विवाद पर्दा धर्म सम्झौं



डा. गोविन्दशरण उपाध्याय ।
विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु । झगडा धेरै प्रकारका हुन्छन् । कलिलाई विवादहरूको युग भनिन्छ भागवतका अनुसार कलियुगी मान्छेहरू ससानो कुराका लागि ठूलो विवाद गर्छन् । कलियुगी मान्छेको चित्त माखोको पित्त भन्दा सानो हुन्छ । विवादनै कलियुगको विशेषता हो । लोग्नेस्वास्नी, गुरुचेला, साहुकामदार, सरकारजनता, विद्यार्थी शिक्षक, सबैतिर विवादै विवाद देखिन्छ । शास्त्रले कलियुगमा विवादका मूल विषयहरू पैसा र यौनाचार हुनेछ भनेर तोकेका छन् । वरिपरी फर्केर हेर्ने हो भने उपरोक्त भविष्यवाणी सत्य नै बुझ्न सकिन्छ ।

हाल नेपाली राजनीति र समाज विवादहरूको संग्रहालय बनेको छ । नाकका आधारमा, भूगोलका आधारमा, जातजातिका आधारमा, लिंगका आधारमा, भाषाका आधारमा नेपालीहरूलाई विवाद गर्न, लड्न, झगडा गर्न अभिप्रेरित गरिएको छ । विवाद सिकाउनकै लागि सरकारी पैसामा विज्ञहरू नेपालमा आएका छन् । गाउँगाउँ टोलटोल पसेर कसरी एकआपसमा निहुँ खोजेर विवाद गराउन सकिन्छ भनेर प्रशिक्षित गर्दैछन् । त्यसको परिणाम पनि अलिअलि प्राप्त हुन थालेको छ – छिमेकीलाई गालीगलौज गरेर छिमेकीहरू खुसी हुँदैछन् । धर्म, संस्कृति तथा दमनका आरोप त वहाना मात्र हुन् । नेपालीको जरोकिलो उखेल्न उद्यत विदेशी र विदेशीका भक्तहरूले भगिरथ प्रयत्न गरिनै रहेका छन् ।

विवाद त विवाद नै हुन्छन् । केही विवादहरू अत्यन्त सामान्य हुन्छन् जुन मौखिकरूपमा आरम्भ हुन्छ र केही समय मै सकिन्छन् । केही विवादहरू महाभारत वा प्रथम वा दोस्रो विश्वयुद्धका रूपमा विकसित हुन्छन् । मानवताको इतिहास विवाद तथा युद्धहरूसँग जोडिएको छ । विवाद र मान्छेको निकटस्थ सम्वन्ध छ । प्रकृतिले हरेक मान्छेलाई फरकफरक बनाएको छ । हरेक मान्छे आफैमा पूर्ण र अपूर्ण दूवै छ । अभिरुचिहरूका सवालमा हरेक मान्छे फरक छ । यही फरकपनका कारण विवादहरू सृजित हुन्छन् ।

विश्वका अधिकांश युद्धहरू, विवादहरू अविश्वास, अहङ्कार, शक्ति प्रदर्शन, शक्ति संचय, धन–सम्पति तथा स्त्रीहरूका लागि भएका छन् । काम, क्रोध, लोभ, मोहलाई नर्कको द्वार अर्थात् पापमार्गका रूपमा चिनिन्छन् । झैंझगडा र युद्धहरूले मानवजाति मात्र होइन प्रकृतिको कल्याण हुँदैन । युद्ध र झैंझगडाले विनाश निम्त्याउँछन् । वैदिक शास्त्रहरूले “वीरहरूले बसुन्धरा अर्थात् पृथ्वीको भोग गर्छन्“ भनिएको छ तर युद्ध र झगडाले मानवीय विनाश ल्याउँछ भन्ने विषयमा कुनै विवाद छैन ।

महाभारतको महासङ्ग्राम रोक्न श्रीकृष्णले दौत्य गर्नुभएको थियो तर सफल भएन । वैदिक संस्कृतिमा उल्लेखित युद्धको इतिहासका हरेक युद्धहरूलाई रोक्ने उद्योग भएको पढ्न सकिन्छ । ठूलाठूला युद्धहरूको आधार ससानो विवाद हुन्छ । महाभारतको युद्ध द्रोपदीको विनोदले निम्त्याएको हो । रामरावणको युद्ध पराजयको अपमानले भएको हो । प्रथम विश्वयुद्धमा फान्सेली राजाको अहङ्कार हो भने दोस्रो विश्वयुद्ध ठूला राष्ट्रहरूको धन–पिपासाको परिणाम हो । विवादनै विनाशका मूल हुन्छन् ।

नेपाली इतिहासमा युद्धहरूको उत्थान र समापन दूवै स–साना विवादका कारण भएको भेटिन्छ । धार्मिकतायुक्त व्यक्तिले सर्वप्रथम विवाद नै गर्दैनन् । विवाद नै उत्पन्न भए धार्मिकतापूर्वक विवादका विषयवस्तुका विषयमा आत्मचिन्तन गर्छन् । विवेकपूर्ण तवरले चिन्तन गर्दा विवादका अनेकौं विषयहरू निराकरण गर्न सकिन्छ । महाराज मनुले विवादका विषयहरू उत्पन्न गर्ने “जमिन, स्वर्ण र स्त्री“लाई पहिचान गरेका छन् । आज समय वदलिएको छ तर सद्गुणहरूको उपयोगिता जस्ताको त्यस्तै छ । क्षमाशील व्यक्तिके ठूलाठूला अपराधहरूका लागि क्षमा प्रदान गर्छन् । क्षमाले विवाद अन्त्य हुन्छ ।

“विवादका वखत धर्म सम्झिनु” भन्नुको अर्थ हो दया, क्षमा, सहयोग, विद्या जस्ता सद्गुण (धर्म)हरूले मान्छेको शक्तिलाई सत्यनिष्ठा, दान तथा अस्तेयतिर अभिप्रेरित हुन्छ । मान्छे विवाद गर्ने प्राणी हो र विवादको कारण रूचि तथा चिन्तनको भिन्नता हो । रुचिहरूमा भिन्नता हुँदा विवाद उत्पन्न हुन्छन् । विवादका वखतमा धर्मको स्मरण गर्दा विवादहरू समाधान हुन्छन् । पहिलो कुरा धार्मिक स्वभावका व्यक्तिहरू विवादमा पर्दैनन् । विवादको प्रसंग उत्पन्न हुँदा अहिंसा, दया, प्रेम तथा सहृदयताको प्रसंग सम्झिन्छन् । विवादभन्दा न्याय, सत्य तथा क्षमाको मार्ग अवलम्बन गर्छन् । सत्य, अहिंसा तथा न्यायको मार्गलाई सम्झिने हो भने विवादका लागि कुनै अवकाश हुँदैन । सदाचारी मनुष्यले सदाचार तथा सत्यकै बाटो रोज्दछन् । धर्मको रक्षा सदाचारको रक्षा हो र सदाचारीले हरेक अवस्थामा आफ्ना सद्गुणहरूको रक्षा गर्छन् ।

धर्मको तात्विक स्वरूप अत्यन्त गहन छ । वेदहरूले सत्य बोल्नु तर यदि सत्य अप्रिय र कसैको लागि अत्यन्त अहितकारक छ भने तेस्तो सत्य बोल्नु वा व्यबहार गर्नुभन्दा चूप नै रहनु भन्ने निर्देशन दिएका छन् । धार्मिकताको मूल प्रयोजन परोपकार हो भन्ने वेदव्यासका बचनहरू सधैं सम्झन र व्यबहार गर्न योग्य छन् । देशकाल, परिस्थिति तथा सांस्कृतिक भिन्नताका आधारमा हरेक व्यक्तिका संस्कृतिहरू फरक हुन्छन् । त्यस्तो अवस्थामा कर्मकाण्डमा विविधता हुनु स्वाभाविक हुन्छ । मनुस्मृतिले आफ्नो सद्गुणलाई कुनै हालतमा न छोड्नु तर अर्काका गुणदोषहरूप्रति बढी आलोचनात्मक नहुनु भन्ने प्रष्ट आदेश दिएको छ । विवादबाट जोगिने यो भन्दा असल सूत्र केही छैन । सत्यता, न्याय, सरलता र सम्मान विवाद रोक्ने वा मन्थर गर्ने सबैभन्दा असल मार्ग हुन् ।

मान्छेहरूको जीवन स–साना विवादहरूले क्षतिग्रस्त भएको हुन्छ । विवादका लागि ससानो कारण नै पर्याप्त हुन्छ । छिमेकी, मित्र, पतिपत्नी, छोराछोरी, कामदार र साहुआदि वीच विवाद हुँदा न्याय, सत्य, सम्मान तथा सरलता अवलम्बन गर्ने हो भने विवादहरू सघन हुँदैनन् । शास्त्रमा विवादलाई स्वाभाविक रूपमा ग्रहण गरिएको छ । विवादको अवसर उपस्थित हुँदा सद्गुणीले शान्ति, क्षमा, दया,न्याय आदि सद्गुणहरूको अवलम्बन गर्छ भने आसुरी गुण भएका व्यक्तिहरूले दम्भ, क्रोध,अभिमान, हिंसा, अपमानआदिलाई महत्व दिन्छन् । सद्गुणहरूले सद्गुणको वृद्धि गर्छ भने अवगुणहरूले अवगुणहरूकै वृद्धि हुन्छ । बुद्ध भन्छन् “तिमी अक्रोधित रह्यौं भने शत्रु पनि क्रोध त्याग्न बाध्य हुन्छ ।” परोपकार, अहिंसा तथा सत्याग्रहले विवादहरू सरल हुन्छन् । पराजित र विजेताको विभेद अन्त्य हुन्छ । मन, कर्म र बचन विवाद रहित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं

बहुमतको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्र यादवको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएपछि नयाँ