विषादयोग : मान्छेको मनको विश्लेषण (गीता जयन्ती/माेक्षदा एकादशी विशेष)



डा. गोविन्दशरण उपाध्याय


आजकै दिन भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्-गीताको उपदेश गर्नुभएको थियो – महाभारतको युद्धको आरम्भमा | पांचहजार वर्ष पहिले एकादशीका दिन अर्थात् आजकै दिन | गीतामा अठार अध्याय र सात सय श्लोक छन् | तर म आज गीताको पहिलो अध्यायका विषयमा कुरा गर्दैछु | श्रीमद्भगवतगीताको पहिलो अध्यायलाई “विषादयोग” भनिएको छ | युद्ध गर्नकै लागि मैदानमा पुगेको अर्जुनले अचानक युद्ध नगर्ने निर्णय सुनाउनु चानचुने कुरा होइन | अचानक “युद्ध लड्दिन” भन्नु उनको तत्कालीन परिवेश र हुर्काईको परिणाम थियो | गीताको रचना समय अनिश्चित भए पनि आस्था र विश्वास राख्नेहरूले ५००० वर्ष प्राचीन भएको जिकिर गरेका छन् | आज श्रीमद्भगवतगीता विश्वप्रसिद्ध धार्मिक ग्रन्थ बनेको छ र विश्वका धेरै विद्वानहरू यस ग्रन्थबाट उत्प्रेरित भएका छन् | श्रीमद्भगवतगीताले आफुलाई धार्मिक ग्रन्थ भनेको छैन यसर्थ, यसलाई केवल हिन्दूहरूको धार्मिक ग्रन्थ भन्नुको कुनै औचित्य छैन | सीबिटी का माध्यमबाट मानसिक सहयोग गर्ने विज्ञ र अभ्यासकर्ताका लागि श्रीमद्भगवतगीता निकै सहयोगी सामग्री हो | मैले यहाँ परामर्शसंग गीताको सम्बन्ध गाँसेको छु |

श्रीमद्भगवतगीताले आफुलाई धार्मिक ग्रन्थ भनेको छैन यसर्थ, यसलाई केवल हिन्दूहरूको धार्मिक ग्रन्थ भन्नुको कुनै औचित्य छैन |

अर्जुनले “हे कृष्ण, धृतराष्ट्रका छोराहरूको हातबाट मर्नु उचित हुन्छ तर युद्ध गर्न उचित लागेन (१/४६) भन्दै युद्धको लागि तम्सिएर युद्ध-भूमिमा पुगेका अर्जुन “गोविन्द, अव म युद्ध गर्दिन (२/९) भन्दै चूप लागेर बस्छन् | आफ्नो युद्ध नगर्ने निर्णयको बचाउँ गर्न अर्जुनले श्रीमद्भगवत-गीताको पहिलो अध्याय २८ देखि ४६ श्लोकसम्म र दोश्रो अध्यायका ४ देखि ८ श्लोकहरूमा युद्धका विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका छन् | भगवान् श्रीकृष्णले अर्जुनमा उपस्थित भएको परिवर्तित ब्यबहारको समीक्षा गर्दै दिएको उपदेश नै श्रीमद्भगवद्-गीता हो |

गीताकाका कुनै पनि बाक्य निरापद र अर्थहीन छैनन् | “वेदउपनिषदलाई गाई बनाएर गोपाल नन्दनले दुहेको गीतामृत” आफैमा पूर्ण छ | अर्जुन एउटा उत्कृष्ट योद्धामात्र होइन, उनी विद्वान, शास्त्रज्ञ तथा श्रीकृष्णका आफन्त र मित्र पनि हुन् | श्रीकृष्ण परमात्मा हुन् र विश्वका अन्य उपाधिहरू उहाँका अंश हुन् (भाग-१/३/२८) र श्रीमद्भगवद्-गीताको १० अध्यायले प्रष्ट पारेको छ | यिनै परमात्मा श्रीकृष्णले अर्जुनको रथ संचालन गरिरहेका छन् | तर युद्ध गर्ने निर्णय श्रीकृष्णको पटक्कै होइन, अर्जुनको आफ्नै हो | उनी आफ्नै इच्छाले युद्ध गर्नका निम्ति युद्धभूमिका आएका हुन् | त्यसै भएर होला, अर्जुन आफैले “को-को युद्ध गर्न आएका छन् (१/२०-२३) म हेर्न चाहन्छु ?” भनेर आग्रह गरेपछि भगवान् श्रीकृष्णले अर्जुनको रथ युद्धभूमिको मध्य भागमा लगेर “पार्थ, ल हेर युद्धका लागि को-को उपस्थित भएका छन् (१/२५) भन्नुभएको छ |

युद्ध गर्ने निर्णय श्रीकृष्णको पटक्कै होइन, अर्जुनको आफ्नै हो | उनी आफ्नै इच्छाले युद्ध गर्नका निम्ति युद्धभूमिका आएका हुन् |

उपरोक्त घटना र संवाद गीताको प्रथमअध्यायमा समेटिएको छ भने ब्यासदेवले यो अध्यायलाई “विषादयोगो” भनेर नामाकरण गर्नुभएको छ | शब्दकोशले विषादशब्दका अनेकौं अर्थहरू दिएको छ जसअनुसार विषाद अर्थात् शारीरिक शिथिलता, जडता, निश्चेष्टता, मूर्खता, मनको इच्छापूर्ण हुन नसकेको अवस्थामा उत्पन्न हुने चिन्ता तथा गहिरो निराशा (https://www.pustak.org) आदि हुन् | श्रीमद्भगवद्-गीता पढ्दै गर्दा एउटा सचेत अध्येताको रूपमा मेरो मनमा गहिरोसंग प्रश्न उठ्यो | ज्ञान, ध्यान, राज, कर्म, भक्ति आदि विषयहरू योग हुन सक्छन् तर “विषाद” कसरी योग हुन सक्छ ? विषाद मनको एउटा अवस्था हो जसले मान्छेको स्वभाविक दैनिकी र बुझाईलाई नकारात्मक स्वरुपमा रुपान्तरित गर्छ | मानसिक उहापोहको अवस्थालाई “कसरी योग योग भनेर सम्बोधन गर्न मिल्छ ?” प्रश्न यही हो |

महर्षि पतंजलिको योगसूत्रले मान्छेका मनको गतिविधिहरूको सूक्ष्मतापूर्वक निरीक्षण गरेको छ | मन र मान्छे एकआपसमा जोडिएका छन् | मनका पाँचबटा अवस्था हुन्छन् – क्षिप्त, मूढ़, विक्षिप्त, एकाग्र र निरुद्ध | सत्व, रज र तमोगुणका विभिन्न जोडघटाउबाट मन प्रभावित हुन्छ | क्षिप्त, मूढ़ र विक्षिप्त अवस्थामा मान्छेका मानसिक, शारीरिक, आध्यात्मिक तथा सामाजिक क्रियाकलापहरू तमोगुण र रजोगुणको नियन्त्रणमा रहेका हुन्छन् भने उपल्ला एकाग्र र निरुद्ध अवस्थामा रजोगुण तथा सतोगुणबाट मन नियन्त्रित हुन्छ | गीताको प्रथम अध्यायले मानसिक गतिको वास्तविकता चित्रण गरेको छ | मान्छे र उसको मनका बीच कति बिध्न बलियो योग अर्थात् संयोग छ भन्ने तत्थ्य स्पष्ट पारेको छ | ईश्वर नै सहयोगी भए पनि मान्छेलाई उसको मनले नियन्त्रित गरेको हुन्छ र हरेक मान्छेलाई आफ्नो मन र मनको निर्णय नै उचित लाग्छ भन्ने कुराको बुझाउनु प्रथम अध्यायको लक्ष्य रहेको छ भन्ने मेरो बुझाई रहेको छ |

मान्छेका मानसिक, शारीरिक, आध्यात्मिक तथा सामाजिक क्रियाकलापहरू तमोगुण र रजोगुणको नियन्त्रणमा रहेका हुन्छन् भने उपल्ला एकाग्र र निरुद्ध अवस्थामा रजोगुण तथा सतोगुणबाट मन नियन्त्रित हुन्छ |

मान्छेको सबैभन्दा ठूलो शक्ति र कमजोरी उसको आफ्नो परिवार र आफन्त हुन्छन् | विभिन्न कारणले वदनाम भएका, जेल परेका, फाँसी दिएर मारिएका अधिकांश व्यक्तिहरूको जीवनी पढ्ने र बुझ्ने हो भने उनीहरूले त्यस्ता अपराध गर्नुमा परिवार वा आफन्तको बढी योगदान हुन्छ | “म र मेराहरू” को मोहमा ठूलाठूला ज्ञानगुणका कुराहरू तुहिन्छन् | साधारण मान्छेले पनि सोच्नै नसकेको असाधारण ब्यबहार प्रदर्शन गर्छ भने असाधारण मान्छेले निकै साधारण ब्यबहार गर्छ | आफन्तलाई देखेपछि अर्जुनको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक मान्यता परिवर्तित भएको पढ्दा हरेक व्यक्ति अचम्म पर्नुपर्छ | किनभने अर्जुन कुनै साधारण मान्छे होइनन्, उनी श्रीकृष्णका मित्र हुन्, आफन्त हुन्, ज्ञानी छन् र महायोद्धा पनि हुन् | “एउटा योद्धाको पहिलो कर्तब्य धर्मको रक्षाका खातिर जो-सुकैसंग, जुनसुकै अवस्थामा युद्ध गर्नु नै हो” भन्ने ज्ञान अर्जुनलाई नभएको पक्कै होइन | तर जव उनले आफन्तलाई देखे, उनी एकदम चिन्तित भए | उनको मन करूणा, चिन्ता तथा आत्मग्लानीले भरियो | युद्ध आरम्भ नै नभई अन्त्य हुने अवस्था उपस्थित भयो | अर्जुनको चित्तमा क्षिप्त, मूढ़ र विक्षिप्त यी तिनैबटा अवस्थाहरू एकैपटक उपस्थित भए | मान्छेको मनले उसको असली स्वरूप प्रकट गर्यो |

अधिकांश व्यक्तिहरूको जीवनी पढ्ने र बुझ्ने हो भने उनीहरूले त्यस्ता अपराध गर्नुमा परिवार वा आफन्तको बढी योगदान हुन्छ | “म र मेराहरू” को मोहमा ठूलाठूला ज्ञानगुणका कुराहरू तुहिन्छन् |

अर्जुनले जुन तर्कहरू युद्धका विरुद्ध दिएका छन्, ती सबै एउटा साधारण मान्छेले सुन्दा निकै मार्मिक छन् तर उनको यो करूणा अरूका लागि होइन केवल आफन्त (१/३४, २/४-५) मा केन्द्रीत छ | उनी युद्धबाट होइन आफन्तको सम्भावित मृत्युसँग बढी चिन्तित छन् | मैले आफन्त युद्धका लागि यहाँ आएको देखिरहेको छु (१/२८) मा उपरोक्त तत्थ्य स्पष्टसंग बोलेका छन् साथै यही कुरालाई (१/३१)मा पनि अझैं बलियोसंग प्रमाणित गरेका छन् | भनिन्छ, चिन्ता चिता गरियसि – चिन्ताभन्दा चिता नै श्रेष्ठ हुन्छ | अर्जुनलाई आफन्तहरुको सम्भावित विनाशले निकै चिन्तातुर बनाएको छ | उनी धर्मशास्त्रको कुरा त गर्छन् तर सारतत्वमा ती कर्तब्यका कुराहरू केवल आफुसंग मात्र सीमित छन् | उनीले दिएको कर्तब्यको भाषण मूलत: उनको आफ्नो स्वार्थमा केन्द्रीत छ | जव कुनै व्यक्तिले स्वार्थको रक्षा गर्न धर्मलाई ढाल बनाएर प्रयोग गर्छ, त्यो अधर्म नै हुन्छ | जव मान्छे मोह अर्थात् विषादले ग्रस्त हुन्छ, उसले धर्म र अधर्मको विचार होइन आफ्नो स्वार्थको रक्षालाई प्राथमिकता दिन्छ | अर्जुनले धर्म ठानेर जुन कुराहरू व्यक्त गरेका छन्, ती सबै स्वार्थ (आफन्तको रक्षा) मा केन्द्रीत भएकोले धर्मानुकुल छैनन् |

जव कुनै व्यक्तिले स्वार्थको रक्षा गर्न धर्मलाई ढाल बनाएर प्रयोग गर्छ, त्यो अधर्म नै हुन्छ |

उनको चित्त आफ्नात्को मायामा यतिबिध्न फँसेको छ कि उनी पूर्णरूपमा त्यसमा डुवेका (क्षिप्त) छन् | त्यस्तो मोहले उनको बुद्धि मूढ़ भएको छ अर्थात् असल र कमसल होइन स्वार्थ केन्द्रीत भएको छ र यही स्वार्थले गर्दा उनी विक्षिप्त भएका छन् | यो तत्थ्यलाई उनले (२/७) मा आफन्तको मायामा कायर भएर शुभ-अशुभको मौलिकता नै विर्सेको भन्ने स्वीकार गर्दै उपदेशका लागि प्रार्थना गरेबाट पुष्टि हुन्छ | यहाँ अर्जुनको ब्यबहार नितान्त फरक छ | यही फरक ब्यबहार र बुझाई नै उनीले श्रीकृष्णको सामिप्यबाट प्राप्त गरेको अद्भूत क्षमता हो | अर्जुन जस्ता महारथीले एउटा सारथिको रूपमा रहेका कृष्णको “शिष्यत्व” स्वीकार्नु पर्ने कुनै आवश्यकता थिएन | प्रथम अध्यायमा अर्जुनको मन र बुद्धि विषादग्रस्त भएकोले नै दोस्रो अध्यायमा उनीले आफै श्रीकृष्णको शिष्यत्व स्वीकार गरेर श्रीकृष्णसंग जोडिएका छन् | उनी यही विषादका कारण श्रीकृष्णको उपदेश प्राप्त गर्ने अधिकारी भएका छन्, तेसै कारणले प्रथम अध्याय विषादमा केन्द्रीत भए पनि योग नै भएको छ |

अव केही मनोविज्ञानका कुरा गरौँ | मानसिक विषाद अर्थात् चिन्ता सधैं भविष्य असुरक्षित होला कि भन्ने डरले उपस्थित हुन्छ | अर्जुनले वर्तमानको होइन भविष्यमा हुने विनाशको कुरा गरेका छन् | उनले भविष्यको विनाशको नालिवेली दिएका छन् | जव उनको मन विषादग्रस्त भयो उनको अनुभूति (मानसिक अनुभूति) वदलियो | आफन्त वा आफ्नो असुरक्षाको अनुभूति हुँदासाथ हाम्रो मस्तिष्कले यद्रिन र कार्टसोल नामका रसायनहरू उत्पादन गर्न थाल्छ जसले शरीरलाई एकदम सतर्क रहन आदेश दिन्छ | अर्जुनले “भविष्यमा हुने विनाशप्रति सहमति जनाएर “अब म युद्ध गर्दिन” भन्ने लगाउने परिस्थिति मूलत: हर्मोनहरूको काम हो, यी रसायनहरू पूर्ण सुरक्षाको अनुभूति नभएसम्म क्रियाशील रहन्छन् | विषाद उपस्थित हुँदासाथ अर्जुनको मनमा मोह, स्नेह र करुणा उम्लियो | मानसिक परिवर्तनका साथै उनको शारीरिक अवस्थामा शिथिलता, कम्पन, मुख सुक्ने, शरीर पोल्ने, मन भ्रमित हुने, उभिन नै नसक्ने अवस्थाहरू देखिए | उनको आध्यात्मिक चेतना शरीर रक्षामा केन्द्रीत त भयो तर आफु प्रतिको विश्वास नै गुमाए | यहाँसम्म उनको आत्मवाल गिर्यो कि उनले “बरू यिनै कौरवले मलाई मारे मारुन्” सम्म भन्न भ्याए | मोह, चिन्ता र विषादआदि मानसिक आघातले शारीरिक, मानसिक, आध्यात्मिक तथा सामाजिक प्रभावहरूको यतिबिध्न सटीक वर्णन अरू कुनै ठाउंमा भेट्न र पढ्न पाइन्न |

आफन्त वा आफ्नो असुरक्षाको अनुभूति हुँदासाथ हाम्रो मस्तिष्कले यद्रिन र कार्टसोल नामका रसायनहरू उत्पादन गर्न थाल्छ जसले शरीरलाई एकदम सतर्क रहन आदेश दिन्छ |

अन्त्यमा, हरेक मान्छे मन, बुद्धि र अहङ्कारसंग जन्मिएको छ | मन इन्द्रीयहरूको खटनमा चल्छ | बुद्धि अहङ्कारको खटनमा चल्छ भने अहङ्कार स्वयं अन्धो हुन्छ तर विवेकले यो नियन्त्रित हुन्छ | अहङ्कारलाई विवेकले नियन्त्रण गरेको पलदेखि मन तथा बुद्धि पनि संयमित हुन्छन् | मन विग्रन सक्छ, बुद्धिले असत सङ्कल्प गर्न सक्छ, अहङ्कारले बुद्धिको असत सङ्कल्पलाई बोकेर हिड्न सक्छ तर भगवानमा विश्वास गर्ने व्यक्तिले सधैं समस्या पूर्तिको लागि भगवान् (गुरू)कै सान्निध्य खोज्दछ, मार्गदर्शनका लागि विनम्रतापूर्ण समर्पण गर्छ | अन्तत: भगवान् श्रीकृष्णले यथेच्छसि तथा कुरू: (१८/६३) “मैले जे-जसो भनेको भए पनि तिमीले आफ्नो इच्छानुसार गर” भनेर कर्म गर्ने स्वतन्त्रता प्रदान अर्जुनलाई प्रदान गर्नुभएको छ | यसबाट सिद्ध हुन्छ कि मान्छेले कर्म स्वतन्त्र भएर गर्नुपर्छ तर भगवान वा गुरुको शिष्यत्वले सधैं अब्बल मार्गदर्शन मिल्छ | यस्तो मार्गदर्शनले मान्छे अल्मलिनु पर्दैन र यो संसारमा सुख र अन्तत: मोक्ष प्राप्त हुन्छ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको

घाममा बस भन्दा जागिर छोड्नु पर्‍यो

डा.अरुणा उप्रेती । अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी

कम्युनिस्ट आन्दोलनलाई नै व्यक्तिको साथमा सति पठाउने महाभूल नगरौं

जगन्नाथ खतिवडा । – हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको

‘त्यागको प्रतिमूर्ति’ बनेर आफ्नो स्वास्थ्यको बेवास्ता गर्ने कि आफू स्वस्थ रहेर अरुलाई मद्दत गर्छु भन्ने ?

डा. अरुणा उप्रेती । महिला पहिले आफू स्वस्थ हुनुपर्छ, अनि मात्र अरुको माया