६ लाख नागरिकको लाशमाथि उभिँदै कोभिड नियन्त्रणमा अमेरिका पहिलो!



चेतनाथ आचार्य।
वर्तमान युग सूचना र सञ्चारको दुनियाँ हो। कहाँ के भयो भन्ने कुरा सर्वसाधारण नागरिकले तुरुन्तै थाहा पाउँछन्। सन् २०२० को सुरुतिर कोभिड महामारी देखापर्यो । हेर्दा हेर्दै केही महिनाभित्रै कोभिड महामारी विश्वभरी फैलियो। सुरुमा चीनको हुपेई प्रान्तको वुहानलाई कोभिडले आक्रान्त बनाएको थियो। कोभिड नियन्त्रण गर्न चीनले भएभरको शक्ति लगायो। हजारौँ स्वास्थ्यकर्मीलाई वुहानमा खटायो। सुरक्षाकर्मी, सरकारी कर्मचारी, चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ता, स्वयंसेवक, विशेषज्ञसँगै चिनियाँ नेताहरु पनि वुहानमा रातदिन खटिरहे। वुहानलाई प्रभावकारी रुपमा लकडाउन गरियो र ७६ दिनपछि पूर्ण रुपमा कोभिड नियन्त्रण गर्दै वुहान खुल्यो।

ती ७६ दिनमा हुपेई प्रान्तको वुहान मात्र नभई चीनका विभिन्न प्रान्तमा कोभिड फैलिएको थियो। तर वुहानको नियन्त्रण विधिको अनुभवले गर्दा चीनका अन्य प्रान्तमा लकडाउन गर्नु परेन। विस्तारै चीनले प्रभावकारी रुपमा कोभिड नियन्त्रण गर्दै गयो र सन् २०२० को मध्यदेखि चिनियाँ अर्थतन्त्र लिकमा आयो। यस बीचमा चीनले आन्तरिक रुपमा कोभिड नियन्त्रण गर्ने कामसँगै बाह्य जगतलाई सहयोग आपूर्ति गर्न थाल्यो। मास्क, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, सेनिटाइजर, पीपीई, पन्जा, चस्मा लगायतका सामग्री निर्माण गर्दै विश्व बजारमा आपूर्ति गर्नुका साथै चीनले विभिन्न देशमा विशेषज्ञ चिकित्सक टोली पनि खटायो। फलतः सन् २०२० मा विश्वमै सकारात्मक आर्थिक वृद्धि हुने एक मात्र मुलुकमा चीन रह्यो। चालु वर्षको पूर्वार्द्धको छ महिनामा चिनियाँ अर्थतन्त्रको वृद्धिदर अत्यन्त उत्साहजनक रुपमा अगाडि बढिरहेको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले चिनियाँ अर्थतन्त्रको वृद्धिदरलाई अनुमानित प्रक्षेपण गरेको भन्दा राम्रो भएकाले ती संस्थाहरुले दुईपटक संशोधन गरिसकेका छन्। यो कुरा सबर्त्र थाहा भएकै हो। थाहा नहुनेले इन्टरनेटमा खोजिगर्दा तुरुन्तै थाहा हुन्छ नै।

चीनले प्रभावकारी रुपमा कोभिड नियन्त्रण गर्दैगर्दा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञानसम्बत रुपमा कोभिड नियन्त्रण गरेर आफ्ना नागरिकलाई बचाउनुको साटो चीनमाथि हिलो छयाप्ने र लान्छना लगाउन व्यस्त रहे। फलस्वरुप आज अमेरिकाको अवस्था के छ भनिरहनु नपर्ला।

तीन दिन अगाडि जुलाई १२ तारिखसम्मको तथ्याङ्क हेर्दा अमेरिकाको अवस्था यस्तो देखिन्छ। अमेरिकामा ३ करोड ३८ लाख ८० हजार व्यक्तिमा कोरोना संक्रमण भएको छ भने ६ लाख ७ हजार व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ। यतिबेलासम्मको विश्व आँकडामा कोभिडबाट सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुनेमा अमेरिका सबैभन्दा अग्रस्थानमा छ। यो कुरा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले पनि प्रकाश पार्दै आएको छ। धेरैले सोचेका थिए डोनाल्ड ट्रम्पसको बहिर्गमनपछि अमेरिकाको अवस्थामा सुधार आउनेछ। तर जो बाइडेन राष्ट्रपति भएको आधा वर्ष बित्न लाग्दा पनि खासै सुधार भएको छैन बरु दिनानुदिन अवस्था बिग्रदै आएको छ।

यही बीचमा अमेरिकी सञ्चार संस्था ब्लुमबर्गले गत जुन २८ एउटा प्रतिवेदन सार्वजनिक गर्योर। यस अगाडि पनि ब्लुमबर्गले सञ्चार र वित्तीय क्षेत्रमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको थियो। तर, यसपटकको उसको प्रतिवेदन आधारहिन र अपत्यारिलो भएकाले विश्वभरका इन्टरनेट प्रयोगकर्ताले ब्लुमबर्गलाई उडन्ते प्रतिवेदन भनेर व्यङ्ग्य गरिरहेका छन्। ब्लुमबर्गको उक्त प्रतिवेदन अनुसार विश्वमा कोभिड महामारीको प्रभावकारी नियन्त्रणमा अमेरिका पहिलो स्थानमा रहेको छ। श्रेणीक्रममा ५३ वटाको नाम छ र त्यसमा अमेरिका सबैभन्दा अग्रस्थानमा रहेको छ। त्यसपछि क्रमशः न्युजिल्याण्ड, स्विजरल्याण्ड, इजरायल, फ्रान्स, स्पेन, अष्ट्रेलिया रहेका छन्। ब्लुमबर्गले आठौँमा स्थानमा चीनलाई राखेको छ। चीनपछि क्रमशः बेलायत, दक्षिण कोरिया, नर्वे, डेनमार्क, सिंगापुर, टर्की, साउदी अरेबीया, बेल्जियम, फिनल्याण्ड, युएई, ग्रिस र रुमेनिया रहेका छन्।

ब्लुमबर्गको उक्त प्रतिवेदन सार्वजनिक भएपछि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले पत्रकार सम्मेलनमा चोटिलो जवाफ दिएका छन्। उनले भने ‘सायद ब्लुमबर्गको उक्त प्रतिवेदन भूलवस प्रकाशित भएको होला। त्रुटि भएमा ब्लुमबर्गले त्यसको जवाफ दिनुपर्छ।’ ब्लुमबर्गको उक्त समाचार पढेर पश्चिमी मुलुकका एक इन्टर्नेटप्रयोगकर्ता क्रिस सुथरल्याण्डले यस्तो प्रतिक्रिया जनाएका छन्- ‘अमेरिका पहिलो स्थानमा? खै कति हाँस्नू?’ त्यस्तै जिम बिडोनले भनेका छन् ‘कति बकवास रहेछ ब्लुमबर्गको समाचार।’

अमेरिकाको न्युयोर्कमा सन् १९८१ मा माइकल रुबेन्स ब्लुमबर्गले यो व्यावसायिक संस्था स्थापना गरेका हुन्। सन् १९४२ मा जन्मिएका माइकल रुबेन्स ब्लुमबर्ग अमेरिकी डेमोक्र्याटिक पार्टीका चर्चित राजनीतिज्ञ हुन्। उनी सन् २००२ देखि २०१३ सम्म न्युयोर्क सहरका मेयर थिए। गत वर्ष अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदार बन्ने दौडमा उनले पनि आवेदन दिएका थिए। उक्त निर्वाचनमा डेमोक्र्याटिक पार्टीकै जो बाइडेन राष्ट्रपतिको उम्मेदार बने र निर्वाचित पनि भए। ब्लुमबर्गको यही राजनीतिक आवद्धत्ताका कारण उल्लिखित प्रतिवेदन पूर्वाग्रही र आफ्नै पार्टीले अमेरिकी सरकारको नेतृत्व लिएको बेला कोभिडको बेला बदनाम बनेको अमेरिकालाई हाँस्यास्पद रुपमा उत्कृष्ट नम्बर एकमा राखिएको कुरा स्पष्ट छ।

अमेरिकामा मुख्यालय रहेको ब्लुमबर्गले विशेष गरी सञ्चारक्षेत्रमा काम गर्छ। यस अन्तर्गत रेडियो, टेलिभिजन, अनलाइन लगायतका भगिनी संस्थाहरुलाई ब्लुमबर्गले संचालन गर्दै आएको छ। सञ्चारतथा वित्तीय क्षेत्रमा खोज अनुसन्धान गरेर विभिन्न प्रतिवेदनहरु यसले पेश गर्दै आएको छ। यही सिलसिलामा ब्लुमबर्गले विश्वमा कोभिड महामारीलाई प्रभावकारी नियन्त्रण गर्ने राष्ट्रहरुको श्रेणीक्रम जुन २८ तारिख सार्वजनिक गरेको हो।

सर्वसाधारण सबैले अनुमान गर्न सक्छन् यो श्रेणीक्रम पूर्वाग्रही र भेदभावपूर्ण रहेको छ। किनभने यसमा कोभिड महामारीलाई राम्रोसँग नियन्त्रण गरेका मुलुकहरुलाई पछाडि राखेर अमेरिकालाई अगाडि देखाइएको छ। अमेरिकामा कोभिडबाट किन त्यति धेरै नागरिकको मृत्यु भयो भन्ने कुरा ब्लुमबर्गलाई थाहा नभएको होइन। न्युन आर्थिक अवस्था भएका अमेरिकीहरुले उपचार पाउन सकेनन्। किनभने उनीहरुसँग चिकित्सा बिमा थिएन। पूँजीवादी मुलुक अमेरिकामा बिमा नभएका व्यक्तिले उपचार गर्न असंभव प्राय छ। एकजना व्यक्तिले एक साता अस्पतालमा बसेर उपचार गराउँदा लाखौँ अमेरिकी डलर तिर्नुपर्छ। अमेरिकाले आफ्ना नागरिकलाई बचाउनुको साटो कोभिड महामारीलाई नै राजनीतिकरण गर्योर। विश्वमा गुम्दै गएको अमेरिकी विश्वास र प्रभावलाई कतै बढाउन सकिन्छ कि भनेर लाग्दा अमेरिका आफ्नै ६ लाख नागरिकलाई मृत्युको मुखमा धकेल्न पुग्यो। तर अमेरिकालाई केही हात परेन। न त विश्वमा हराएको अमेरिकी विश्वास फिर्ता भयो न आफ्नै नागरिकको ज्यान बचाउन। यस्तो बदनामीमा अमेरिकी बाइडेन सरकारले ब्लुमबर्गलाई प्रयोग गरेर भ्रमको खेती गर्दैछ।

ब्लुमबर्गले सन् २०२० को नोभेम्बरदेखि विश्वभरिको कोभिड महामारीको मासिक श्रेणीक्रम सार्वजनिक गर्दै आएको थियो। यसरी श्रेणीक्रम सार्वजनिक गर्दा सङ्क्रमणदर, मृत्युदर, आर्थिक बृद्धिको अनुमान आदि सूचकहरूलाई मूल्याङ्कनका आधार मानेको ब्लुमबर्गले स्पष्ट पार्दै आएको थियो। पछिल्लो प्रतिवेदनभन्दा अगाडि उसका प्रतिवेदनलाई विश्वास गरिएको थियो। तर यो पछिल्लो प्रतिवेदनमा श्रेणीक्रम निर्धारण गर्दा गरिने मूल्याङ्कनका आधार र मापदण्ड बदलिएको छ। बदलिएका सबैभन्दा महत्वपूर्ण कारक-तत्वहरूमा कोभिडको खोप लगाउने अनुपात, लकडाउन नीतिको गम्भीरता डिग्री, उड्डयनको परिवर्तन, खोप लगाएपछि अन्तर्राष्ट्रिय उड्डयन लाइनको संख्या आदि समावेश छन्।

डोनाल्ड ट्रम्सको नारा ‘अमेरिका पहिलो’ अनुसार नै ब्लुमबर्गले लकडाउन, निकास र प्रविष्टिको महामारी बिरुद्ध व्यवस्थापन नीतिलाई नकारात्मक कारक-तत्वको रुपमा राखेको सजिलै बुझ्न सकिन्छ। किनभने चीनले वुहानमा गरेको लकडाउनलाई अमेरिकाले मानव अधिकार हनन भनेर चीनको बदनाम गर्ने प्रयास नगरेको होइन। अमेरिकी गठबन्धनमा रहेका पश्चिमा मुलुक र ती मुलुकबाट सञ्चालित सञ्चारमाध्यमहरुले धमिलो पानीमा खेल्दै सकेसम्म चीनमाथि आरोप लगाउन तल्लिन रहे। अन्ततः कयौँ युरोपेली मुलुकले पनि चीनले अनुसरण गरेको लकडाउन बिधि अपनाए। अमेरिकाले चाहिँ आफ्ना नागरिकको कुनै वास्ता गरेन र आज मर्नेको सङ्ख्या ६ लाखभन्दा बढि पुगेको छ नकि चीनमा कोभिड महामारीबाट मर्नेको सङ्ख्या पाँचहजार पनि पुगेको थिएन। आफ्ना नागरिकलाई बचाएर चीनले मानव अधिकार हनन गर्यो अनि अमेरिकाले ६ लाखभन्दा बढी नागरिकलाई मारेर मानव अधिकारको प्रत्याभूति दियो। वाह! अमेरिकी नीति!
अमेरिकी सरकारले जस्तै ब्लुमबर्गले महामारी नियन्त्रणको सर्वव्यापी र सर्वस्वीकार्य नीतिलाई बेवास्ता गरेको छ र यसले विज्ञान पनि सम्मान गरेको छैन। मान्छेको बाँच्न पाउने अधिकार त अमेरिकाका लागि अन्य मुलुकमाथि हस्तक्षेप गर्ने हतियार मात्र हो।

अमेरिकी ब्लुमबर्ग सञ्चार संस्था मुख्यतः अन्तर्राष्ट्रिय समाचार क्षेत्रमा ख्याति कमाएको छ र यसले आफू वस्तुगत र निष्पक्ष भनेर घोषणा गरेको छ। तर उक्त प्रतिवेदनले विश्वभरका नागरिकहरु अचम्ममा परेका छन् र यस्तो कार्यले ब्लुमबर्गको प्रतिष्ठा तथा विश्वासनीयता पनि धुलिसात भएको छ। उक्त तथाकथित विश्वको महामारी बिरुद्ध श्रेणीक्रमलाई विश्वका इन्टरनेट प्रयोगकर्ताले विडम्बनापूर्ण भन्दै टिप्पणी गरेका छन्। कयौँ इन्टरनेट प्रयोगकर्ताले अमेरिकामा कोभिडबाट मृत्यु भएकाहरूको संख्या धेरै भएकाले अमेरिकी सरकारले अस्थायी शव गृहको निर्माण गरेर पहिलो स्थानमा रहेको छ भनेर व्यङ्ग्य गरेका छन्। आफ्नै ६ लाखभन्दा बढी नागरिकको लाशमाथि उभिएर अमेरिका पहिलो बनेको छ।

अहिलेको दुनियाँमा झुटलाई छोप्न सकिन्न। कालोलाई सेतो बनाउने प्रयास आफ्नै लागि प्रत्युत्पादक हुन्छ। कोभिड महामारी नियन्त्रणमा अमेरिका नराम्ररी विफल भएको वास्तविकता विश्वले देखिसकेको छ। विश्वका नागरिकहरूका आँखा उज्ज्वल छन्। पश्चिमी सञ्चार-माध्यमले उल्टोपाल्टो पारेर आफ्नै प्रतिष्ठा सिध्याउने काम बाहेक केही हुन सक्दैन। यस्तै हर्कतको पछिल्लो उदाहरणमा थपिएको छ ब्लुमबर्ग।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले