कहाँ छ हाम्रो सार्वभौमिकता ?



नेपालको राष्ट्रियता कहाँ छ ? सार्वभौमिकता कहाँ छ ? पहिले राजासँग हुन्थ्यो। सार्वभौमसत्ता राजाकहाँ हुन्थ्यो तर राजाकहाँबाट झर्यो । झरेपछि कहाँ अड्कियो त्यो ? कि कतै गयो ? कहाँ गयो ? आफ्नो निर्णय आफैं नगर्नेले आफू सार्वभौम भन्न पाउँदैन । राजा जस्तोसुकै भए पनि आफ्नो निर्णय आफै गथ्र्यो, त्यो कुरा हामीलाई चित्त बुझेन । त्यो काल गयो । अब सार्वभौमसत्ताको प्रयोग कसले गरिरहेको छ ? कि हामीले कतै लगेर बन्धक राखिसक्यौँ ? अब यहाँनेर प्रश्न छ । बन्धक राखेको छैन भने के निर्णय भयो त ?

सार्वभौमसत्ता जनतामा हुन्छ, संसदले प्रयोग गर्छ जनताको प्रतिनिधिका रुपमा। तर त्यो त पंगु छ । त्यसको त नीति पनि छैन, नेता पनि छैन, सिद्धान्त पनि छैन। दिशा पनि छैन। त्यो त हिँडिरहेको छ पुग्ने ठाउँ छैन। किनभने अहिले अहिले संसद १२ बुँदे भन्ने एउटा ‘एग्रिमेन्ट’ छ, त्यसले सञ्चालन गरेको छ। त्यो कसको हातमा छ? त्यो अरुकै हातमा छ। त्यो एउटा डोरी हो। सबैलाई बाँध्न र्पयो भने एउटै डोरीले बाधिदिन्छ। जस्तोसुकै पार्टी हुन्, वादविवाद गरुन्, पक्ष विपक्ष भनुन्, तर एउटै कागजमा सही गर्याछन् ।

त्यो कागज भनेको १२ बुँदेको कागत हो । त्यो कागत अन्तै सुरक्षित छ । एउटै कागतमा सही गर्ने अनि तँ पक्ष, म विपक्ष, तँ यो पार्टी, म ऊ पार्टी भन्ने नक्कली कुरा गरेर नेपालीलाई भ्रममा पारेका छन्, हामी त्यही भ्रममा हिँडिरहेका छा। सबैले सही त १२ बुँदेमा गरेका छन् नि। उसले चाह्यो भने त्यही १२ बुँदेको डोरीमा समातेर खोरमा हाल्न सक्छ । खोरमा नहालिन्जेल बाहिर छन् । त्यसैले हामी अहिले तथ्यमा होइन, आधारभूत कुरामा होइन, त्यसै रंगमगिएका छौँ। पार्टीहरु रंगमगिएका छन्, सांसदहरु रंगमगिएका छन्, हामी पनि त्यसैमा रंगमगिएका छौँ।

अब त्यसलाई मैले चिर्न सकिन । त्यसलाई मैले जबाफ दिन सकिन। जबाफ दिन खोज्दा मलाई सुन्ने मान्छे पनि पाइनँ। त्यसैले म एक्लो छु अहिले । किन एक्लो छु भने मेरो पार्टी पनि छैन अहिले। मैले धेरै पार्टी जन्माएँ। नेपाली कांग्रेसको जन्मदाता नै हुँ नि। सानो कथा भनुँ ? लामो छ कति भनुँ तपाईँलाई। खुब आन्दोलन गर्यौँ हामीले सात सालमा । त्यो बेला सहिद भएको भए भाको भयै हुन्थ्यो, बाँचिएछ। त्यसपछि त दुर्गति हेर्नुपर्यो । त्यसपछि पहिलो काम के गरियो सात सालपछि? सात सालपछि आएका नेताले पहिले हिन्दुस्तानी फौज यहाँ हुले ।

त्यसले खुब राज गरिरह्यो। मलाई त चित्त बुझेन। म त भर्खरको २०, २१ वर्षको क्रान्तिकारी युवा । हैट, यस्तो काममा लाग्दिन, यस्तो ठाउँमा त म बस्दिन भनेँ मैले नेपाली कांग्रेस नै छोड्दिएँ। नेपाली कांग्रेस छोड्नुको कारण त्यही हो। जसलाई स्थापना गरेँ, जसको झण्डामुनी बसेर मैले क्रान्ति गरेँ, मैले उसैलाई छोड्नुपर्यो, मलाई कति पीडा भयो होला? किनभने मुलुकको स्वाधिनताको लागि, राष्ट्रियताको लागि।

त्यसपछि जाँदै गएँ, जाँदै गएँ, राजा महेन्द्रले हैन म देश बनाउँछु, राष्ट्रियता कायम गर्छु भने। मैले ल यो कुरामा साथ दिन्छु भनेर म पनि लागेँ। यहाँ भएका फौजी निकाले, विदेशी फौजी निकाले। यो श्रेय त उनलाई जान्छ। देश विकास पनि गरे। अहिले जे जति विकासका पूर्वाधार छन्, उनकै पालमा भएको हो। तर उनी बितेपछि त्यो पञ्चायतमा पनि मलाई ठाउँ भएन किनभने म जसलाई अगाडि बढाउन चाहन्थेँ, उसले त पछाडि फर्काउनतिर पो लाग्यो । राजा महेन्द्र बितेपछि पञ्चायतमा पनि मेरो सक्रियता समाप्त भयो। जसलाई मैले संरक्षण गरेँ, हुर्काएँ, त्यसबाट म नै बिचलित भएँ।

४६ सालमा पार्टी व्यवस्था कायम भयो । अब एउटा राष्ट्रवादी पार्टी खडा गर्छु भनेर राष्ट्रवादी पार्टी बनाएँ। विधान, नीति, घोषणापत्र सबै तयार गरेँ। जाँदाजाँदा जाँदाजाँदा त्यहाँ भित्र पनि विदेशी तत्व यति पस्यो कि उनीहरुसँग म लड्नै सकिन। विदेशी तत्वसँग लड्न नसक्दा मैले नै छोड्नुपर्यो। मसित अहिले पार्टी छैन, म एक्लो छु। एक्लो भए पनि म आफ्नो विचार भनिरहेको छु। गरिरहेको छु, गर्छु। यो कुरा मैले तपाईँहरुलाई छोटकरीमा भनेँ। म यी पीडाहरु भोग्दै भोग्दै यहाँ आइपुगेको छु। र म उमेर त धेरै ढल्किसक्यो तर थाकेको छैन। तपाईँहरुलाई यत्ति सन्देश दिन चाहन्छु।

राप्रपा राष्टवादीका नेता स्व. राजेश्वर देवकोटाले स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालसंग गर्नुभएको कुरामा आधारित ।

प्रस्तुती : हेमबिक्रम सिलवाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो

डा. गोविन्दशरण उपाध्याय । चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित

पिंजडाको सुगाको कथा

डा. गोविन्दशरण उपाध्याय । एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र

एउटा पिंजडाको कथा

डा. गोविन्दशरण उपाध्याय । एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र

नेपालमा अन्तराष्ट्रिय भू-राजनीति

पाेखरा, लामो समय देखि नेपालकाे अर्थ, राजनीति र समाजलाई हस्तक्षेप गर्दै आएका विदेशी