कुश–अमावश्या अर्थात् बाको मुख हेर्ने दिन



डा. गोविन्दशरण उपाध्याय ।
विरिश्चेन सहोत्पन्न परमेष्टि निसर्गजः । नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भवः । ‘हे कुश ! तिम्रो उत्पत्ति ब्रह्माबाट भएको हो भने ब्रह्माले नै सर्वप्रथम तिम्रो प्रयोग गरेका हुन् । तिम्रो प्रयोगले समस्त पाप नाश हुन्छन् अतः सबैको कल्याणकारी बन ।” कुशको अर्को संस्कृत नाम दर्भ पनि हो । उपरोक्त मन्त्रले कुश उखेलिंछ । यही मन्त्र पढेर कुशको आसनमा बस्नुपर्छ । कुशले प्राणवायु (ओक्सिजन) को फैलाउन सबैभन्दा बढी कार्य गर्छ, यो एन्टी ओक्सीडेन्टल छ, यो पाइल्सको रोग निको पार्न प्रयोग हुन्छ । पाइल्सको रोग निको हुने भएकोले नै होला आसनको रूपमा प्रयोग गरिएको । पिसाव पोलेको निको पार्ने भएर पनि यो आसनका रुपमा कुशको प्रयोग आरम्भ भएको स्पष्ट हुन्छ ।  र दर्भयुग्मम् पवित्रस्यान्मूत्र क्रिछ्रघ्नशीलतम् (कै.नि. १२४१ औषधिवर्ग)
कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो ।

वर्षभरी गरिने पूजाआजाका लागि भोली घरघरमा कुशको संग्रह हुने छ । कुश र धार्मिक संस्कारको गहिरो सम्वन्ध छ । कुनै पनि हिन्दू संस्कारमा कुश हुनै पर्छ । संकल्पका लागि कुश चाहिन्छ नै । पूजाआजा गर्दा हातको औलामा लगाइने ‘पवित्रा’ कुश कै हुन्छ । यस्तो औँठी पवित्रताको सूचक हो । शास्त्रले यही भन्छन् ।

कुशे औँसीका दिन हामी विश्वभरीका हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउछौं । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक परम्परा छ । हामी हिन्दूहरू कुश, तुलसी, पीपलर शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छौं । हामीले आफ्नो यो परम्परा नया पुस्तालाई पनि सिकाउनु पर्छ । भेलन्टाइन डे, क्रिसमसआदिमा अभ्यस्त गर्नुको कुनै तुक छैन ।

कुशलाई बैज्ञानिक रूपमा उर्जाको कू–चालक मानिन्छ । त्यसैले पूजाआजामा कुशको आशनमा बसिन्छ । कुशको आसनले उर्जालाई सुरक्षित गर्छ । शास्त्रहरूले कुशलाई आरोग्यवर्धक, वातावारण शुद्धकारक, जीवन वायु प्रदाताका रूपामा पहिचान गरिएको छ । प्राचीन ऋषिहरूले कुशको कुचालक शक्तिलाई बुझेर नै सूर्य–चन्द्र ग्रहणका बेला विकिरणबाट अन्नपात, भोजनआदि जोगाउन कुशको प्रयोग गर्थे । आज पनि हामी सनातन धर्मी हिन्दूहरू ग्रहणका बखतमा कुशको प्रयोग गर्छौं ।

अंग्रेजीमा यसलाई Love grass भनिन्छ । अचम्मको कुरा के भने पश्चिमा देशहरूमा कुशलाई यौनशक्ति वर्धक घाँसका रूपमा प्रयोग गरिन्छ । आयुर्वेदकाअनुसार कुशले रक्तपित्तको दोष निवारण गर्छ (ध.नि /११९) । कुशले मूत्र दोषहरूलाई निवारण गर्छ (अ.स.सु १५/३२ मूत्र विरेचन गण) । महिलाहरूका स्तनपान सम्वन्धि समस्या समाधान गर्न मदत गर्छ ( अ.स.सु १५/१९ स्तन्य जननगण) । आधुनिक ल्याबले समेत कुशका उपरोक्त औषधिगुण प्रमाणित गरेको छ । बोटनी विज्ञान विभाग, साइन्स कलेज डपोलीका सह प्राध्यापक सचिन सालाकर र विद्यार्थी नैना कम्बलेले गरेको प्रयोग र परीक्षणहरूले समेत यसको औषधीय गुण सिद्ध गरेका छन् (INDIAN JOURNAL OF APPLIED RESEARCH Volume : 4 | Issue : 4 | Apr 2014 | ISSN – 2249-555X) | यस बैज्ञानिक परिक्षणमा कुशका अन्य आधुनिक उपयोगिताका विषयमा विस्तृत जानकारी छ । फुर्सद भए पढ्नुहोला ।

कुशको उत्पत्तिको कथा सृष्टिसंग जोडिएको छ । हिरण्यक्ष नामका राक्षसले पृथ्वीलाई पातालमा लगेर कैद गर्यो । यसले सृष्टिकार्य रोकियो । ब्रह्माको हाछिऊबाट एउटा बराहको जन्म भयो । त्यस बराहले हिरण्यक्षको बध गर्यो । फर्कने क्रममा वराहको जिऊबाट कपालहरू झरे ्र तिनै कपालहरू कुश बने । कुश यज्ञमा प्रयोग हुन्छन् । किनभने शास्त्रहरूले वराहलाई यज्ञपुरुषका रुपमा प्रतिष्ठित गरेका छन् । यज्ञ र कुशको सम्वन्ध यही है । त्यही समयदेखि पूजाआजा र यज्ञआदिमा कुशको प्रयोग हुन्छ ।

अव बुबाको मुख हेर्ने विषयको कुरा गरौँ । शास्त्रहरूमा बुबाको मुख हेर्ने चलन छैन । पितृगणहरूलाई तर्पण दिने आज्ञा छ । तर बाबुलाई स्मरण गर्ने यो चलन अत्यन्त महत्वपूर्ण छ । पहिले काठमाडौं उपत्यकामा मात्र प्रचलित यो रूढ़ी पर्व मिडियाका कारण देशब्यापी बनेको छ । राम्रो कुराहरू बढेकै राम्रो । आमाको मुख हेर्ने चलनझैँ बाबुको मुख हेर्ने चलन पनि बढेको छ ।

मृत्यु भएका बुबाका लागि श्रद्धाञ्जली दिन सजिलो छ । उनी प्रतिक्रिया बिहिन हुन्छन् । आफ्नो सुखदुख सुनाउन सक्दैनन् । तर जीवित आमाबुवाहरू बोल्न, सुन्न र दुखसुखको अनुभव साटासाट गर्न सक्छन् । हाम्रो शरीर बुबा र आमाको रगतबाट बनेको हो । सबैको अनुभव पिताका विषयमा सुखद नहुन सक्छ । तर पिताबाट नै यो शरीरको निर्माण भएको हो । यो सत्यलाई निवारण गर्न सकिन्न । सबैका पिता असल नहुन सक्छन् । यसले अपमान गर्ने अधिकार प्राप्त हुँदैन । उनी असल पिता बन्न सकेनन् भने हामी असल पुत्र वन्नुपर्छ ।

मिठो र आदरपूर्ण बोली, वस्ने आशन, एक गिलास पानी र कुशलताको प्रश्न सबैका लागि सुलभ छ । तपाईंका बुवाले तपाईंको प्रतिक्षा गरिरहेको हुन सक्छ । तपाईं जहाँ भए पनि सबै कुरा विर्सेर एक पटक फोन अवस्य गर्ने प्रयत्न गर्नुहोला । यदि तपाईं आफ्नो पितासँग बस्नु हुन्छ भने विहानै उठेर पाउँमा आफ्नो शिर राखिदिनु होला । यदि पिता अत्यन्त बृद्ध र अशक्त हुनुहुछ भने स–परिवार एकैछिन पितासँग बसेर सुखदुःखको कुरा गर्नु उचित हुन्छ । जीवनको एउटा अवस्थामा हरेक पिताहरू छोराचोरीको प्रेमका भोका हुन्छन् । उनीहरूलाई संसारको कुनै पनि बस्तुले सन्तोष दिन सक्दैन । छोरोछोरीको एउटा मिठो बोली पिताको लागि अनन्त सन्तोष हुनसक्छ । आनन्दको स्रोत हुन सक्छ । अन्तिम समयको सुखद अनुभूति हुन सक्छ ।

हामी सनातन हिन्दू धर्मका पहरेदार हौँ । हामीके आफ्ना चाडवाडहरूको सम्मान नगरे कसैले गर्दैन । आफ्ना बालबालिकालाई यो लेख पढेर सुनाउँ । आफ्ना बुवाको सम्मान कसरी गर्न सकिन्छ भन्ने कुरा आफैले आफ्ना पिताको सम्मान गरेर सिकाउँ । हामीले आफ्ना बुवाको सम्मान गरे, हाम्रा बालबालिकाले हाम्रो आदर गर्ने छन् । सबै चालचलन रुढी हुँदैनन् । सबै रितिरिवाज अन्धविश्वास हुँदैनन् । कुशमा पानीमा अक्सिजन मिलाउने अपूर्व क्षमता हुन्छ भने मातापिताबाट हाम्रो यो शरीर निर्मित भएको हो । अनि, कुशेऔशी मान्न र बुबाको मुख हेर्न के को समस्या ? बुबाको मुख हेर्ने चाड मनाउनु भन्दा पनि पिताको सुखदुखमा सहयोगी बनेर बढी सम्मान गर्न सकिन्छ भन्ने कुरा नै आजको संकल्पको विषय बन्नुपर्छ ।

बुबाको मुख हेर्ने मनोविज्ञानः हामी मान्छे हौँ । हरेक मान्छे प्रेम, करूणा, क्षमा, दया, ममता, माया, श्रद्धा, सेवाको भावना, सुख, दुखआदिको पूँज हुन्छ । सकारात्मक र नकारात्मक दूबै भाव हुन्छन् । आधुनिकीकरणले परिवारकाविचको प्राकृतिक सम्वन्ध संकटमा परेको छ । कामकाजी छोराछोरी र बृद्ध भएका आमाबुबाको मिलन नभएको धेरै समय वित्न सक्छ । दूबै भेट्नका लागि आतुर हुन सक्छन् । समयले जुराएको हुँदैन । प्रेम वा पीडा व्यक्त गर्ने अवसर प्राप्त भैरहेको हुँदैन । काममा व्यस्त छोराछोरीले आफ्नो भावना सजिलैसँग पोख्ने ठाउँ बाबुआमा नै हुन् । बाबुआमाले आफ्नो सुखदुखको वेदना–भावना छोराछोरी समक्ष न विसाए कहाँ विसाउने ? मनोविज्ञानिक रूपमा बुबाको मुख हेर्ने दिन भावनात्मकरूपमा परिवार नजिकिने दिन हो ।

अनि, यो परिवार टाढिने पर्व पनि बन्न सक्छ । छोराछोरीको आगमनको आशा लगाएर बसेका आमाबुबा छोराछोरीले नसंझिदा मर्माहत हुन सक्छन् । सबैतिर बाबुको सम्मान प्राप्त भइरहेको रहेको अवस्थामा आफ्नै छोराछोरीको वेवास्थाले फाटो बढ्न सक्छ । यदि बुबा जीवित रहेका भाग्यमानीहरू मध्ये हुनुहुन्छ भने तपाईं भने बुबालाई अवश्य सम्झनु होला । मुख हेर्ने अवसरलाई सम्वन्ध सुधारको अवसरका रूपमा प्रयोग पनि गर्न सकिन्छ ।

अन्त्यमा, शास्त्रमा भनिएको छः अभिवादन नमन गर्ने, सधैं बृद्धहरूको सम्मान गर्नेहरूमा आयु, विद्या, बल र यशको निरन्तर वृद्धि भैरहन्छ । अतः आफ्ना (अभिवादन शीलस्य नित्यं बृद्धोपसेवनम् चत्वारी तस्य बर्धन्ते आयु, विद्या, यशो बलम्) । वुबाआमाको सम्मान गरौँ र आफ्नो सम्मानित भविष्य सुनिश्चित गरौँ । बाबु ख्वाउने औशी सबैको लागि हाम्रो बाबुसँगको हाम्रो सम्वन्ध अझै बलियो, प्रेममय र आदर्शमय बनोन् । सबै वुबाहरूले छोराछोरीबाट पूर्ण प्रेम मिलोस् । छोराछोरी र बाबुआमाको मधुर प्रेम भएको हाम्रो घर परिवार बनोस् । कुनै पनि आमाबुवाहरू छोराछोरीको कारणले दुःखी नहोउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका