थरहित थियो । उनीहरूले सधैं स्वार्थत्यागको अभ्यास गरे, कुनै उपाधि वा पदप्रतिष्ठाको पछाडी लागेनन् । यदि कसैले आफुलाई “म ऋषिकुल को हुँ“ भन्छ तर विश्वभरिका मान्छेले मलाई चिनुन्, जानुन्, मेरो प्रतिष्ठा सर्वकालीक होस्“ भन्ने चाहना राख्छ भने त्यस्तो व्यक्ति ऋषिकुलको उत्तराधिकारी हुनै सक्दैन । यस्ता व्यक्तिहरूको क्रियाकलापलाई बृहद नेपाली शब्दकोशले व्याख्या गरेको तेस्रो र चौथो अर्थ अर्थात् “छल, कपट तथा स्वार्थ“ भन्न मिल्छ । नाम र दामका पछि दौडनेहरू असलमा स्वार्थी व्यक्ति हुन् । स्वार्थको सर्वथा त्याग नै “ऋषिकुल“ निरन्तरता हो । ठूलो पेट, ठूलो आश्रम, धेरै चेलाचेली, महंगा गाडी, मिठो प्रवचन गर्न सक्ने व्यक्ति मूलतः स्वार्थको दोश्रो अवतार हो भनेर बुझ्नुपर्छ । सदाचार, त्याग, निस्पक्षता, सरलता र साधना नै ऋषिकुलको उत्तराधिकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा

ब्रिटिश सांसदको छुरी हानी हत्या

ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला