कोरोना र चाडपर्वबारे गाउँमा रहेका हरेक बुवाआमालाई पत्र



– रवीन्द्र समीर |
..
पूजनीय बुवाआमा, ढोग छ |
कुशल छु, कुशलताको कामना गर्दछु |
.
काठमाडौ उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ | जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अधिकांशको पोजिटिभ देखिएको छ | हाम्रो सुर्के पाटोभन्दा साँघुरो छ, परीक्षणको दायरा | त्यसैले हामीलाई पनि संक्रमण भएको छ कि छैन ? थाहा छैन | कमिलाको गोलोजस्तो काठमाडौ कोरोना महामारीको केन्द्रबिन्दु बनेको छ | यो गोलोमा संक्रमण फैलियो भने के अवस्था हुन्छ, हजुरहरुलाई बिदितै छ | काठमाडौजस्तो शिक्षित, सुबिधायुक्त तथा संचार साधनले भरपुर ठाउँमा कोरोना फैलिदैन भन्नुहुन्थ्यो हजुरहरुले | त्यो सत्य होइन रहेछ | यहाँका धेरै मान्छेले सहि तरिकाले मास्क लगाउंदैनन्, व्यक्तिगत दुरी कायम गर्दैनन्, भीडभाड गर्छन्, बिना कारण लखरलखर हिंड्छन् |

सबैले सोंच्छन – ‘ कोरोना मलाइ सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन … यो त अरुले गर्नुपर्छ |’ सरकार पनि गजबको छ | अनिबार्य र सहि तरिकाले मास्क लगाएको / नलगाएको सरकारलाई थाहा छैन, दुरी तथा भीडभाडको पनि मतलब छैन | अरु देशमा जस्तै अनुगमन, निगरानी र जरिवानाको ब्यबस्था गरेको भए अहिले यो स्थिति आउने थिएन | अरु देशमा कसरी महामारी नियन्त्रण भयो ? कसरी कडाइ गरे ? जनता कति अनुशाशित छन् ? सरकारले जनतालाई राहत र सहुलियत कसरी प्रदान गर्यो ? यी कुरा कसैले पनि बुझेन |

हजुरलाई किन झुट बोल्नु, भान्सामा काम गर्नेलाई सपासप खाएको बात लागेको छ | भान्सामा बात लागेकालाई खेतबारीमा खटाए हुन्थ्यो नि !
यो दशैंमा रातिको नाइटबस चढेर घर आउने, हजुरहरुसंग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने, बाल्यकालमा आफु दौडिएका / पौडिएका ठाउँमा पुग्ने, साथीभाइलाइ भेट्ने, कोटहरुमा मेला हेर्ने, मान्यजनको हातबाट टिका आशिर्बाद लिने, जिब्रोको भित्रि तहमा बसेको स्वादलाई अर्गानिक खानेकुराले ब्युँताउने …. धेरै सपना थिए | यसपटक कोरोनाले बाटो छेक्यो |

बसमा कोरोना सर्ने खतरा मोलेर त्यहाँ आउँदा हजुरहरु, अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि भनेर म नआउने बिचार गरेको छु | भिडियो कलमा टिका लगाइदिनुहोला, कान थाप भन्दै जमरा लगाइदिनुहोला, आशिर्वाद सुन् भन्दै आशिर्बाद दिनुहोला | यो यो खा भन्नुहोला, हामी त्यहि खानेछौँ | इन्टरनेटले धोका दिए मोबाइल फोन छदैछ, त्यसले टावर टिप्न सकेन भने मनमनै आशिर्बाद दिनुहोला | आज हो कि भोलि भन्ने जगजगीमा यहाँ बस्न एकदम डरमर्दो छ | १ बर्ष ढुक्क गाउँ बस्न पाए त यो कोरोनाको टेन्सन नै हुने थिएन | आफ्नो काम, घर, हजुरका नातिनातिनाका पढाइ आदिले गर्दा आगोभित्र बस्नुपर्ने बाध्यता भयो | अर्को साल पहिले खोप लगाउँला अनि दशैंको टिका लगाउँला |
.
खै ! म लेख्छु भन्नुभयो दाइले –
.
पूजनीय बुवाआमा, ढोग छ |
म जेठो छोरो |
.
बुवाआमा, भाइले लेखेको कुरामा मेरो पनि सहिछाप छ | हजुरहरुलाई थाहा छ, मलाइ प्रेसर, सुगर, कोलेस्टेरोल छ | कोरोनाले छोयो भने गाह्रो पार्ला जस्तो छ | अहिल्यै यहाँका अस्पताल भरिभराउ भए | अस्पतालमा खुट्टो राख्न नपाउने अवस्था आयो | मेरो ब्यापार पनि चलेको छैन | लकडाउन र कोरोनाको डरले गर्दा मान्छेसँग पैसा नै छैन |

ज्यानभन्दा ठूलो केहि होइन | मेरो परिवार १ बर्ष बस्ने गरि आउछौं | केटाकेटी ठूला भए, आफ्नो मेसो गर्न सक्छन् | म र हजुरहरुकी बुहारी आउने निर्लय गर्यौं | चिन्ता नगर्नुहोला, बसमा राम्रो मास्क लगाएर, फेस शिल्ड लगाएर, हातमा पंजा लगाएर, स्यानिटाइजर प्रयोग गर्दै, पानी र खानेकुरा घरबाटै लिएर तथा बस रोकेको ठाउँमा अलिपर गएर खानपिन गर्दै आउनेछौं | बाहिरका असुरक्षित खाजा पसल र खाना पसलमा केहि खाने छैनौं | बसभित्र सकेको धेरै दुरी कायम गर्नेछौं | उस्तै परे प्लास्टिकले छेकेर हाम्रो सिटलाई क्याबिन बनाउनेछौं | घरमा आएपछि हामी छुट्टै कोठामा बस्नेछौं | हजुरहरुसंग ४ हात टाढा बसेर मास्क लगाएर गफ चुट्नेछौं | २ हप्तापछि मात्र गाउँमा डुल्नेछौँ तथा हजुरहरुसंग अगेनामा बसेर बात मार्नेछौँ | केहि लक्षण देखिएमा पालिकामा गएर टेस्ट गर्नेछौं | बिजनेस, ब्यापार, पैसो भन्ने कुरा पनि त्यस्तै रहेछ | ज्यान रहे न सबै आफ्नो हो | त्यसैले हामीले ज्यान रोजेर गाउँमा आउने भयौं | के थाहा, आधुनिक खेतीपाती, कुखुरा तथा बाख्रापालन गरेर त्यहिं पो मालामाल हुन्छ कि ? त्यसो भयो भने यो कमिलाको गोलोमा फर्किने बिचार छैन |
.
मलाइ ले त ! अब दिदीको पालो
.
पूजनीय बुवाआमा, दर्शन |
.
कोरभन्दा कोरोना खतरा रहेछ | यो खाल्डे काठमाडौमा जेनतेन ज्यान पालेका थियौं | भाडा, लोन र स्टाफ खर्चले हामी पुरै डुबेका छौं | धेरै घाटा लाग्यो | एक दुईबर्ष यस्तै हुन्छ | हामीले मिल्ने कुरा बेचबिखन गर्दैछौं | हजुरका ज्वाईंले तराइको आफ्नै घरमा बस्ने, ब्यापार गर्ने र केटाकेटीलाई उतै पढाउने ब्यबस्था गर्दै हुनुहुन्छ | ट्रक भाडामा लिएर खेतखेतका तरकारी, फलफुल, अण्डा, दुध आदि सहरमा पुर्याएर बेच्ने काम गर्ने रे !
१५ बर्ष काठमाडौ बस्यौं, सधैको धुलो, धुँवा, पानीको अभाव, ट्राफिक जाम र अस्तव्यस्त देखेर वाक्क लागेको थियो | अब आफ्नै ठाउँमा बस्ने, शुद्ध हावा, पानी, खाना खाने निर्णय गर्यौं | दशैँ तराइमा मनाउछौं, तिहारमा त्यहाँ आउनेछु | तिहार पनि मास्क लगाएर, दुरी कायम गरेर तथा सरसफाईको ख्याल गरेर मनाउने छौं | केटाकेटीले देउसीभैलो खेल्ने छैनन् | उहाँले यसपटकको छठमा पनि यस्तै सुरक्षा सतर्कता अपनाएर मात्र मनाउने योजना गर्नुभएको छ | सहरबाट आएका मान्छेसंग जोगिएर बस्नुहोला | कोरोना छ कि छैन भनेर निधारमा लेखेको हुँदैन |
.
बहिनीले पनि लेख्ने रे !
.
पूजनीय बुवाआमा, दर्शन |
.
कोठामा बस्दा बस्दा वाक्क लाग्यो | बाहिर निस्किन डर लाग्छ | नाकमुनी, च्युँडोमा तथा घांटीमा मास्क लगाएर हिंड्छन्, यताका मान्छे | व्यक्तिगत दुरीको मतलब छैन | तरकारी बजारमा बसेर एउटा एउटा छाम्दै गोलभेंडा किन्दै गर्छन् | जहाँ गयो, त्यहि भीड छ | न जनतालाई मतलब छ, न सरकारलाई | हाम्रो टोलमा धेरैलाई कोरोना लागिसक्यो | यति मात्र हो र ? कोरोना लागेका मान्छे २ हप्ता कोठाभित्र अनिबार्य बस्नुपर्नेमा पसल जाने, मार्निंग वाक गर्ने, दोकानमा बसेर सामान बेच्ने, रोग लुकाउने, सार्वजनिक यातायातमा चढ्ने .. बेथिति छ | कसैलाई कसैको डर छैन | सरकारले हरेक ठाउँमा कडाइ गर्ने, सुरक्षाकर्मीको गस्ती खटाउने, जरिवाना गर्ने .. काम गरेको छैन | हाम्रो टोलमा सुरक्षाकर्मी नदेखेको २ महिना भयो | यस्तो तालले कोरोना नियन्त्रण हुँदैन | नेताहरुको पनि के दोष ? पदको लागि झगडा गर्ने, जे कुरामा पनि राजनीति गर्ने, मौका पाए कप्ल्याक्क खाने अनि चुनावको बेला जनतासंग जाने उनीहरुको नानीदेखि लागेको बानी हो | अब आफ्नो ज्यान आफै बचाऊ को नारा लगाउंदै गाउँ आउनुको बिकल्प छैन | ठूलो दादासंग म पनि आउंछु | अनलाइन क्लास गाउँमा बसेर लिनु र यहाँबाट लिनु उस्तै हो | रोग लाग्यो भने गाउँमा बरु उपचार पाइएला, यहाँ त चान्सै छैन |

खसी, लोकल कुखुरा, अम्बा, काँक्रा, सुन्तला, कागती, अमिलो, सख्खरखण्ड खान छोडेर बिषादी खाना खान किन यहाँ बस्नु ? यहाँ तरकारीको भाउ सुन्यो भने हार्ट एट्याक हुन बेर छैन | यहाँ कालाबजारीलाई दशैँ आएको छ, जनतालाई दशा |
कोरोना नियन्त्रणमा आएपछि वा खोप आएपछि काठमाडौ फर्किनुपर्ला | फुलैफुलको बगैचा छोडेर यो आगाको मुस्लोभित्र किन बस्नु ?
.
अब मेरो पालो –
.
घटीमा ४-६ महिना बस्ने गरि गाउँ जाँदा राम्रो हुन्छ | म जस्तो टिका लगाएर फर्किनुपर्नेलाई जोखिम किन लिने ? जो जहाँ छ, त्यहिं बस्दा राम्रो | हाम्रो चिन्ता नलिनुहोला, हामी घरभित्र बस्छौं | दशैंलाई पुग्ने सामान एकैपटक किनेर राख्छौं | बाहिर निस्किनुपरे म मात्र मास्क सहि तरिकाले लगाएर, दुरी कायम गरेर निस्किन्छु | सरसफाईमा एकदम ध्यान दिएका छौं | यो पटक सपिंग गर्न जाँदा जोखिम हुने भएकोले मैले केहि पठाउन असमर्थ भएँ | आबश्यक कुरा उतै किन्नुहोला | १००० वटा कपडाका ३ पत्रे मास्क, १००० वटा साबुन र १००० वटा ह्याण्ड स्यानिटाइजर दाइसँग पठाउनेछु | दशैंमा टिका लगाइदिएर परिवार संख्या अनुसार प्रसादको रुपमा ती सामान दिनुहोला | चिया, खाजा वा खानाको प्रसाद अर्कोसालदेखि निरन्तर गरौंला | यसपटक निधारमा अक्षता लगाउँदा संक्रमण सर्ने डर हुन्छ | तसर्थ मास्क लगाएर, ६ फिटको दुरी कायम गरेर टिका, जमरा हातमा दिनुहोला | मेलामा नजानुहोला |
.
अन्त्यमा छोरीको पालो –
.
हजुरबुवा, हजुरआमा, दर्शन |
.
यहाँ एकदम ठिक छ तर कोरोनाको डर छ | यहाँ एकदम ठिक छ तर कोठामै बस्नुपर्छ | यहाँ सबै ठिक छ तर स्कुलका साथीलाई भेट्न पाएको छैन | यहाँ एकदम ठिक छ तर अनलाइन क्लास पढ्दा वाक्क लाग्यो | यहाँ एकदम राम्रो छ तर मास्क लगाउन नजान्ने मान्छे धेरै छन् | यहाँ एकदम ठिक छ हेर्नु न ६ फिटको नजिक जान्छन् मान्छेहरु | अरु सबै राम्रो छ, कोरोनाको डर छ | यहाँ सबै ठिक छ, पिज्जा खान रेस्टुरेन्ट जान हुँदैन रे !

गाउँमा त कस्तो रमाइलो हुन्छ | लकडाउन हुँदैन | खेल्ने ठाउँ धेरै छ, खानेकुरा धेरै छन्, भैंसी र मुनेमुने छन् | पिङ खेल्न पाइन्छ | टिका लगाएपछि पैसा पाइन्छ | गाउँको आकासमा जुन हुन्छ, ताराहरुको नाम हुन्छ | बाबा मामुले मानिस्यो भने म र भाइ आउने हो |
छ नि हजुरबुवा ! एउटा ६ फिटको लठ्ठी बनाएर त्यसको टुप्पोमा टिका, जमरा राखेर टिका लगाइदिनुहोला | दक्षिणा र खानेकुरा पनि त्यहि लठ्ठीमा झुन्डाएर दिनुहोला | हजुरलाई ढोग्ने बेला लठ्ठीको एउटा टुप्पो हजुरको खुट्टामा र अर्को टुप्पो ढोग्ने मान्छेको निधारमा राख्नुहोला |
.
हजुरलाई दिनदिनै सम्झिने
नातिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना