बेफुर्सदिलो पनि के भन्नु र ?



नारायण गाउँले ।

जति सोच्यो, त्यति कहाली लाग्छ;
हाम्रा आमाबुबा अब औसत १५-२० वर्ष बाँच्नुहुन्छ । त्यो पनि नियमितजस्तै बनिसकेको कुनै दुर्घटना या असाध्य रोगव्याधि नलागे ।
हामी प्रवासमा छौं, प्रायः दुई वर्षमा एकपल्ट घर जान्छौं । सबै समय घरमैं बित्दैन । साथीभाइ, इष्टमित्र, रामरमाइलो, कार्यक्रम र घुमफिरको लामो लिस्ट हुन्छ घर जाँदा । आमाबुबासँग बिताउने भनेको औसतमा तीन दिन हुँदो रहेछ ।

बीस वर्षमा दशपल्ट घर पुग्यौं र तीन-तीन दिन बितायौं भने पनि जम्मा तीस दिन हुने रहेछ । यो जीवनमा, यो चोलामा, यो पालिमा आफ्ना जन्मदाता आमाबुबासँग बिताउनका लागि जम्मा एक महिना रहेछ हामीसँग ! त्यो पनि हामी सबै रोगव्याध नलागी बाँचिरहे । हरेक वर्ष नेपाल गए पनि दुई महिना न भयो ! यसो सोच्नुस् त, यो जिन्दगीमा आमाबुबासँग बिताउने समय कति थोरै रहेछ ! जसले सिङ्गो जिन्दगी हाम्रो खुशीका निम्ति बितायो, उसलाई दिनका निम्ति हामीसँग यो जुनीमा जम्मा एक महिना बाँकी ? एउटा साथी एक हप्ता भेटिएन भने कस्तो नमज्जा लाग्छ र फोन गरेर भन्छौं, ‘कति ठूलो भएको यार ! भेटघाट पनि हुन्न त !’ आमाबुबाका आँखा भने कुनै गुनासोबिनै बाटाभरि तेर्सिइरहन्छन् ! बर्सौँसम्म ! हामीलाई लाग्छ, फोन गरेकै छौं, औषधिउपचारका लागि पैसा पठाएकै छौं, सधैँभरि टाँसिएर बस्न त को सक्छ र ? तर आफ्ना सन्तान र साथीभाइसँग हामी आफै भने नटाँसिई बस्न सक्दैनौं ।

बेफुर्सदिलो पनि के भन्नु र ? मोदीदेखि इमरान खानसम्मलाई बधाई दिन भ्याएकै छौं । मन परेको दल या संस्थाको कार्यक्रम विश्वको जुन कुनामा भए पनि टाढ़ा हुँदैन । हरेक दिनजसो जन्मदिनका शुभकामना पनि लेखेकै छौं । नेतादेखि अभिनेतासम्मलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्न पनि भ्याएकै छौं । तर कहिलेकाहीँ आमाबुबालाई फोन गर्दा एकहप्ता बितिसकेको हुँदो रहेछ र त्यो हप्ता अस्पताल पुगेर पनि घर फर्किसकेको हुनुहुँदो रहेछ !

उमेर ढल्किँदै जाँदा सांसारिक विषय र रमझममा मन लाग्न कम हुँदो रहेछ । तपाईं या मैले वर्षको एकपल्ट लगिदिने एकजोर कपड़ा या जुत्तामा जति खुशी हिजो लुकेको हुन्थ्यो, आज या भोलि त्यो क्रमशः घट्दै जान्छ । घुम्ने रहर पनि मर्दै जाँदो रहेछ । मिठा खानेकुरा र चकलेट त पठाउँला तर उमेर र स्वास्थ्यसँगै त्यसको स्वाद बिलाउने रहेछ । स्मृति पनि कम हुँदै जाँदा उहाँहरूको बोली र व्यवहार पनि हामीलाई अनौठो लाग्न सक्छ !

जति सोच्छु मन एकतमासले गह्रुँगो हुन्छ । हामी उमेरको त्यस्तो चरणमा आइपुगेका छौं, एकाबिहानै या नसोचेको समयमा नेपालबाट फोन आयो भने पनि मन शङ्काले जिरिङ्ङ हुन्छ ! कुनै खुशीको खबर होला भनेर सोच्दैनौं । प्रायः हुँदैन पनि । खुशी र सपना जति त सात समुद्रपारि हामीले चोरेर ल्याएका छौं, उताबाट के खबर आओस् र ?

कहिलेकाहीँ लाग्छ, म माफीको लायक पनि छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानूनविपरित भत्ता बुझ्दै माननीयहरु

ऐनमा नभएको सुविधा लिइरहेका सुदूरपश्चिम प्रदेशका सांसदले गएकोे पाँच वर्षमा १ करोड ३०

यी हुन् भिडियोको ‘भ्युज’ बढाउन विमान दुर्घटना गराउने पाइलट

भिडियोको ‘भ्युज’ बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर

सन्तान जोगाउनै गाह्रो

राज्यका शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्‍याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ

शीतभण्डारले पनि पिरलो

यस वर्ष सुन्तला उत्पादनबाट हौसिएका स्याङ्जाका किसानले त्यसपछिको व्यवस्थापनमा चूक हुँदा अपेक्षित लाभ