अवचेतन मनको अपार शक्ति



मनोजराज रेग्मी।

कुनै देशको सेनाको सेनापति युद्धमा शत्रुद्वारा हारेर निराश भएर घर फर्केको थियो । ऊ उदास थियो, पत्नीले उदास हुनु पछाडिको जब कारण सोधिन्, तब उसले सबै कुरा बतायो । पत्नीले सबै कुरा सुनेपछि रिसाउँदै भनिन्, ‘मैले त एउटा सुरवीर सेनापतिसँग विवाह गरेकी थिएँ, तिमी त एकदम डरपोक निक्ल्यौ । म त तिमी जिउँदै विधुवाजस्तै भएँ । तिमीले मनको युद्ध हार्यौ ।’

पत्नीका कुराले सेनापतीलाई ठूलो चोट पुग्यो । उसको आत्मसम्मानमा आघात पुग्यो । स्वयंलाई उसले धिक्कार्न थाल्यो र तुरून्त उठेर ऊ वापस गयो । सेनालाई एकीकृत गरेर शत्रुसँग युद्ध गर्यो र जित्यो पनि । यो विजय उसको मनको विजय थियो ।

अचम्मको कुरा यो हो कि मनुष्यको शरीरमा लगभग सबै अंग स्थूल भौतिक रूपमा देखिन्छ जस्तो कि आँखा, नाक, कान, हृदय आदि । मन जसले सबैलाई चलाउँछ, रोक्छ, भड्काउँछ, विजय पराजय दिलाउँदछ, सफल–असफलता, प्रेम–घृणा आदि अनेकौं मनोभाव वा कार्यको कारण बन्दछ । मनको अस्तित्व स्थूल अवस्थामा छैन, यसलाई हामी देख्न सक्दैनौं । वेदहरूमा अन्तःकरण चतुष्टः को वर्णन गरिएको छ । यहाँ हामीले अन्तःकरणलाई बुझ्नु जरूरी छ ।

अन्तः को अर्थ हो शरीरको भित्र रहने इन्द्रियहरू, यसबाट बाहिरी वस्तुहरूको सीधा ज्ञान प्राप्त हुँदैन जबकी बाह्य ज्ञानेन्द्रियहरू जस्तो कि आँखा, नाक, कान आदिद्वारा बाहिरी वस्तुहरूको ज्ञान हुन्छ । अन्तःकरणले शरीरको भित्रको इन्द्रियहरूको ग्रहण वा अनुभव गर्दछ जस्तो ज्ञान–अज्ञान, इच्छा, सुख–दुःख, आशा–निराशा, प्रयत्न आदि वृत्तिहरू, आदि ।

अन्तःकरण चारवटा छन्– मन, बुद्धि, चित्त र अहंकार । यी चार वृत्तिहरू हुन् । मन संकल्प–विकल्प गर्दछ, बुद्धि निश्चय, सत्य–असत्य, ठीक–गलत बताउँछ, चिन्तन रूपी वृत्तिको नाम चित्त हो जसले विचार, घटना आदिलाई सम्हालेर राख्दछ । स्फुरण वा गर्वरूप वृत्तिको नाम हो अहंकार मन, यो एक प्रवाह हो विचारहरूको, संकल्प–विकल्पको । मन निकै चचंल छ । बाँदर जस्तो नाचिरहन्छ । यसको गति नकारात्मकतातिर बढी हुन्छ । यसकारण भगवान श्रीकृष्णले मनलाई ईश्वरको चरणमा सुम्पेर मनुष्यलाई आफ्नो उद्दार स्वयम गर्ने प्रेरणा दिएका थिए । भगवानले गीतामा भन्नुहुन्छ:
उद्धारदात्मनात्मानं नात्मानमवसादयेत ।
आत्मैव हयात्मनो बन्धुरात्मैव रिपुरात्मनः।।
अर्थात मनुष्यले आफूद्वारा नै संसार समुन्द्रबाट स्वयं आफ्नो उद्दार गरोस् र आफूलाई अधोगतिमा नलैजाओस् किनकि मनुष्य आफू नै आफ्नो मित्र हो र शत्रु पनि ।

योगीराज कृष्ण यो पनि भन्दछन् कि मनुष्यले यो कसरी गर्ने त ?
बन्धुरात्मनस्तस्य येनात्मैवात्मना जितः।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।।

अर्थात जो जीवात्माद्वारा मन र इन्द्रिय सहित शरीरलाई जित्दछ त्यस जीवात्माको लागि ऊ आफू नै मित्र हुन्छ र जसले मन तथा इन्द्रियसहित शरीर जितेको हुँदैन उसको लागि ऊ शत्रु जस्तै हो । यसको सार यो हो कि यस पृथ्वीमा रहेर सफल हुनको लागि मनलाई मजबुत बनाउन बहुत जरूरी छ । यो निरन्तरको ध्यान, योग आदि द्वारा नै सम्भव हुन्छ । यो कुरा जान्नु निकै जरूरी छ कि तपाईको मनले कस्तो सोच्दछ ? सकारात्मक वा नकारात्मक ? ईश्वरीय वा सांसरिक, सफलता वा विफलता, स्वास्थ्य वा रोग, प्रेम वा घृणा, तपाईको जीवनमा त्यही प्रकट हुन्छ । यसका अनेकौं उदाहरण दिनप्रतिदिन देख्न सकिन्छ ।

मनको तीन स्थितिहरू बताइएको छ, चेतन मन, अवचेतन मन र अचेतन मन । मनको अंग्रेजी शब्द छैन त्यसकारण माइन्ड शब्दको नै प्रयोग गरिन्छ । जबकि माइण्डको अर्थ मस्तिष्कसँग सम्बन्धित छ । गुगलमा मनको अंग्रेजी शब्द माइण्ड दिइएको छ । चेतन मन त्यो हो जुन जागृत अवस्थामा सजीव हुन्छ, तपाईं जागेको अवस्थामा चेतन अवस्थामा सधैँ त्यसको प्रयोग गर्नुहुन्छ । अवचेतन मन तपाईंको विचारहरू, चिन्तन, क्रियाकलापहरू, स्मृतिहरूको संग्रह गृह हो । यो चित्त हो, जसले यी सबैलाई तपाईको लागि सम्भालेर राख्दछ । यसको बारेमा एउटा सरल उदाहरण छ । तपाई कार, गाडी जब चलाउन सिक्नुहुन्छ तब निकै ध्यान दिएर, सचेत अवस्थामा सिक्नुहुन्छ । जब पूर्ण रूपमा सिक्नुहुन्छ, अभ्यस्त हुनुहुन्छ तब तपाई गीत गाउँदै, कुराकानी गर्दै पनि गाडी चलाउन सक्नुहुन्छ । अब के भयो, तपाई पनि उही, गाडी पनि उही, वास्तवमा यो भयो कि गाडी चलाउने कला तपाईंको अवचेतन मनमा अंकित भयो । अब त्यसले तपाईंलाई निर्देश दिइरहेको छ । पहिलो स्थितिमा तपाईको मन चेतन थियो, दोश्रो अवस्थामा अवचेतन थियो । जब तपाई सुत्नुहुन्छ वा कुनै बेहोसको अवस्थामा हुनुहुन्छ तब पनि अचेतन मनले काम गरिरहेको हुन्छ ।

डा. जोसफ मर्फीले आफ्नो पुस्तक ‘द पावर अफ युवर सबकन्शस माइण्ड’ मा अवचेतन मनको निकै महत्व भएको बताएका छन् । उनका अनुसार मनको दुई स्तर हुन्छ चेतन र अवचेतन । चेतन मन जहाजको कप्तान जस्तै हो । उसको आदेशको तपाईको शरीर, पर्यावरण र सबैले पालना गर्दछ । जबकि तपाईको अवचेतन मन केवल त्यही आदेश मान्दछ जुन तपाईले उसलाई दिनुहुन्छ । यसले तपाईको आदेशमाथि प्रश्नचिन्ह लगाउँदैन । यदि तपाईले अवचेतन मनको गुप्त शक्तिलाई चिन्न सक्नुहुन्छ भने तपाईको जीवनमा चमत्कार घट्न सक्छ । यसको लागि तपाईंको चेतन मनले अवचेतन मनलाई निरन्तर रूपमा सकारात्मक सन्देश दिइरहनु पर्दछ । यो आदेश सांसारिक अर्थात भौतिक तथा ईश्वरीय वा पारलौकिक जे पनि हुन सक्दछ । मर्फी भन्दछन्– तपाईको अवचेतन मन कहिल्यै पनि वृद्ध हुँदैन । यो समयातित, आयुविहीन र अन्तहीन हुन्छ । यो ईश्वरको सार्वभौमिक मनको अंश हो । यो न त कहिल्यै जन्मन्छ न त कहिल्यै मर्दछ ।

तपाईंको विचार नै तपाईको शक्ति हो । मनको राम्रो विचारलाई भोजन दिनुहोस्, आशावादी, विश्वासपूर्ण, सफलतासँग सम्बन्धी सकारात्मक विचारले मनलाई सबल बनाउँदछ । आफ्नो विचारलाई बदल्नुहोस्, आफ्नो भाग्यलाई बदल्नुहोस् । तपाईंको मन तपाईको मूल्यवान सम्पत्ति हो । राम्रो सोंच्नुभयो भने राम्रै पाउनुहुनेछ । कहिल्यै पनि यो नसोच्नुस् कि मैले यो गर्न सक्दिन, मेरो क्षमताको यो होइन, मबाट यो हुन सक्दैन, यसको विपरीत सोच्नुहोस्, तपाईंलाई सफलता मिल्नेछ ।

आजकलका युवायुवतीहरूअक्सर भन्दछन्, मेरो मुड छैन । यो केवल मानसिक शिथिलता हो । मनलाई मजबुत गर्नुहोस्, संकल्प दृढ राख्नुहोस्, तपाईं सफल हुनुहुन्छ । हामीले नकारात्मक विचारले आफैलाई हानी गर्दछौं । हामी क्रोध, वैरभाव, विरोध, ईश्र्याबाट आफ्नै नोक्सान गर्दछौं । चिन्ता, भय, अवसाद, डरले हाम्रो शरीरलाई धेरै हानि गर्दछ ।

तपाईंको मानसिक शक्तिको नब्बे प्रतिशत आधार तपाईको अवचेतन मन हो । तपाईंले जीवनमा जे कुरा पनि गर्न चाहनुहुन्छ, त्यसको लागि चेतन मनमा संकल्प गर्नुहोस्, त्यही आदेश अवचेतन मनलाई दिनुहोस् । त्यसलाई बारम्बार दोहो-याउनुहोस्, तपाईंलाई अवश्य पनि सफलता मिल्दछ । राति नुहाउने समयमा त्यस संकल्पलाई सँगालेर राख्नुहोस् । जुन व्यक्तिको आफ्नो मनमाथि अधिकार हुन्छ, त्यो व्यक्ति परिस्थितिसँग डराउँदैन । तपाईंले जुन शक्तिको निश्चय गर्नुहुन्छ मनमा त्यही शक्तिको उदय हुन्छ । तपाईंले मात्र मनलाई सकारात्मक शक्तिको भोजन दिनु आवश्यक छ । तपाईको विजय निश्चित छ । मनसँग हार खाने होइन, मनलाई जित्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका