भारतप्रशासित कश्मीरमा सन्दिग्ध विद्रोहीद्वारा भएका हत्याका घटनापछि सुरक्षाकर्मीले सयौँ स्थानीय बासिन्दालाई पक्राउ गरेका छन् । पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ । एक भारतीय अधिकारीले बीबीसीलाई बताएअनुसार पाँच सय जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।
प्रतिबन्धित लडाकु समूहसँग सम्बन्ध रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूको दाबी छ । तुलनात्मक रूपमा नयाँ देखिएको एउटा समूहले आक्रमणहरू आफूले गराएको जिम्मेवारी लिएको छ ।
सो समूहको दाबी छ– हत्या गरिएका मानिसहरू भारतीय फौजका लागि काम गर्थे । हत्या गरिएका मानिसमध्ये अल्पसङ्ख्यक हिन्दू र शिख समुदायका दुईजना शिक्षक पनि भएको अधिकारीहरूले बताएका छन् । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले शनिवार भनेको थियो– विद्रोहीहरूको आक्रमण र सरकारी फौजको दमनका कारण कश्मीरका मानिसहरू अन्तहीन हिंसाको शिकार भएका छन् ।
सन् २०१९ को अगस्टमा नयाँ दिल्लीले मुस्लिम बहुल कश्मीरको अर्धस्वायत्त हैसियत खोसेयता त्यहाँ तनाव जारी रहेको छ । हिन्दू राष्ट्रवादी सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो ।
सो निर्णयानुसार जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन् । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापनाकालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर बनेको छ ।

प्रतिक्रिया