धर्मो रक्षति रक्षित:



डा. गोविन्दशरण उपाध्याय ।
धर्मो रक्षति रक्षितः धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ । धर्मको रक्षाले मानव समाजको रक्षा हुन्छ । यहाँ यदि धर्म शब्दको अर्थ रिलिजन भन्ने बुझियो भने अनर्थ हुन्छ । धेरैजसो रिलिजनहरूको इतिहास रक्षाको लागि होइन आफ्नो प्रचारप्रसारका लागि करोडौं मानवहरुको, सांस्कृतिक धरोहरहरूको र संस्कृतिहरूको विनाशका लागि जिम्मेदार छन् । आज धार्मिकताको अर्थ असहिष्णुता, कट्टरता, जिहादीपन र अर्काको सांस्कृतिक आस्थाहरूलाई शत्रुतापूर्ण व्यबहार गर्ने समुदायका रूपमा परिचित छ । मुस्लिम आतंकवाद, इसाई–आतंकवाद, बौद्ध आतंकवाद (म्यानमार) र हिन्दू आतंकवाद (भारत) शब्दहरूले यही असहिष्णुताको सन्दर्भ व्यक्त गर्छन् ।

वैदिक ऋषिमुनिहरूले धर्मशब्दको अर्थ र प्रयोजन सद्गुण, सदआचरण तथा असलगुणका रूपमा बुझ्ने र त्यसैअनुसार कर्म गर्न अभिप्रेरित गरेका हुन् । जसरी वेदको अर्थ ज्ञान हो त्यसैगरी धर्म शब्दको अर्थ सदाचार हो । सदाचारी व्यक्ति नै धार्मिक हुन् । धार्मिक ती हुन् जसले विश्वलाई आफ्नै कुटुम्ब ठानेर व्यबहार गर्छ । मन्दिर भत्काउनेहरू, धर्मपरिवर्तन गराउनेहरू, हिंसा गर्नेहरू, अर्काको जीवन नाश गर्नेहरू कसरी धार्मिक हुनसक्छन् ? किनभने यी सबै अधर्म हुन् । गुटका विश्वास हुन् जसले आफूबाहेक अरुको अस्तित्वलाई स्वीकार गर्दैन ।

यहाँ धर्म रक्षाको अर्थ हो सदाचार, सद्गुण, दैविसम्पदाको रक्षा । यदि हामीले दया गर्छौं भने हामीलाई अर्कोले दया गर्छ अर्थात् धर्मले धर्मको रक्षा हुन्छ । यदि कसैले क्षमा दिन्छ भने उसले पनि उत्तरमा दया नै प्राप्त गर्छ । यदि कसैले दान दिन्छ भने वदलामा उसले पनि दाननै प्राप्त गर्छ । यदि कसैले कसैको जीवन रक्षा गर्छ भने उसले पनि जीवनदान प्राप्त गर्छ । यदि कसैले विनम्रतापूर्ण व्यबहार गर्छ भने उसले पनि विनम्रता नै प्राप्त गर्छ । शत्रुता गर्नेले शत्रुता, घृणा गर्नेले घृणा, ठगी गर्नेले ठगी, धोका दिनेले धोका र विश्वासघात गर्नेले विश्वासघात नै गर्छ। अधर्मले अधर्मको वृद्धि हुन्छ, धर्म (सद्गुण)ले धार्मिकताको वृद्धि हुन्छ ।

धार्मिकताको वृद्धि भनेकै संसार अझै सुरक्षित र मायालु हुनु हो ।जीवन वनको सुरक्षा जीवको सबैभन्दा ठूलो र महत्वपूर्ण कार्य हो । हरेक प्राणिलाई जीवनको माया हुनुपर्छ – यस विषयमा मान्छे फरक छैन । हामीले धेरै ठाउँमा देखेका छौँ पशुहरूले पनि मायाको उत्तर मायामै दिन्छन्, मान्छेको त कुरा नै छोडौं । त्यसैले हरेक व्यक्तिले असलगुणहरूको बडो तत्परताका साथ पालन गर्नुपर्छ र ती गुणहरू पुस्तान्तरण पनि गर्नुपर्छ । सद्गुणहरूको पुस्तान्तरण नै नैतिक शिक्षा हो । रेलिजियस शिक्षा भन्दा धार्मिक शिक्षा विश्वका लागि हितकर र बान्छित छ । त्यसैले माताको सम्मान गर्न, पिताको आज्ञाकारी बन, अतिथिको सत्कार गर्न गुरूको सम्मान गर जस्ता आदेशहरूको पालन गर्नेले गुरुका रूपमा, पिताका रूपमा, माताका रूपमा,अतिथिका रूपमा, पतिका रूपमा, पत्नीका रूपमा पुनः प्रत्युत्तर प्राप्त गर्छ । सद्गुणहरूको पालना नगर्नेले सद्गुणहरूको पुस्तान्तरण पनि गर्न सक्दैन ।

धर्मको विनाश हुन्छ । त्यसैले यदि हामीले धर्म (सदाचार, सद्गुण दैवि–सम्पदाको) पालन गर्यौं भने त्यसले हाम्रो रक्षा गर्छ अर्थात् छोराछोरीहरू आज्ञाकारी, सत्यवादी, दयालु, क्षमाशील, विद्वान, अहिंसक, इन्द्रीयका नियामक, दयालुजस्ता दैवीगुणहरूले सुसज्जित हुन्छन् । त्यसैले हरेक व्यक्तिले धार्मिकताको सुरक्षा बडो मन लगाएर गर्नुपर्छ किनभने यसैबाट सदाचार छोराछोरीमा, छिमेकीमा हस्तान्तरण हुन्छ । हामीले धर्मको रक्षा गर्यौं भने धर्मले हाम्रो रक्षा गर्छ ।

गीताको अन्तिम श्लोकमा “यतो धर्मः ततो जयः अर्थात् जहाँ धर्म हुन्छ त्यहाँ विजय हुन्छ“ भनेर धर्म रक्षाको निष्कर्ष प्रस्तुत गरिएको छ । यहाँ जय शब्दको अर्थ युद्धमा विजय होइन असलमा अधार्मिकतामा नियन्त्रण हो । जहाँ सद्गुणी, सदाचारी, सत्यतापूर्ण व्यवहार गर्ने समाज निवास गर्छ, त्यहाँ सबै प्रकारका सम्पदाहरू प्राप्त हुन्छन् भन्ने वैदिक प्रतिज्ञा पूर्ण हुन्छ । वैदिक ऋषिमुनिहरूले समाजका लागि जुन धार्मिकताको उपदेश गर्नुभएको छ, ती अकाट्य, सार्वजनिक र सार्वकालिक छन् । वैदिकहरूले ऋषिमुनिबाट प्राप्त उपरोक्त परम्पराको “वैश्विकता“ प्रचारप्रसार गर्न सकेमात्र विश्व सुरक्षित हुने छ । राजनीति, आधुनिक विज्ञान (हतियार, बमहरू निर्माण गरेर जीवनको अस्तित्वलाई असुरक्षित पार्ने) र रिलिजनहरूको असहिष्णुताले निम्त्याएका दुःखहरू, डरहरू सधैंका लागि अन्त्य हुनेछन् । हामीले आफ्नो “धर्म“ चिने र त्यसअनुसारको प्रतिमान स्थापित गरे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत